बजेटको विषयमा चासो राख्दा वडा अध्यक्षले विभेद गरेको भन्दै उजुरी

0
Shares

पोखरा।

पोखरा महानगरपालिका वडा २४ मा  हुने विकासका कार्यक्रममा चासो राख्दा वडा अध्यक्षले जातीय विभेद गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।
वडाका वडा अध्यक्ष भरत बहादुर अधिकारीले दलित महिला सदस्य मैयाँ नेपालीमाथि जातीय विभेद गरेको भन्दै आइतबार एक बजे प्रहरीमा उजुरी दिएकी हुन् ।
पुस १८ गते सोमबार वडामा स्थानीय आमा समूहहरूलाई विभिन्न तालिम दिनका लागि छलफल डाकिएको थियो । तालिमका लागि डाकिएको छलफललाई नै वडा अध्यक्षले तालिमको उद्घाटन गराउने योजना अनुसार अघि बढाएपछि वडा सदस्य सरस्वती त्रिपाठीले विरोध गरेकी थिइन् । त्रिपाठीले विरोध गरेपछि अधिकारीले नेपाली माथि विभेद गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले आइतबार जाहेरी दर्ता भयसँगै अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए । नेपालीले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुरमा जाहेरी दिएकी हुन् । ढोरपाटन दैनिकसँग सम्पर्कमा आएकी नेपालीले आफू एक पटक मात्रै नभई पटक पटक दुर्व्यवहार सिकार भएको सुनाइन् । ‘सहनुको पनि सीमा हुन्छ । मैले धेरै पटक सहे । सबैले उनको (वडाअध्यक्ष अधिकारी) व्यवहार नै यस्तो हो भन्ने गर्थे आफैँ सचेत हुँदै आएँ । पटक पटक दुर्व्यवहार गर्दा सहन सकिन’ उनले भनिन्,‘मलाई यो भन्दाअघि पनि दुई पटक वडाको बैठकबाट निकालिएको छ । तर, म बोलिन अहिले सार्वजनिक स्थानमा म केही नबोल्दा समेत ममाथि जातीय विभेद भयो उहाँको हर्कत सह्य भएन ।’ उनका अनुसार वडा २४ मा रहेका आमा समूह मध्ये करिब १५ आमा समूह तालिमका बारेमा छलफलका लागि उपस्थिति भएका थिए वडा अध्यक्ष र सचिवको मिलेमतोमा छलफललाई नै तालिम बनाएर अघि लैजाने योजना थियो । जुन कुरा अन्य जनप्रतिनिधिलाई थाहा थिएन । त्यति मात्र होइन छलफलमा उपस्थिति भएका आमा समूहका प्रतिनिधिलाई समेत थाहा थिएन् । सोही विषयको बारेमा विरोध भएपछि अधिकारी ज®िएका हुन् । मुद्दा दर्ता गराएसँगै आफूलाई निकै दबाब तथा फोन समेत आएको उनले सुनाइन् । ‘अहिले मलाई निकै फोन पनि आइरहेको छ । भोलि गाह्रो होला छोरा छोरीलाई पनि समस्या होला मुद्दा लड्न गाह्रो होला भन्दै फोन आएको छ । तर म कानुनी रूपमै अघि बढ्छु’ उनले सुनाइन्,‘म माथि उहाँले गरेको ठूलो दुर्व्यवहार यो पाँचौ पटक हो । सानाझिना मसिना त कतिहुन कति ।’

अधिकारीले यस अघि सोही वडामा रहेको कालिका मा.वि.को कार्यालयमा तोडफोड गरी अवैद्य रुपमा शिक्षकको हाजिरी गराएका थिए । त्यति मात्र होइन उनले बाल प्रभोधिनीका एक दलित शिक्षकलाई समेत बारम्बार दुर्व्यवहार गरेको स्थानीय एक शिक्षकले जानकारी दिए ।

यस्तो छ घटना..

जाहेरीमा उल्लेख गरिएअनुसार सिप तथा रोजगार मूलक कार्यक्रम आयोजना गर्दा विरोध भएको थियो । वडा २४ मा छुट्टिएको पाँच लाख मध्ये एक लाख रुपैयाँ दलित समुदायका लागि छुट्टिएको थियो । बाँकी चार लाख रुपैयाँ समग्र महिला केन्द्रित सिपमुल तथा रोजगारमूलक कार्य गर्ने निर्णय भएको थियो ।

सोही निर्णय अनुसार आमा समूहका प्रतिनिधिसहितको भेला वडा सदस्यहरूलाई थाहै नदिई राखेपछि विवाद भएको थियो । पद्मावती कला केन्द्रकी अध्यक्ष हिरा भट्टराईलाई उद्घाटनका लागि बोलाएपछि वडा सदस्य सरस्वती त्रिपाठीले तालिमको उद्घाटन गर्न नपाउने भन्दै विरोध गर्दा वडा अध्यक्ष अधिकारी सोही दिन कार्यक्रमको उद्घाटन गर्ने भन्दै एकतर्फी निर्णय लिए ।

एकतर्फी निर्णय गर्न खोजेपछि वडा सदस्य नेपालीले पनि विरोध गरिन् । कार्यक्रमको विरोध जनप्रतिनिधिले मात्रै नभई सहभागी भएका महिलाहरुले समेत गरे । नेपालीले विरोध गर्नथालेपछि वडा अध्यक्ष अधिकारीले उनलाई लक्ष्ति गर्दै ‘तँलाई बोल्ने अधिकार छैन । दलितले पाउने एक लाख छुट्टाइएको छ । त वडा सदस्य भए भने गर्छेस् तेरो हैसियत के हो भन्ने मलाई थाहा छ । तेरो ३ पुस्ता देखि मेरो घरको जुठो काम गरेर बाचेका हौँ । तँलाई महानगरले दिने १५ हजार रुपैयाँ तलब र सेवा सुविधा त मैले काम गर्ने नोकरलाई दिन्छु । तेरो के हैसियत मसँग टक्कर गर्ने होइन । मेरो भनेको पुर्खा देखि विभिन्न संघ, सस्था मठ, मन्दिर, समाजमा, लाखौँ चन्दा दान गरेको हैसियत भनेको मैले दिएको १ लाख भन्दा बढीको होइन ।

वडामा हुने करोडौँ बजेटमा आँखा मरेको गाई, भैँसी, को सिनो लुछे जस्तो वडाको बजेटलाई लुछ्न नखोज । तिमीहरू कामी सार्कीको हैसियत भनेको मागेर थापेर खाने हो ठुली पल्टीनछेस । तेरो हैसियत भए सक्छेस् महानगर, प्रदेश र संघबाट बजेट ल्याएर काम गर ।’ त्यसपछि अधिकारीले हातपात समेत गर्न खोजे अपशब्दसमेत बोल्दै गाली गलौच गरी हातपात गर्न खोज्दा वडा सदस्य कृष्ण सुवेदीले रोकेका थिए ।

पीडितलाई न्याय दिन दलित संघको ध्यानाकर्षण

पीडितलाई न्याय दिन नेपाल दलित सङ्घले माग गरेको छ । सङ्घले आइतबार एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित पोखरा महानगरपालिका वडा नं. २४, कास्की कोटमा वडा अध्यक्ष र सदस्यहरुका बिच दोहोरो संवादको क्रममा वडा अध्यक्ष श्री भरत ब.अधिकारीले दलित महिला सदस्य मैयाँ नेपालीलाई अपमानजनक वाक्यहरु प्रयोग गरी जातीय विभेद प्रयोग गरी वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुटेको जस्तै गरी लुट्न खोज्छेस् भन्दै समाजमा जातीय विभेद हुने खालको क्रियाकलाप गरेको भन्ने विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति यस नेपाल दलित संघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

संघका कार्यवाहक सभापति प्रेम नेपालीले स्थानीय तहको उच्च अहोदमा बसेको व्यक्तिले सार्वजनिक रुपमा अभद्र जातीय विभेद, महिला हिंसा गरेको बताए । घटना प्रति गम्भीर रुपमा छानबिन गरी दोषी ठहरिएमा नेपालको संविधान २०७२ ले व्यवस्था गरेअनुरुप पीडितलाई न्याय र पिडकलाई कानुन बमोजिम कारबाही गर्न नेपाल दलित संघ कास्कीको माग रहेको उनले बताए ।