यो सरकार एमालेको हो, नेपालीको हो : केपी ओली

0
Shares

काभ्रे।

नेकपा एमालेका २३ वटा जनसंगठनहरुको सुदृढीकरण कार्यशाला गोष्ठी काभ्रेको धुलिखेलमा सुरु भएको छ । सुदृढीकरण गोष्ठीको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको छ । कार्यशालामा प्रत्येक संगठनका पदाधिकारीहरु सहभागी छन् । गोष्ठी सोमबार समापन हुनेछ ।

कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले जनसंगठन जुझारु हुनु पर्ने बताउनु भयो । ‘पोखरीमा जमेको पानी जस्तो होइन, झरना जस्तो हुनु पर्छ संगठन’–अध्यक्ष ओलीले भन्नुभयो–‘मकैको ढोड जस्तो होइन जनसंगठन कटबाँस जस्तो बलियो हुनुपर्छ ।’ पार्टीबाट निर्देशित, पार्टीका नीति, विचार र सिद्धान्त बोक्ने संगठन विकृति र विसङ्गति विरुद्ध सशक्त हुनु पर्ने अध्यक्ष ओलीले बताउनु भयो । ‘यो सरकार नेकपा एमालेले बनाएको हो, सरकारको पक्षमा र सरकारलाई सफल बनाउनु एमालेको पहिलो कर्तव्य हो’–अध्यक्ष ओलीले भन्नुभयो–‘आफ्नो सरकार आफै बनाउने सन्दर्भमा नेकपा एमाले सफल भएको छ ।’ एमालेले सफलता पूर्वक गठबन्धन ढालेको बताउँदै अध्यक्ष ओलीले तत्काल सरकार ढाल्न सफल हुने सपना नदेख्न चेतावनी दिनुभयो ।

अध्यक्ष ओलीले एमालेलाई सिद्ध्यायौँ भनेर दंग परे पनि एमाले रक्तबीज भएकाले अझ मजबुत हुने बताउनु भयो । काँग्रेसले गठबन्धनको बल र बुथ कब्जा गरेर केही सिट एमालेभन्दा बढी जिते पनि एमालेलाई जनताले लोकप्रिय मतमा पहिलो बनाएको उहाँले बताउनु भयो । एमालेका संगठित सदस्यहरु स्वंय मत राख्न नगएको वा नराखेको विषयमा ओलीले ब्यग गर्नु भयो । एक जना संगठीत सदस्यले थप दुई मत थप्ने अभियान चलायौँ कहिले आफ्नो मत पनि राखेनन्’–ओलीले भन्नुभयो–‘अरुलाई तर्साउन एमाले ठुलो पार्टी भएको होइन, जनमत र अभिमत दुवै बढाउन बलियो र ठुलो पार्टीका लागि एमालेका संगठित सदस्यहरु धेरै भएको हो ।’ एमालेका ९ लाख सदस्यहरु त्यसरी नै हरेक जनताको घर घर पुगेर आगामी निर्वाचनमा एक्लै ठुलो र पहिलो पार्टी बन्ने गरी लाग्न अध्यक्ष ओलीले निर्देशन दिनु भयो ।

अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै भन्नुभयो–‘अझै पनि एमाले नेतृत्वको कम्युनिष्ट सरकार र पार्टी ढालेर कोर्ष करेक्सन गरेकोमा गर्व गरिरहेका छन् ।’ नेपालले शनिवार आयोजित कार्यक्रममा आफ्नै अगुवाइमा केपी ओलीलाई ढालेर राजनीति सही दिशामा लगेको बताएका थिए । ओलीले भन्नुभयो – ‘हिजो तिर एक जना नेताले एमालेले गलत दिशामा लगेको राजनीति सही बाटोमा ल्यायौँ, दुई तिहाइको हैसियत प्राप्त कम्युनिष्ट पार्टी राष्ट्रिय शक्ति बन्नु गलत ट्रेन्ड थियो, त्यसलाई असंवैधानिक ढंगले अदालतबाट कोर्ष करेक्सन ग¥यौं भनेछन् । माया लाग्यो त्यस्ता व्यक्ति देखेर, अझ आफूलाई वामपन्थी पनि भन्छन् । म नेता हो नेता, कार्यकर्ता होइन भन्छन् । त्यस्ता मान्छेले जनताको शक्तिलाई कमजोर गरेकोमा कोर्ष करेक्सन गरेको ठान्छन् । कठै बरा भन्न सकिन्छ, कठै बरा ।’ अध्यक्ष ओलीले पार्टी भन्दा पहिला जनसंगठन जन्मिएकाले त्यसको संरक्षण मात्रै होइन पार्टीको मियोका रुपमा कार्य गर्न निर्देशन दिनु भयो ।

कार्यशाला गोष्ठीमा जनसंगठन समन्वय समितिका प्रमुख भानुभक्त ढकाल, पार्टी उपाध्यक्ष विष्णु पौड्याल, महासचिव शंकर पोखरेल, नेताहरु पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, गोकर्ण विष्ट, योगेश भट्टराई, काशीनाथ अधिकारी, सीता पौड्याल, थममाया थापा, माधव पौड्याल लगायतको सहभागिता रहेको छ । २३ वटै जनसंगठनले ५/५ मिनेट संगठनका गतिविधि र आगामी कार्यभारका बारेमा प्रस्तुति गरे पछि समूहगत छलफल हुनेछ । समूह विभाजन मार्फत भएको छलफल सोमबार समूहगत प्रस्तुति हुनेछ । समापन कार्यक्रममा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जानकारी दिएको छ ।