बाराका ६ वटा बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योग बन्द

0
Shares

बारा । गृहमन्त्रालयको निर्देशनपछि जिल्ला अनुगमन उपसमिति बाराले अवैध रूपमा संचालनमा रहेका ६ वटा बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगमा सिल गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका बालुवा प्रशोधन केन्द्र र क्रस उद्योगमा उपसमितिले सिल गरेको हो ।

अनधिकृतरुपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न र प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गृह मन्त्रालयले निर्देशन गरेसँगै जिल्ला अनुगमन समितिको बैठकले उपसमिति गठन गरेर अनुगमन शुरू गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा गठित उपसमितिले शुक्रबारदेखि बाराका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगको अनुगमन थालेको हो ।

जिल्लाको १२ वटा उद्योग अनुगमनपछि उपसमितिले कलैया उपमहानगरपालिका–२४ स्थित जयमातादी बालुवा प्रशोधन केन्द्र, निजगढ नगरपालिका–९ स्थित लालबकैया प्रशोधन केन्द्र, जीतपुरसिमरा उपमहानगरपालिका–१५ स्थित जय मातादी बालुवा प्रशोधन केन्द्र, बालगंगा बालुवा प्रशोधन केन्द्र, निजगढ नगरपालिका–४ स्थित नेपाल क्रसर उद्योग र कोल्हबी नगरपालिका–२ स्थित गुगल कन्स्ट्रक्सनमा सिल गरेको हो ।

अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका, अनुमति लिइएको भन्दा फरक ढंगले सञ्चालनमा रहेका, दर्ता तथा नवीकरण पूरा नगरेका र राज्यलाई तिनुपर्ने कर नतिरेका ६ वटा प्रशोधन केन्द्र तथा क्रसर उद्योग सिल गर्नुका साथै ती उद्योगमा आपूर्ति हुँदै आएको विद्युतको लाइन काटिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभएको छ ।

‘अनुगमनका क्रममा अनाधिकृत र मापदण्ड पूरा नगरेका उद्योगलाई तत्कालै कारबाही सुरु गरेका छौ’ प्रहरी उपरीक्षक बोगटीले भन्नुभयोे, ‘राज्यले निर्देशन गरेको मापदण्ड पूरा गरेर आएमा त्यस्ता उद्योग सञ्चालन हुनेछन् । अन्यथा सञ्चालन हुन पाउने छैनन् ।’

अनुगमन प्रक्रिया पूरा नभएसम्म जिल्लाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रबाट हुने निकासी पैठारी बन्द गरिएको समेत प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।

केही दिनमै जिल्लाका सबै उद्योगको अनुगमन पूरा हुने र त्यस समयसम्मका लागि उद्योग बन्द गरिएको बताउँदै प्रहरी उपरीक्षक बोगटीले निकासी पैठारी बन्द हुँदा आमनागरिकलाई पर्ने असुविधाप्रति आफूहरू सचेत रहेको उहाँले बताउनुभयो ।

जिल्लामा ५० वटा भन्दा बढी बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योग सञ्चालनमा रहेका छन् । उक्त सबै उद्योगको अनुगमन सकिएपछि मापदण्डभित्र रहेर सञ्चालित उद्योग मात्रै सञ्चालन हुन पाउनेछन् ।