ज्ञानज्योति–लक्ष्मीप्रभा पत्रकारिता पुरस्कारबाट कर्माचार्य पुरस्कृत

0
Shares

काठमाडौं ।

पत्रकारिताका क्षेत्रमा लामो समयदेखि क्रियाशील नेपाल समाचारपत्रका समाचार सम्पादक सरस्वती कर्माचार्य देवशोभा कंसाकारद्वारा स्थापित ज्ञानज्योति–लक्ष्मीप्रभा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । नेवाः पत्रकारहरूको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार ललितपुरमा सम्पन्न चौथो महाधिवेशन तथा दसौं वार्षिक साधारणसभामा कर्माचार्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २० हजार रुपियाँ रहेको छ ।

त्यसै गरी कार्यक्रममा ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउने कार्यको अग्रसरता लिएका समाजसेवी मोतीशान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउँमा स्थापना गर्नुभएको ज्ञानदेवी– मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार नरेशवीर शाक्यलाई प्रदान गरियो ।

यस पुरस्कारको नगद राशि पनि २० हजार रुपियाँ रहेको छ ।नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले निकाला गर्नुभएका आठ भिक्षुमध्येका एक भिक्षु कुमारकाश्यप महास्थविरको नाउँमा भिक्षु कौण्डन्यले स्थापना गर्नुभएको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार नेपाः च्यानलका सञ्चारकर्मी अनुशा बज्राचार्यलाई प्रदान गरियो । यस पुरस्कारको नगद राशि १२ हजार रुपियाँ रहेको छ ।

नगर राशि १० हजार रुपियाँको ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार भक्तपुरका फोटोपत्रकार सुरेशख्वाखः श्रेष्ठलाई प्रदान गरियो । नगद १० हजार रुपियाँ राशि रहेको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार पत्रकार सूर्यप्रसाद लाकोेजु, विजयराम कर्माचार्यद्वारा स्थापित श्रीरामस्मृति पत्रकारिता पुरस्कार हेटौंडाका पत्रकार सुरेश श्रेष्ठलाई प्रदान गरिएको थियो ।

पुरस्कृत व्यक्तित्वहरूलाई पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले माल्यार्पण, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले दोसल्ला, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुभयो । नगद पुरस्कार भने सम्बन्धित पुरस्कार दाताले प्रदान गर्नुभएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले जातीय विविधताको सम्बोधन, सामाजिक न्यायको लागि पत्रकारहरू संवेदनशील हुनुपर्नेमा जोड दिँदै समावेशी पत्रकारिताको विकास र मातृभाषाको पत्रकारितालाई विकास गर्नुपर्ने विषयमा राज्यको ध्यान आकृष्ट भएको बताउनुभयो ।

उहाँले पछिल्लो आन्दोलन र संघर्षबाट प्राप्ति उपलब्धिलाई संस्थागत गर्न सरकार जिम्मेवार भएर लाग्ने बताउनुभयो । सञ्चारमाध्यम समावेशी बनाउने कार्यमा सरकारको तर्फबाट आफ्नो महत्वपूर्ण पहलकदमी रहने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले समाजको विकासको लागि जनउत्तरदायी स्वस्थ पत्रकारिता हुुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाल प्रेस काउन्सिलका प्रमुख अधिकृत झविन्द्र भुसालले मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्न, काउन्सिलले प्रदान गर्ने पत्रकारिता पुरस्कार समावेशी रूपमा वितरण गर्न र विविध भाषाको पत्रकारितालाई प्रवद्र्धन गर्न काउन्सिल जिम्मेवार तवरमा लाग्ने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गजुरधन राईले पत्रकारिता क्षेत्रलाई समावेशी बनाउन नेवार पत्रकार दबूसँगै फोनिजले राज्यको ध्यानाकर्षण गराउँदै आएको बताउँदै समावेशीले राष्ट्रिय एकता, सामाजिक सद्भावलाई बलियो बनाउने धारणा राख्नुभयो ।

नेपाली पत्रकारलाई सबभन्दा पहिले संगठित गर्ने अग्रज पत्रकार सत्यनारायण बहादुर श्रेष्ठ, पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको योगदानको स्मरण गर्दै उहाँले करिब १५ वर्षदेखि अभियान पछि नेपाल पत्रकार महासंघमा समावेशी बन्दै गएको बताउनुभयो ।नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायणसुन्दर किलम्बुले महासंघलाई समावेशी बनाउँदै समावेशी पत्रकारिताको विकासको लागि सबै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले समुदायको विकासको लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।उहाँले मातृभाषा पत्रकारिताको माध्यमबाट भाषाको संरक्षणको साथै परम्परा, संस्वृmति, सम्पदाको प्रवद्र्धन गर्न सकिनेमा जोड दिँदै मातृभाषा पत्रकारिताको विकासको लागि राज्यले विशेष प्याकेजकै घोषणा गर्नुपर्ने माग गर्नुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले मातृभाषाको पत्रकारिताको विकास गर्न पहिलो नेपाल भाषा र मैथिली भाषामा आचारसंहिता प्रकाशन गरेको उल्लेख गर्र्दै धर्मादित्य धर्माचार्यलाई मातृभाषाको पहिलो पत्रकारको रूपमा स्थापित गर्न अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासचिव सुनील महर्जन, सचिव के. के मानन्धरलगायतले प्रेस स्वतन्त्रताको उच्चत्तम अभ्यासका लागि सञ्चारमाध्यम समावेशी भएर विभिन्न जातजाति र भाषाभाषीको आवाजलाई स्थान दिनुपर्ने र मातृभाषाको पत्रकारिताको विकासका लागि राज्यको ध्यान जानुपर्नेमा केन्द्रित गर्दै आ–आफ्नो धारणा राख्नुभयो ।

सो अवसरमा मिडिया एलायन्सका सचिव दिरेकलाल श्रेष्ठ, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, गुठी संस्थानका प्रमुख किरण शाक्यको उपस्थिति रहेको थियो ।