प्लेअफमा पुग्ने चार टोलीको टुंगो


काठमाडौं । 

जारी नेपाल टी २० लिगमा काठमाडौं नाइट्स प्लेअफमा पुगेसँगै प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेको छ । शनिबार पोखरा एभेन्जर्सलाई फार वेस्ट युनाइटेडले ४१ रनले हराएपछि काठमाडौं नाइट्स प्लेअफमा पुगेको हो । लुम्बिनी अल स्टार्स १६ अंकसहित शीर्ष स्थानमा रह्यो भने जनकपुर १४ अंकसहित दोस्रो स्थानमा रह्यो ।

यस्तै विराटनगर सुपर किंग्स १० अंकका साथ तेस्रो स्थानमा रहेको छ । काठमाडौं ८ अंकका साथ चौथो स्थानमा रह्यो । पोखरा पाँचौ र फारवेस्ट छैटो स्थानमा रहेका छन् ।आइतबार पहिलो क्वालिफायर खेल हुनेछ, जसमा जनकपुर र लुम्बिनीले प्रतिस्पर्धा गर्नेछ । विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग खेल्नेछ । सोमबार विराटनगर र काठमाडौंबीच एलिमिनेटर खेल हुनेछ । मंगलबार दोस्रो क्वालिफायर र फाइनल बुधबार हुनेछ ।

फार वेस्टले जितको लागि १ सय ८८ रनको लक्ष्य दिएको थियो । जवाफमा पोखरा १८.१ ओभरमा १ सय ४६ रनमा अलआउट भयो । पोखराका प्रतिश जि.सी.ले ११ बलमा ५ छक्का हान्दै ३४ रनको आक्रमक ब्याटिङ गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । प्रतिशले १४ औं ओभरको तेस्रो, चौथो र पाँचौं बलमा हश्मातुल्लाह शाहिदीको बलिङमा लगातार तीन सानदार छक्का प्रहार गरेका थिए । यस्तै उनले यसअघिको ओभरमा शेर मल्लको बलिङमा दुई छक्का प्रहार गरे ।

प्रतिश करण केसीको १६ औं ओभरको तेस्रो बलमा भीम सार्कीबाट क्याच आउट भए । यसपछि नै पोखराको जितको आस सकिएको थियो । यसपछि पोखराले लगातार विकेट गुमाउन पुगेको थियो । पोखराका लागि ओपनर उपुल थरंगाले सर्वाधिक ३६ रन बनाए । सिद्धान्त लोहनी २८ रनमा आउट भए भने सुमित महर्जन १४, विशाल विक्रम केसी १३, कुशल मल्ल ४ र विपिन खत्री ६ रनमा आउट भए ।

फार वेस्टका दुर्गेश गुप्ताले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । हश्मातुल्लाह शाहिदीले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । प्रकाश जैशीले २.१ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको फार वेस्टले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । फार वेस्टका विनोद भण्डारीले सर्वाधिक ५९ रन बनाएका थिए ।

यस्तै ओपनर हश्मातुल्लाहले ६७ रनको योगदान दिए । पहिलो विकेटका लागि विनोद र हश्मातुल्लाहले १५ ओभरमा १ सय ३४ रनको शतकीय साझेदारी गरेका थिए । शाहिदी र विनोदको यो दोस्रो शतकीय साझेदारी हो । यसअघि शाहिदी र भण्डारीले काठमाडौं नाइट्सविरुद्ध १ सय ५७ रनको शतकीय साझेदारी गरेका थिए ।

अन्य ब्याटसम्यानले भने खासै रन बटुल्न सकेनन् । उमेर अली २, मिलिन्डा सिरिवर्धन १२ र राशिद खान १४ रनमा आउट भए, यसमा दुई छक्का सामेल थिए । करण केसी ११ रनमा नटआउट रहे । पोखराको बलिङमा अभिमन्यु मिथुनले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।