स्ववियु निर्वाचनको मिति तोकियो

निर्वाचन मिति कार्यकारी परिषद्को बैठकद्वारा तय

0
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने निर्णय गरेको छ । त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले शुक्रबार साँझ बसेको कार्यकारीको बैठकले निर्वाचन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘विद्यार्थी कल्याण परिषद्ले बिहीबार गरेको सिफारिसका आधारमा मिति घोषणा गरेका हौं ।’

कार्यकारी परिषद्ले २८ वर्ष उमेर हद तोकेर मिश्रित निर्वाचन प्रणाली लागु गर्ने गर्नेगरी मिति घोषणा गरेको छ । मिश्रित प्रणालीअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उप सभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुने गरी निर्वाचन हुनेछ ।

त्रिविको सबै नीतिगत र कानुनी निर्णय कार्यकारी परिषद्ले गर्नुपर्ने व्यवस्था छ । कार्यकारी परिषद्मा उपकुलपति, रेक्टर, रजिस्ट्रार, दुईवटा संकायका डीन र दुईजना प्राध्यापक रहने व्यवस्था छ । परिषद्ले गरेको निर्णय सार्वजनिक भएलगत्तै रेक्टरको अध्यक्षतामा त्रिवि केन्द्रीय निर्वाचन अनुगमन कमिटी गठन हुनेछ । सोही समितिले देशैभरका क्याम्पसमा निर्वाचन कमिटी गठन गर्न निर्देशन दिनेछ ।

केन्द्रीय निर्वाचन समितिले कार्यकारी परिषद्को निर्णयको आधारमा कार्यविधि निर्माण गर्नेछ । सोही कार्यविधिको आधारमा निर्वाचन कार्यतालिका प्रकाशन हुनेछ । विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीले कार्यकारी परिषद्को निर्णय प्राप्त हुनासाथ भर्ना गर्ने समय, परीक्षा लिने, परीक्षाफल प्रकाशित गर्ने मितिलगायतको सबै विषयमा क्याम्पसलाई निर्देशन दिने बताउनुभयो । उहाँका अनुसार मिति तय भएलगत्तै मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता, उम्मेदवारको नाम फिर्ता, दाबी विरोध र निर्वाचन कार्यक्रम घोषणा हुनेछ ।

निर्वाचन मिति घोषणा हुनुअघि त्रिविका पदाधिकारीले कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँग परामर्श गरेका थिए । कुलपति एवं प्रम दाहालको निर्देशनलगत्तै त्रिविले निर्वाचन गर्ने निर्णय गरेको हो ।यो निर्णयसँगै देशका ६२ आंगिकसहित करिब ५ सय सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको निर्वाचन हुनेछ । त्रिविको तथ्याङ्कअनुसार देशभर १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।

विद्यार्थी कल्याण परिषद्ले निर्वाचनको मिति सिफारिस गरेकै दिन अनेरास्ववियु क्रान्तिकारीले प्रम दाहाललाई भेट गरेका थिए । भेटको क्रममा प्रम दाहालले निर्वाचनमा लाग्न निर्देशन दिनुभएको थियो । एकीकृत समाजवादी निकट अनेरास्ववियुले पूर्ण समानुपातिक निर्वाचनको माग गर्दै कुलपति एवं प्रम दाहाललाई भेट गरेका थिए । यसअघि फागुन २८ गते निर्वाचन गर्ने अनौपचारिक तयारी थियो । फागु पूर्णिमालगायत चाडबाडका कारण फागुन २८ गते असम्भव देखेपछि चैत ५ गते निर्वाचन गर्ने निर्णय भएको हो ।

विद्यार्थी कल्याण परिषद्ले करिब एक महिनाअघि त्रिविका डीन, संस्थान र निर्देशनालयका पदाधिकारीसहितको बैठकमा यो वर्ष निर्वाचन गर्ने लिखित सहमति गरेको थियो । त्रिविको शैक्षिक क्यालेन्डरअनुसार हरेक २–२ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचन उल्लेख छ । तर, सो तालिका भत्किएर यस पटक स्ववियु निर्वाचन चैत ५ गते सरेको छ । यसअघि २०७३ सालमा उपत्यकाका ९ र उपत्यका बाहिरका १७ गरी ६२ मध्ये २६ क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।