भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन गर्दै भारत

0
Shares

काठमाडौं।

भारतले विश्वका गरिब एवं विकशील राष्ट्रहरू अर्थात ग्लोबल साउथको नेतृत्व गर्दै पौष २८ गतेदेखि २९ गतेसम्म एक विशेष भर्चुअल शिखर सम्मेलनको आयोजना गर्न लागेको छ । ‘युनिटी अफ भ्वाइस, युनिटी अफ पर्पोज’ नाराका साथ आयोजना हुन लागेको दुई दिने भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलनले ग्लोबल साउथका राष्ट्रहरुलाई उनीहरूको विचार तथा प्राथमिकता एक अर्कासँग आदानप्रदान गर्न साझा मञ्च प्रदान गरी उनीहरूलाई एकै ठाउँमा ल्याउने भारतको भनाई छ ।

नेपाललगायत १ सय २० भन्दा बढी राष्ट्रलाई आमन्त्रित गरिएको यस सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पना ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ बाट प्रेरित र भारतको वसुधैव कुटुम्बकम दर्शनमा आधारित रहेको बताइएको छ ।

विश्वका धनी राष्ट्रहरूको समूह जी–२० को अध्यक्षता सम्हालेको भारतले जी–२० प्रक्रियामा आवद्ध नभएका राष्ट्रहरूलाई जी–२० मार्फत उनीहरूका विचार र अपेक्षा साटासाट गर्न एक विशेष र बलियो अवसर प्रदान गर्ने बताएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले जी–२० का सदस्यहरूसंग मात्र परामर्श नगरी ग्लोबल साउथका अन्य राष्ट्रहरूका आवाजलाई पनि उत्तिकै महत्व दिदै भारतको जी–२० अध्यक्षतालाई पूर्णता दिने बताउनुभएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । ती संचारमाध्यमहरूका अनुसार भ्वाइस अफ ग्लोबल साउथ समिटमा सहभागी राष्ट्रहरुबाट आएका अमूल्य सुझावहरुलाई विश्वव्यापी रुपमै ध्यानाकर्षण गराउनेतर्फ भारतले काम गर्नेछ ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलन दुई सत्रमा बिभाजन गरिएको र दुबै सत्रको अध्यक्षता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने र सत्रको नेतृत्व भारतीय विदेशमन्त्री एस जयशंकरले गर्ने बताइएको छ । भारतीय विदेश सचिव विनय कुमार क्वात्राका अनुसार सम्मेलनले एउटा साझा घोषणापत्र जारी गरिने बताउनुभएको छ ।