काठमाडौं ।
नेपाली काँग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले सहकारी बैंक लिमिटेडको निर्वाचनमा सहमति तोडेको आरोप लगाएको छ । विभागले शुक्रबार विज्ञप्ति जारी गरी बैंकको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सहमतिको आधारमा निर्वाचनमा पठाइएको दुई आधिकारिक उम्मेदवारलाई षड्यन्त्रमूलक रुपमा हराएको आरोप लगाएको छ ।
विभागका संयोजक आनन्दप्रसाद ढुंगानाद्धारा जारी विज्ञप्तिमा बैंकमा रहेको चरम एकाधिकारको पर्दाफास हुने डरबाट सहकारी बैंकका देशभर संचालित शाखा कार्यालय र व्यवस्थापन पक्षसँग सम्बन्धित विभिन्न व्यक्तिहरु प्रयोग गरी आधिकारिक उम्मेदवार मध्य माधव दुलाल र गणेश बहादुर चन्दलाई रातारात हराउन पराजित गराई सहमति तोडी बैंकलाई आफ्नो पक्षमा गराउने र एकलौटी रुपमा बैक संचालन गर्ने गरी निर्वाचन सम्पन्न गरी सहमति तोडेकोमा नेपाली काँग्रेसको घोर आपत्ति रहेको जनाएको छ ।
समन्वय विभाग निकट राष्ट्रिय सहकारी बैंक लिमिटेडको पुस १६ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाबाट नयाँ संचालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचनको लागि नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, नेकपा समाजवादी बिच समझदारी गरी निर्वाचन गर्ने सहमति भएको थियो ।
सहकारी विभाग प्रमुख बीच पटक पटक छलफलबाट हालको वित्तीय एवं सहकारी क्षेत्रमा देखिएको असहज तथा चुनौतिपूर्ण परिस्थितलाई समाधान गर्न संयुक्त प्यानल तयार गरी संचालक समिति र लेखा तथा सुपरिवेक्ष समितिको गठन गर्ने निर्णय भएको थियो ।
सो निर्णयको बर्खिलापमा तीन दल मिलेर नेपाली काँग्रेसको तर्फबाट केन्द्रीय सदस्य पदका उम्मेदवार दुलाल र लेखा तथा सुपरिवेक्षण समितिका सदस्य चन्दलाई हराएकोमा आपत्ति जनाएको छ ।
नेपाली काँग्रेसको तर्फबाट संचालक समिति सदस्यमा दुलाल, माधवलाल देवकोटा, तारा गुरुङ र शिवा थापालाई तोकिएको थियो । सो पार्टीले लेखा तथा सुपरिवेक्षण समितिमा गणेश बहादुर चन्दलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो । तीनदलले षडयन्त्रपूर्वक ढंगले दुई जना उम्मेदवारलाई हराएको विभागको आरोप छ ।
हराएका दुई उम्मेदवारले बैंकभित्र रहेको चरम राजनीति, बेथिति, अनियमितता र एकाधिकार प्रवृत्तिको विषयमा पार्टी र विभागलाई पटक पटक जानकारी गराइरहेका थिए । ‘यस पटक बैंकको निर्वाचनमा भएको षडयन्त्रबाट हामीलाई त्यहाँ रहेको एकाधिकारपन,एकलौटी व्यवस्थापन, चरम राजनीतिको हस्तक्षेप एवं अनियमितता रहेको विषय प्रमाणित भएको छ’–विभागका संयोजक ढुंगानाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘सहकारी बैंकको हालको व्यवस्थापन पक्षको सूक्ष्म अध्ययन गर्दा बैंकमा भएको एकलौटीपन, चरम राजनीति तथा बेथितिले सहकारी बैंकको व्यवसायीकतामा ह्रास आउने निश्चित प्रायः छ । अतः देशभर संचालित सहकारी संघ संस्थाहरुले सो बैंकसँग कारोबार गर्दा अत्यन्त चनाखो र शतर्क रहनुहुन हार्दिक अपिल गर्दछु’– विभाग प्रमुख ढुंगानाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।











प्रतिक्रिया