विज्ञापन बजारको अनुसन्धान गर्नुपर्नेमा जोड



काठमाडाैं । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले विज्ञापन क्षेत्रका निम्ति बजार अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल विज्ञापन संघ (आन) को २३औं वार्षिक साधारण सभालाई मंगलबार सम्बोधन गर्दै उहाँले सो बताउनुभएको हो ।

सचिव अर्यालले विज्ञापन व्यवसायका समस्या लिखित रुपमा जानकारी गराउनसमेत आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन नीतिको आवश्यकतामाथि जोड दिनुभयो ।आनका अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन उद्योगको विकास गर्नुपर्नेमा जोड दिँदै विज्ञापन क्षेत्रमा रहेका समस्या समाधानका लागि पहल गरिदिन सरकारसँग आग्रह गर्नुभयो ।

त्यस्तै, आनका पूर्वअध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसायसम्बन्धी समस्या, चुनौति र समाधानको विषयमा उजागर गर्नुभयो । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डबाट काम भइरहेको जानकारी दिँदै केही समय धैर्य गर्न आग्रह गर्नुभयो ।साधारण सभाको सन्दर्भमा ‘विज्ञापन उद्देश्य उपलब्धि र अपेक्षा विज्ञापन साझा जिम्मेवारी’ विषयमा अन्तक्र्रियासमेत गरिएको थियो ।

उक्त कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, आनका सल्लाहकार रन्जितराज आचार्य, मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले प्यानलिष्टका रूपमा विज्ञापन उद्योगको वस्तुस्थितिका रूपमा प्रकाश पार्नुभएको थियो ।

अन्तक्र्रियामा विज्ञापन उद्योग ऐन नियम कार्यविधि आचारसंहिताको बारेमा सहभागीहरूले जिज्ञासा राखेका थिए । साधारण सभामा विज्ञापन क्षेत्रमा निरन्तर योगदानको कदर गर्दै विज्ञापनदातातर्फ चौधरी ग्रुप, एनसेल आजिएटा, डाबर नेपाल, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला), शंकर ग्रुप, जावलाखेल गु्रप अफ इन्ड्रष्टी, एनआईसी एसिया बैंक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सम्मान गरिएको थियो । विज्ञापन एजेन्सीतर्फ मेकवेज, आउटरिच नेपाल, थम्पसन नेपाललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्