बर्षै पिच्छे एउटै सडकमा ग्य्राबेल मात्रै 

0
Shares

रौतहट। 

बर्षैपिच्छे एउटै सडक लाई स्तरोन्नतिको नाममा पटक पटक ग्य्राबेल राख्ने कार्य भइरहेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ को बस्तीपुरदेखि सिन्धुरेघारीको सडक स्तरोन्नतिको नाममा सघन शहरी तथा भवन निर्माण कार्यालयले चार वर्षदेखि ग्रयाबेल राख्ने कार्य गरिरहेको छ ।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत एउटै सडकमा पटक पटक ग्य्राबेल राख्ने कार्य गरिएपछि स्थानीयले विरोध गरेका छन् । सडक ग्य्रोबल गर्न चन्द्रपुर नगरपालिका वडा नम्बर ९ बाट उपभोक्ता समिति गठन गरिए पनि सो वडाभित्रको सडकमा ग्य्राबेल नभएको जनाइएको छ ।

सघन शहरी तथा भवन निर्माण कार्यालयको संलग्नतामा उक्त सडक ग्य्राबेल गर्न चन्द्रपुर नगरपालिका–९ बस्तीपुरदेखि सिन्धुरेघारी सडक स्तरोन्नति कार्य उपभोक्ता समिति लाई कार्यदेश दिइएको छ । सडक स्तरोन्नतिको लागि दुई स्थानमा आएको बजेटको उपभोक्ता समिति गठन गर्न सहज हुने हेतुले एक स्थानको बजेट घटाएर अर्को स्थानमा समेत बढाइएको स्रोतले बतायो ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मरधर गाउँको सडक स्तरोन्नति तथा थलही टोल मोतीपुर सिन्धुरेघारी सडकस्तरोन्नतीको लागि विनियोजित ९७ लाख बजेटलाई कटौती गरेर ६५ लाखमा निर्माण कार्य गर्न गठितउपभोक्ता समितिलाई सघन शहरी तथा भवन निर्माण कार्यालय बीरगजले कार्यादेश दिएको छ । सो सडकमा समेत गत साल ग्य्रोबल भएको थियो ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नवराज देवकोटाले आफ्नो वडाबाट उपभोक्ता समिति गठन भएपनि आफ्नो वडा विपरीत ग्य्राबेल गर्ने कार्य भएको बताउनु भयो ।प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले सो सडकमा कालोपत्रे गर्न आग्रह गर्दा समेत सघन शहरी तथा भवन निर्माण कार्यालयले ग्य्राबेलको ईस्टिमेट बनाएर कार्यदेश दिएको बताउनु भयो ।

गत बर्षकै ग्य्राबेलमा कम परिणाममा ग्य्राबेल राख्दा समेत बिल भुक्तानी हुने भएकाले सरोकारवाला निकायको जोड ग्य्राबेलमा रहेको आरोप लागेको छ । उता सघन शहरी तथा भवन निर्माण कार्यालय बीरगजका प्रमुख झपड थापाले ग्य्राबेल कार्य गराउनु त्रुटि भएको बताउनु भयो ।