प्रहरीका हाकिमहरुलाई छानबिनको लागि हेड क्वार्टर तान्न थालियो



काठमाडौं ।

डलर अर्बपति तथा नेपाली कांग्रेसका सभासद विनोद चौधरी र पूर्व गृहराज्यमन्त्री देवेन्द्र कँडेलको निर्वाचन क्षेत्र रहेको पश्चिम नवलपरासीका एसपी ऋषि कँडेललाई प्रहरी हेडक्वार्टर तानिएको छ ।

सीमानामा हुने गरेको अवैध ओसारपसारमा कँडेलको संलग्नता देखिएपछि छानबिनको निम्ति काठमाडौं झिकाइएको प्रहरी हेडक्वार्टर स्रोतले बताएको छ ।

गत आमनिर्वाचनमा सजिलैसँग विजयी गराउने प्रपञ्च रच्न देवेन्द्र कँडेलको योजनामा ऋषिलाई त्यहाँ लगिएको थियो । पश्चिम नवलपरासी निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणको पनि प्रादेशिक भेग हो । एसपी कँडेल भारतीय नाकाबाट हुने अवैध ओसारपसार र सेटिङमा मुछिएपछि छानबिनको निम्ति हेडक्वार्टरमा झिकाइएको बताएको छ ।

पश्चिम नवलपरासीका एसपी कँडेलले छुटाएको अवैध सामान काठमाडौंलगायत पूर्वी भेगमा लैजाने क्रममा पूर्वी नवलपरासीका एसपी प्रज्वल महर्जनले समात्न थालेपछि उनको अवैध धन्दाको पर्दाफास भएको हो । ‘पटक पटक पश्चिम नवलपरासीले अनुमति दिएको सामान पूर्वी नवलपरासीले अवैध ठहर्याएपछि हेडक्वार्टर कँडेलमाथि छानबिन अगाडि बढाउन बाध्य भएको हो,’ छानबिनमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।

कँडेल प्रहरी संगठनभित्र क्षमता नभएको अधिकृतको रुपमा चिनिँदै आएका थिए । उनी त्यही कारण बढुवामासमेत आफ्ना समकालीन अधिकृतहरुभन्दा पछाडि पर्दै आए । साथै,प्रहरीमा उनलाई नेतृत्व क्षमता नभएका अधिकृतहरुको समूहमा राखिएको पनि स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्