अपराधमा भारतीय गाडीको प्रयोग



बाँके । 

सीमावर्ती शहर नेपालगञ्जमा हुने अपराधमा भारतीय नम्बर प्लेटका गाडीको प्रयोग हुने गरेको छ । अपराधमा प्रयोग गरिएका भारतीय नम्बर प्लेटका गाडी कानुनी प्रक्रियासमेत पूरा नगरी भित्रिएको पाइएको छ ।

आइतबार दिउँसो सवा एक बजे नेपालगञ्जको बीच बजारमा पर्ने गणेशपुरमा तीन जना युवालाई लखेटी–लखेटी खुकुरी प्रहार गरियो । खुकुरी हान्ने चार जना यूपी ३२ ईयू ८६१६ नम्बरको भारतीय कारमा थिए ।‘दुस्मन’लाई खुकुरी हानेपछि आक्रमणकारी सोही गाडीमा नाकातिर हुँइकिए । सबै नाकामा तैनाथ सुरक्षाकर्मीले डुडुवाको वनकट्टीबाट रामपुरुवा जाने कच्ची सडकको दक्षिणतर्फ गहुँ लगाएको खेतमा गाडी फेला पारे । त्यहीँनजिकै दासपुरुवाबाट आक्रमणकारीलाई समातियो ।

खुकुरी हान्ने चारै जना पूर्वी छोटी नाकाबाट भारत छिर्ने दाउमा थिए । भारतीय नम्बर प्लेटको गाडी भएकाले नाका पार गर्नेबित्तिकै उनीहरूलाई सहज हुन्थ्यो । नाका पार गर्न नपाउँदै उनीहरू समातिए ।नेपालगञ्ज र आसपासमा अपराध गर्नेले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्नुको मुख्य उद्देश्य नै अपराधपछि भारत भाग्न सजिलो हुने भएकाले हो । अपराधमा प्रयोग भएका भारतीय नम्बर प्लेटका गाडीको भन्सारसमेत हुँदैन । भन्सार भइहाले पनि केही दिनका लागि मात्रै हुने र त्योभन्दा धेरै दिन यतै बस्ने गरेको पाइएको छ ।

यूपी ३२ ईयू ८६१६ नम्बरको भारतीय कारको पुस ५ देखि ८ गतेसम्म अनुमति लिइएको थियो । त्यसयता यो गाडी अवैध रूपमा नेपालगञ्जमा घुमिरहेको थियो । भारतीय नम्बर प्लेटका गाडी नेपाल आउँदा नजिकको शहरमा घुमेर फर्किने भए ‘चिट’ र अलिटाढा जानुपर्ने भए दिनको पाँच सय रुपियाँ भन्सार तिरेर रसिद काट्नुपर्छ । पुस ८ गतेसम्मका लागि चार दिनको रसिद काटेको यो गाडी १७ गतेसम्म नेपालगञ्जमा घुमिरहेको थियो । अपराध गर्ने ‘समय नमिल्दा’ यो गाडी अवैध रूपमा नेपालगञ्जमा घुमिरहेको देखिन्छ । प्रहरी प्रशासनले कडा रूपमा नियमन गरेको भए यसरी अवैध रूपमा भारतीय नम्बर प्लेटको गाडी नेपालगञ्जमा बस्न पाउँदैनथ्यो ।

हुन त पछिल्लो दिनमा नेपालगञ्ज शहरसँगै जिल्लाभरि नै भारतीय नम्बर प्लेटका सवारीसाधनको चाप देखिन्छ । नेपालगञ्जमा बढेको क्यासिनो मात्रै होइन, एक दिनका लागि भनेर भारतीय नम्बर प्लेटका गाडी भित्रिने र धेरै दिन बसेर जाने गरेको पाइन्छ । भारतीय नम्बरका मोटरसाइकल अझ धेरै नेपालगञ्जमा देखिन्छन् । भारतीय नम्बर प्लेटका सवारीसाधनलाई कडाइका साथ नियमन गर्न नसक्दा दुर्घटनासँगै अपराध बढेको छ । भारतीयले यहाँ आएर जथाभावी सवारी चलाएको पाइन्छ । जस्तो, नेपालगञ्जमा हर्न निषेध गरिएको छ । त्यो थाहा नपाएका भारतीयले हर्न बजाउने मात्रै होइन, जथाभावी सडक काटिरहेका हुन्छन् ।

लागुऔषध ओसारपसारमा प्रायः भारतीय नम्बर प्लेटका मोटरसाइकलको प्रयोग भएका हुन्छन् । अपराधमा प्रयोग हुँदा कानुनी प्रक्रिया पूरा गरेर आएको र अवैध रूपमा भित्रिएको सवारीसाधनको हकमा फरक कानुनी कारबाही हुन्छ । अवैध रूपमा भित्रिएको सवारीसाधनलाई प्रहरीले जफत गर्ने गर्दछ ।भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नजिकको बजारमा घुम्दा दिइने चिट र बस्ने गरी आएकालाई दिइने रसिदका विषयमा भन्सारले कडाइ गर्न जरुरी छ । चिट लगेको गाडी उही दिन फर्कियो कि फर्किएन, रसिद लगेको गाडीका विषयमा पनि दैनिक नै चासो लिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्