कांग्रेसका केन्द्रीय सदस्य र जिल्ला सभापतिमाथि कारबाहीको माग



काठमाडौं । 

नेपाली कांग्रेसका तीन केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिलाई कारबाहीको माग गर्दै जिल्लाले पठाएको सिफारिस पत्र केन्द्रीय समितिमा पुगेको छ ।

निर्वाचनमा अन्तर्घात गरेको आरोपसहित केन्द्रीय सदस्यहरू मधु आचार्य, गणेश लामा, आङगेलु शेर्पा तथा जिल्ला सभापतिहरू नाम्गले जाङ्बु शेर्पा र अब्दुल कलामलाई जिल्लाले कारबाहीको सिफारिस गरेको हो ।चुनावमा अन्तर्घात गर्नेहरूको नामावली पठाउन कांग्रेस केन्द्रीय कार्यालयले थप एक महिना समय दिएकोमा हालसम्म तीन केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिलाई कारबाहीको सिफारिस भईआएको केन्द्रीय अनुशासन आयोगले जनाएको छ । केन्द्रीय कार्यालयले शुरूमा पुस १५ सम्मको समय दिएको थियो ।

केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षबाहेकका जिल्लामा सक्रिय अन्य कार्यकर्ताहरूलाई समेत धमाधम कारबाहीको सिफरिस भइरहेको छ ।पुस १५ सम्ममा काभ्रे, सोलुखुम्बु र कपिलवस्तुबाट कारबाहीको सिफारिस आएको थियो । कांग्रेस काभ्रे जिल्ला कार्य समितिले दुई जना केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामामाथि कारबाहीको सिफारिस गरेको जनाएको छ । मधु आचार्यले प्रतिनिधि सभामा गठबन्धनबाट कांग्रेस उम्मेदवार बनेका शिव हुमागाईंलाई हराउन भूमिका खेलेको आरोप छ । त्यस्तै, गणेश लामाले जिल्ला सभापति तीर्थ लामालाई प्रदेश सभा सदस्यमा हराउन लागेको आरोपसहित कारबाहीको सिफारिस गरेको हो ।

तीर्थ लामाले एमालेका चन्द्र लामालाई जम्मा २ मतले मात्र पराजित गर्नुभएको थियो ।नेपाली कांग्रेस काभ्रे प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री कञ्चनबादे श्रेष्ठ र क्षेत्रनम्बर २ का सभापति महेश खरेलसमेतलाई कारबाहीको सिफारिस गरेको बताएको छ । गत मंसिर ४ मा भएको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन लागेका नेता कार्यकर्ताहरूलाई कारबाहीको सिफरिस गरिएको काभ्रेका सभापति एवं प्रदेशसभा सदस्य तीर्थ लामाले बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले जिल्ला अनुशासन समितिमा परेको उजुरीका आधारमा छानबिन गर्दा पार्टीका आधिकारिक उम्मेदवारलाई चुनाव हराउने भूमिकामा उहाँहरूको संलग्नता देखिएकाले केन्द्रीय समितिमा कारबाहीका लागि सिफारिस गरेका छौं । पार्टीभित्र आफूले टिकट पाउँदा ठिक र अर्को साथीले पाउदा बेठिक भन्ने संस्कारको विकास भइरहेकोले यसलाई रोक्नका लागि विधानअनुसार हुनुपर्ने कारबाही गरियोस् भन्ने हाम्रो माग हो ।’

त्यस्तै, सोलुखुम्बुमा कांग्रेसका आधिकारी उम्मेदवारलाई हराउन सबै ढंगले लागेको भन्दै कांग्रेस जिल्ला सभापति नै कारबाहीको सिफारिसमा परेका छन् । जिल्ला सचिव भलाकाजी राई र युवराज घिमिरेले संयुक्त रूपमा केन्द्रीय अनुशासन आयोगमा केन्द्रीय पार्टीका सदस्य आङगेलु शेर्पा र जिल्ला सभापति नाम्गले जाङ्बु शेर्पामाथि कारबाहीको सिफारिस गर्नुभएको हो । केन्द्रीय सदस्य र जिल्ला सभापतिले कांग्रेस नेता बलबहादुर केसीलाई पराजित गर्न सबै खालका हत्कण्डा प्रयोग गरेको आरोप छ ।

माओवादीसहितको गठबन्धन गरेर चुनाव लडेको कांग्रेस गठबन्धनको १७ हजारभन्दा बढी मत हुँदाहुँदै पनि आफ्नै नेताहरूले एमालेलाई सहयोग गर्दा हार बेहोरेको कांग्रेसका उम्मेदवार केसीको आरोप छ । यसले जिल्लामा कांग्रेसको संगठनलाई ठूलो नोक्सान पुगेको उहाँको भनाइ छ । गठबन्धनको पक्षमा ठूलो मतान्तर देखाइए पनि गठबन्धनका साझा उम्मेदवार केसीलाई एमालेका मानवीर राईले पराजित गर्नुभएको थियो ।

सोलुखुम्बुमा एमालेले संसद्मा जितेको यो पहिलोपटक हो । नेता केसीले जिल्ला सभापति र केन्द्रीय सदस्यले दुवै जनाले एमालेलाई मत मागेको आरोप लगाउँदै कारबाहीको लागि जिल्ला अनुशासन समितिमा कारबाहीका लागि उजुरी दिनुभएको थियो । जिल्ला तथा प्रदेशसभाका समितिहरूसमेतको सिफरिसका आधारमा नेताहरूले असहयोग गरेको देखिएकाले विधानबमोजिम कारबाहीको माग गरिएको जिल्ला सचिव भलाकाजी राईले जानकारी दिनुभयो ।

त्यस्तै, कपिलवस्तुमा पनि जिल्ला सभापति अब्दुल कलामसहित नेताहरूमाथि कारबाहीको सिफारिस गरिएको छ । पराजित उम्मेदवार अभिषेक प्रताप शाहले जिल्ला सभापति कलामसहित नेताहरू वीरेन्द्र कनौडिया, जिल्ला उपसभापति हुमकान्त खनाल, सचिव प्रेमबहादुर रायमाझी, क्षेत्रीय सभापति ब्रह्मानन्द पाण्डेय लगायतमाथि अन्तर्घातको आरोप लगाउँदै उजुरी दिनुभएको हो ।

कांग्रेसले चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाहीको सिफारिस गर्ने समय थप गरेकाले अन्य जिल्लाहरूबाट समेत सिफारिस आउन थालेको जनाइएको छ । हालसम्मको तथ्यांकअनुसार उल्लिखित सात नेताहरूबाहेक केन्द्रीय सदस्य तथा जिल्ला सभापति वा सोसरहका नेताहरूलाई कारबाहीका लागि अहिलेसम्म सिफरिस नआएको केन्द्रीय अनुसाशन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्