४० फिट अग्लो दश अवतारको ब्रह्मा मन्दिर

प्राण प्रतिष्ठा पछि खुल्ला गर्ने तयारी 



काभ्रे।

विश्वको तेस्रो, नेपालको पहिलो दश अवतारसहितको ४० फिट अग्लो ब्रह्मा मन्दिर तयार भएको छ । बनेपा नगरपालिका वडा नम्बर ४ साबिक उग्रचण्डी नालामा दुई वर्ष अघि स्थानीयहरुले आफ्नै लगानीमा सुरु गरेको मन्दिरको पुस २१ र २२ गते प्राण प्रतिष्ठा गरिँदै छ । प्राण प्रतिष्ठा पछि सर्वसाधारणका लागि मन्दिर खुल्ला हुनेछ ।

‘विश्वका दुई मुलुक भारतको राजस्थान र थाईल्याण्डको बैकमा दश अवतारसहितको मन्दिर अवस्थित छ’–निर्माण समितिका अध्यक्ष पण्डित पुरुषोत्तम सापकोटाले भन्नुभयो–‘दश अवतारसहितको मन्दिर निर्माण भएको नेपाल तेस्रो स्थान र मुलुक हो ।’ विश्वमै धार्मिक र सांस्कृतिक क्षेत्रका हिसाबले समेत थप परिचित बनाउने उद्देश्यले अष्ट मातृका वरपर ब्रम्हायणी क्षेत्रमा ब्रह्मा मन्दिर निर्माण गरिएको अध्यक्ष सापकोटाले बताउनु भयो ।

करिब १ सय रोपनी जमिन क्षेत्रफल रहेको उक्त क्षेत्रमा बृहत् गुरुयोजना तयार भएको छ । गुरुयोजना अनुरुपको पहिलो निर्माण कार्य पार्क सहितको दश अवतार भएका ब्रह्माको ४० फिट अग्लो मूर्ति प्रतिस्थापन हो । उक्त कार्य सम्पन्न गर्न स्थानीयहरुले १ करोड २० लाख नगद संकलन गरेका थिए । ब्रह्मा मन्दिरसँगै महादेव खोला परिसरमा मन्दिर, घाट तथा अन्य निर्माण कार्य समेत सम्पन्न भएको छ ।

विश्व शान्ति र कल्याणको कामना गर्दै बृहत् रुद्रयाग (शैव महायज्ञ) एबं शिव महापुराण सहितको यज्ञानुष्ठानको तयारी गरिएको सचिव श्याम सापकोटाले बताउनु भयो । ब्रम्हायणी मन्दिर क्षेत्रमा समुदाय स्तरबाट १० हजार माथि ५ सय ४६ जनाको आर्थिक सहयोग रहेको छ ।

विष्णुका दस अवतारसहित परम्पिता चतुरानन्द ब्रम्हाजीको मन्दिर एकै स्थानमा राखेर निर्माण गरिएको हो । ‘नेपालमै पहिलो पटक दश अवतार सहितको ब्रम्हायणी मन्दिर र ब्रह्माको प्रतिमा स्थापना गरिएको छ । विधिवत रुपमा यसको प्राण प्रतिष्ठाको तयारी गरिएको छ’– समितिका अध्यक्ष पुरुषोत्तम सापकोटाले भन्नुभयो–‘१ करोड ४२ लाख लागत स्टमेटमा निर्माण व्यवसायीहरुको प्रतिस्पर्धामा १ करोड ५ लाखमा निर्माण सम्झौता गरिएको थियो ।’ उक्त क्षेत्रमा ब्रह्माको प्रतिमा, मन्दिर र सिँढी निर्माण लगायतका संरचनाहरु तयार भएका छन् ।

उक्त क्षेत्रमा तेस्रो चरणमा भ्यू टावर लगायतका अन्य संरचनाहरु तयार हुनेछन् । उक्त क्षेत्रको गौरवको योजनाका रूपमा लिएको उक्त क्षेत्रलाई धार्मिक रूपले प्रचार प्रसार गरी आन्तरिक पर्यटन वृद्धि गर्ने समितिको योजना रहेको अध्यक्ष पुरुषोत्तम सापकोटाले बताउनु भयो ।

२०७१ साल मसिंर १४ गते तत्कालीन समितिले बृहत् रुद्रायाग शैव महायज्ञबाट संकलन गरेको रकमबाट महादेव खोला परिसरमा मन्दिर, घाट र अन्य संरचना निर्माण गरेको थियो ।  नव गठित समितिमा अध्यक्ष पुरुषोत्तम सापकोटा, सचिव श्याम सापकोटा र कोषाध्यक्ष सीता पराजुली रहनु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्