बलात्कार आरोपित वडाध्यक्ष प्रहरी नियन्त्रणमा



बारा।

बलात्कारको आरोप लागेका निजगढ नगरपालिका २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको फरार  सुचीमा रहेका श्रेष्ठ आइतबार राति निजगढ इलाका प्रहरी कार्यालयमा आएका थिए । उनी तीन महिना अघिदेखि फरार रहँदै आएका थिए ।

उनीमाथि गत असोज १९ गते छिमेकी किशोरीलाई घरमै बोलाएर बलात्कार गरेको आरोप लागेको थियो । पीडित किशोरीले वडा अध्यक्ष श्रेष्ठविरुद्ध गत असोज २५ गते इलाका प्रहरी कार्यालय निजगढमा किटानी उजुरी दिएकी थिइन् । आरोपित वडाध्यक्ष श्रेष्ठ घटना भएदेखि नै फरार बनेका थिए ।

उजुरी दिएपछि प्रहरीले किशोरीको असोज २५ गते नै कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराई जबरजस्ती करणी मुद्दा दर्ता गरेर बारा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी खोजी गर्दै आएको थियो ।

प्रहरीले आरोपित श्रेष्ठको खोजी कार्यलाई तीव्र पारेपछि आफूलाई असुरक्षित महसुस गरेर उनी प्रहरीको सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीले बताउनुभयो । प्रहरीले श्रेष्ठको मोबाइलको फोन ट्यापिङ्ग गरेर उनी लुकेर बसेको हुनसक्ने सम्भावित क्षेत्रमा समेत निगरानी बढाएको थियो । श्रेष्ठलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको निरीक्षक ओलीले बताउनुभयो ।

वडा अध्यक्ष फरार बनेपछि वडाको कार्य भने वडा सदस्य पुष्कर खडकाले लिएर काम कार्यवाहक गर्दै आउनुभएको छ ।

यसैबीच इलाका प्रहरी कार्यालय निजगढले छिमेकी १५ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा लिएको हो ।

चौधरीले कोठामा पुगेकी किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको भनेर आफन्तले जानकारी दिएपछि शनिवार राति नै पक्राउ गरेको निरीक्षक ओलीले जानकारी दिनुभयो । चौधरीमाथि जबरजस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको निरीक्षक ओलीले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्