पुँजीवाद : सीमित व्यक्तिको स्वर्ग



समानता, न्याय र स्वतन्त्रताको लागि संसारमा संघर्ष र आन्दोलन भइरहन्छ । सामन्ती व्यवस्थाले देशमा पुँजीवादी व्यवस्था ल्याउने गर्दछ । त्यो बेला धनी, चलाक र सीमित मानिसहरुको लागि स्वर्ग नै भनेझैँ गरी सुख, शान्ति र अमनचयन शुरु हुने गर्दछ । भन्नलाई सामन्ती व्यवस्था र पुँजीवादी व्यवस्थाले सुख, शान्ति व अमनचयन कायम गर्ने कार्य आफूहरुले गरेको भनेर झ्याली पिट्ने गरिन्छ । वास्तवमा त्यसो हुन सक्दैन ।

जोसँग धन हुन्छ, उनको राज हुने गर्दछ । धन भएपछि न्यायसमेत आफ्नो पक्षमा हुने गर्दछ । धनीहरुले कुनै पनि हालतमा समानता, न्याय र स्वतन्त्रताको कुरा गर्ने गर्दैनन् । आफ्नो स्वर्गको लागि निश्चित मानिसहरुको सेवा गरी अधिकांश जनतालाई गुमराहमा पार्ने गर्दछन् । यो गरी दिऊँला, त्यो गरी दिऊँला भन्दै पैसा खर्च गरेर होस् वा मानिसहरुलाई धम्की दिएर होस् वा के गरेर हुन्छ पक्षपात र धाँधली गरी निर्वाचन जितेर छोड्छन् । यसरी पाँच वर्षको लागि आफूहरु सत्तासीन भई अरुलाई मारेरै भए पनि सम्पत्ति, धनदौलत र मान–मर्यादा बढाउनेतिर सदा ध्यान कन्द्रित गरिरहेका हुन्छन् ।

यस्तो पुँजीवादी व्यवस्थामा सारा जनतालाई सेवा, सुविधा र न्याय नहुने कारण विश्वमा नयाँ पद्धतिको रुपमा समाजवादी गणतन्त्रको नयाँ अवधारणाले जन्म पाएको हो । विभिन्न किसिमले पुँजीवादी सोच–विचार गलत भएको प्रमाणित भएपछि मात्रै यहाँ समाजवादी समाजको निर्माण गरी बहुसंख्यक जनताको हित कसरी हुन्छ भन्ने सोधखोज हुन थालेको हो ।

सोही अनुरुप राज्यको तर्फबाट सारा जनतालाई खान, लाउन र बस्नको लागि राम्रो बन्दोबस्त गरिने हुन्छ । साथै उत्पादनको मुख्य–मुख्य स्रोतहरुलाई राष्ट्रियकरण गरी बढी उत्पादन गर्ने र सारा जनतालाई काम हुने, खान पुग्ने र जीवन धान्नको लागि केही पनि समस्या नहुने गरी समाजवादी व्यवस्थाले सबैको जीवनको ग्यारेन्टी गरेको हुन्छ ।दुई सय वर्षअगाडि कल्पना गरिएको यो व्यवस्थाले सन् १९१७ मा मूर्तरुप लियो । पहिला काल्पनिक समाजवादमा विचार विमर्श भयो तर असफल भयो । पेरिस कम्युन प्रयोगको रुपमा नै विश्वमा सबैभन्दा पहिला सर्वहारा वर्गको शासन कायम भयो । तर निश्चित निर्णय गर्न नसकेकै बेला त्यसले बिदा लिनुप-यो ।

त्यसै गरी सारा संसारको दुई तिहाइ भाग ओगटिएको देश रुसमा लागू भएको समाजवादी गणतन्त्र पनि आज धराशायी भइसकेको छ । त्यसबाट पनि पाठ सिकेर समाजवादी पक्षधरहरु अहिले अगाडि बढ्ने गरेका छन् । त्यसको परिणाम विश्वभरमा समाजवादी प्रचार अभियान तीव्र ढंगमा अगाडि बढिरहेको छ । सीमित जनताको हित हुने पुँजीवादी व्यवस्थाले सन्तोषजनक परिणाम दिन नसकेकै कारण समाजवादी गणतन्त्रजस्तो नयाँ सोच विकास भएको हो ।पुँजीवादी व्यवस्थाले गलत कार्य गरेर भए पनि धन–सम्पत्ति बढाउने कुरा सिकाउँछ । त्यसमा मानिसबाट मानिसको शोषण हुने कुरा सामान्य नै हुने गर्दछ । न्याय, समानता र स्वतन्त्रता अनि शोषणरहित व्यवस्थाको लागि लडिरहेका विश्वभरका जनताको भावना उक्त व्यवस्थाले मुखरित गर्न सकिन्न । त्यसैले पनि पुँजीवादी व्यवस्थाभित्र समाजवादी अवधारणाहरुले बास लिने गरेको हो ।

धनको अगाडि मानिसहरुले आफ्नो टाउको झुकाउन बाध्य हुनुप¥यो भने त्यो व्यवस्था पुँजीवादी व्यवस्था हो भन्ने जान्नुपर्दछ । होइन धनलाई दासको रुपमा लिएर मानिसहरुलाई मालिकको रुपमा बदल्ने हो भने हामी सबै समाजवाद उन्मुख समाजतिर अगाडि बढ्नु आवश्यक छ । हाम्रो देशको संविधानमा यो देश नेपाल समाजवाद उन्मुख देश भयो भनी उल्लेख भइसकेको छ । अब यसलाई व्यवहारमा उतार्नु मात्रै बाँकी छ । अब समाजवादको पक्षमा लाग्नु कानुनी रुपमा अवैध भने नभैसकेको छ ।

धनीहरुको राज चलिरहेको स्थानमा गरिब, निमुखा र खान–लगाउनसमेत मुस्किल पर्ने व्यक्तिहरुले उनीहरुको विरोध गर्न सक्दैनन् । विरोध गरेको खण्डमा उनीहरुले धनको बलले भए पनि दबाउन खोज्छन् । समाजको होइन कि व्यक्तिको मात्रै हित हेर्ने व्यवस्था भएको कारण सो व्यवस्थाबाट सारा जनताको उन्नति र प्रगतिको कार्यलाई अगाडि बढाउन सकिन्न । त्यही भएर पनि हामीकहाँ कायम रहेको वर्तमान पुँजीवादी व्यवस्थालाई सचेत जनताले विरोध गर्नुपरेको हो । धन सबैभन्दा माथि र मानिसहरु बरु तल पर्ने कारण यसले ठूलो प्रभाव भने पारेकै हुन्छ ।धनलाई बढी प्राथमिकतामा राख्ने व्यवस्था पुँजीवादी व्यवस्था भएको कारण मानिसका धेरै आशा र आकांक्षाहरु पूरा पनि हुन सक्दैनन् ।

आखिर मानिसहरु खान र बस्नको लागि मात्रै होइन कि स्वतन्त्र रुपमा जीवनयापन गर्नको लागि नै बसेका हुन्छन् । जहिले पनि दासको जस्तो व्यवहारलाई सहेर पुँजीवादमा धनीहरुको मात्रै कुरा सधैँ साँचोजस्तो गरी सदा आफ्नो जीवन कलकारखाना र ज्यामी काममा मात्रै सीमित गर्न चाहँदैनन् । आफ्नो मालिक आफैं हो भन्ने कुरा सिकाउने व्यवस्था समाजवादी संस्कार वा समाजवादी व्यवस्था हो । हामीले त्यसलाई आज देख्न भने पाएका छैनौं ।सबैको लागि एक र एकको लागि सबै भन्ने नारा लिएर शुरु भएको सहकारी भावनालाई अर्धसमाजवादी व्यवस्थाको रुपमा परिभाषित गरिएको पाइन्छ । समाजवाद सारा देश र जनताको लागि हुने गर्दछ । सहकारी संस्थाले समुदायभित्र समाजवादी व्यवस्थाको अभ्यास गर्दछ ।

त्यसैले २०४८ सालपछि सहकारी संस्थाहरु ऐन बनाएर व्यवस्थित गर्ने गरेको हो । आज पुँजीवादको थुप्रै विकास भएर समाजवादी धारणा पछि परिरहेको छ ।चीन, रुस, क्यूबा, उत्तर कोरियाजस्ता समाजवादी देशमा सहकारीमार्फत समाजवादी आचरण विकास भएर देशमा समाजवादी गणतन्त्र कायम रहेको हो । त्यसैले नारामा होइन कि व्यवहारमा समाजवाद लागू गरी लग्न सकेको खण्डमा हिजोसम्म हाम्रो देशमा कुनै एक स्थानमा सीमित रहेको जनभावना सारा जनताको बीचमा फिँजाउन सकेको खण्डमा चाँडो यहाँ समाजवादी व्यवस्था लागू हुन सक्छ । ढिलो–चाँडो समाजवाद अवश्यम्भावी छ ।

सहकारी र कम्युनिस्ट अवधारणा समानता र समाजवादी धारण नै भए तापनि सहकारीका सञ्चालकहरु र कम्युनिस्ट पार्टीका अगुवाहरु नै पुँजीवादी धारमा जान मात्रै लालायित भएका कारण हामीकहाँ नाम कम्युनिस्ट तर सदा पुँजीपतिहरुको सेवा भइरहेको छ । कम्युनिस्ट नाम भएका पार्टीहरुले समेत निर्वाचन अगाडि आएपछि थुप्रै खाले कलकारखानाका मालिकहरुसँग र पुँजीपतिहरुसँग चन्दा लिने गर्दछन् ।

समाजवादतिर अगाडि बढ्नुपर्नेहरुले त्यस खालको दोधारे नीति लिएकै कारण निर्वाचन सम्पन्न भएको भोलिपल्टदेखि नै बजार भाउ दुगुना हुने गरेको हो । त्यसैले पनि हाम्रा नेताहरुले पुँजीपति वर्गको विरोधमा चुइँक्क बोल्न नसकेका हुन् । यस खालको पुँजीवादी व्यवस्थाभित्र रहेका कमी–कमजोरीहरुलाई समाप्त पार्नुपर्दछ । साथै पुँजीवादका विभिन्न खालका विकृति एवं विसंगतिहरुलाई उदाङ्गो बनाएर सच्चा कम्युनिस्ट पार्टी र समाजवादी धारणाले प्रभावित गरी जनतालाई संगठन गर्न सकेको खण्डमा हामीबाट पनि समाजवादी गणतन्त्र स्थापना गरेर देश र जनताको उन्नति–प्रगति गर्ने कार्यतिर पाइला अगाडि बढाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्