आज स्पेनी क्लब कासेरेन्यो र गण्डकी ११ बीच खेल हुँदै



काठमाडाै‌ं  ।

स्पेनी क्लब कासेरेन्यो र गण्डकी ११ बीच आज पोखरा रंगशालास्थित फुटबल मैदानमा मैत्रीपूर्ण खेल हुँदैछ । मंगलबार पोखरा आएको टिमले गण्डकी ११ सँग प्रतिस्पर्धा गर्न लागेको हो ।

शान्तिका लागि फुटबल भन्ने नाराका साथ हुने मैत्रीपूर्ण खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गण्डकी ११ का प्रशिक्षक राजेन्द्र तामाङले गण्डकीमा स्थानीय खेलाडीको बाहुल्यता रहेको बताए । उनले नेपाली खेलाडीले युरोपियन फुटबलको सामना गर्नुका साथै अनुभव लिने बताए । ‘हाम्रो लागि यो महत्वपूर्ण अवसर हो । हामीसँग भिड्ने टिम सामान्य टिम होइन यो युरोपियन फुटबल हो । त्यसैले पनि यो रोमाञ्चक बन्ने छ’ उनले भने ।

उता गण्डकीका कप्तान अनिल गुरुङले नेपालका नयाँ युवा खेलाडीका लागि यो अनुभव रोमाञ्चक हुने बताए । उनले नेपालमा पहिलोपटक युरोपेली टीमसंग खेल्ने अवसर मिलेको बताए । ‘यो नेपालकै पहिलो होला ।

अहिलेसम्म युरोपेली क्ल्बसँग नेपालमा मैत्रीपूर्ण खेल खेलेका छैनौं । यसले पक्कै पनि नयाँ खेलाडीलाई मनोरञ्जनका साथै केही पाठ सिकाउने छ’ उनले भने,‘हामीले यो खेलबाट के सिक्ने र कसरी फुटबल खेल्ने भन्ने कुरा सिक्ने छौं ।’यस्तै, लुम्बिनी फाउन्डेसनका अध्यक्ष कार्लोसले आफूहरू शान्तिको मिसनमा रहेको सुनाए ।

उनले पोखरामा बोल्दै आफूहरूको टिम राम्रो टिम रहेको र विस्तारै स्पेनको फुटबल ग्रेडमा बढ्दै गइरहेको सुनाए । ‘हामी मिसनमा छौं । नेपाली फुटबलले युरोपेली फुटबलको अनुभव गरोस् भनेर यहाँ आएका हौं । यो क्लबले अर्को साता रियल मड्रिडसँग पनि खेल्दै छ । त्यो खेल स्पेनको राजा कप हो ’ उनले भने । उता क्लबका अध्यक्ष फुलियो कोवोसले गण्डकी ११ लाई आफूहरूले जित्ने बताए । उनले आफूहरू रियल मड्रिको तयारीको शिलशिलामा रहेको र अहिले नेपाल भ्रमणमा समेत आएको बताए ।

स्पेनका पूर्व राष्ट्रिय खेलाडी मिचेलले नेपालमा फुटबल खेल्ने चाहना भएको धेरै खेलाडी रहेको बताए । नेपालले बाहिरको खेल चिनुन, जानुन र खेल्न पाउन भन्ने भन्ने उदेश्य आफूहरू रहेको सुनाए । उनले युएफा कप, ला लिगा, स्पेनिस कप, स्पेनिस सुपर कप र लिग कप समेत खेलिसकेका छन् । ‘फुटबलको खेलाडी हुनका लागि महत्वपूर्ण कुरा भनेको खेलाडी हुने चाहना व्यक्त गर्नु हो । जुन हरेक खेलाडीमा हुनुपर्छ । नेपाली खेलाडीमा पनि त्यो छ । तर, खेलमै जिवन विताउन जरुरी छ । हाम्रो चाहाना नेपाली खेलाडीले पनि बोर्डर क्रस गरेर युरोप, अमेरिका क्लबसम्म जाओस् भन्ने सुभेक्षा छ’ उनले भने ।

यस्तै, स्पेनिस क्लबमा स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) पनि रहनेछन् । उनले स्पेनबाट १९८८ देखि १९९२ सम्म खेलेका थिए । उनले स्पेनका लागि २८ खेल खेल्दै ९ गोलसमेत गरेका छन् । गौतम बुद्ध जन्मिएकै देशबाट ’शान्तिका लागि फुटबल’ नाराका साथ शुरु गरिएको यो मैत्रीपूर्ण फुटबल भविष्यमा अन्य देशमा पनि गर्ने योजना रहेको फाउन्डेसनले जनाएको छ । भविष्यमा चीन, हङकङ, म्यानमार, थाइल्यान्ड, भियतनामलगायत देशमा पनि मैत्रीपूर्ण खेल खेलाउने योजना रहेको उनीहरू सुनाउँछन् ।

स्पेनी टिममा लुइस अगुआडो गार्सिया, रुयमान आर्टेगा गार्सिया, सर्जियो एनरिके बर्मुडेज फेरेरेस, अल्बर्ट कापार्रियोस र्गुजमान, अल्भारो क्लायसि मारिन, करिम एल कोउन्नि, माइकल लिभान फर्नान्डेज टमायो, मिगुले गार्सिया लुसियो, समुएल गोमिस मेन्डे, समुएल गोन्जालेज मार्टिनेज, फ्रान्सिस्को डेभिड ग्रेन्डे सेरेनो, अल्फोन्सो, जोसे एन्टोनी, कर्मेलो, म्यानुएल, पेड्रो जिसस, ड्यानिएल, रुवेन सोलानो, लुइस फर्नान्डो र ओसमने रहेको छन् ।
यस्तै, गण्डकी ११ को टिममा अनिल गुरुङ, दीप कार्की, राजा बाबु मगर, मानबहादुर तामाङ, आशिष गुरुङ, रन्दिप पौडेल, जीवन गुरुङ, सुमित श्रेष्ठ, सरोज योन्जन, बिसन गुरुङ, जया गुरुङ, कमलबहादुर थापा, विजय श्रेष्ठ, दिपेश आले मगर, शान्तबहादुर गुरुङ, लक्ष्मण रुचाल, सुवास गुरुङ रहेका छन् ।

गण्डकी ११ संग खेल्न लागेको स्पेनिस क्लब सिपी कासेरेनोले अर्को साता कोपा डेल रेमा (राजा कप) रियल म्याड्रिडको सामना गर्ने भएको छ । कासेरेनोले पोखरा र काठमाडौंमा स्थानीय टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । स्पेनको चौथो श्रेणीमा रहेको क्लब भ्रमणका लागि मंगलबार विहान पोखरा आइपुगेको हो । स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गर्न लागेको खेलका लागि कासेरेन्योको टोली सोमबार म्याड्रिडबाट काठमाडौं हुँदै पोखरा आएको हो । कासेरेन्योले ४ जनवरीमा रियल मड्रिडको सामना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्