एनभीए क्लब भलिबल च्याम्पियनसिप पुसमै



काठमाडौं । 

नेपाल भलिबल संघको आयोजनामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस अन्तिम साता हुने भएको छ ।संघले मंगलबार पत्रकार सम्मेलन गरी पुरूषतर्फ १५ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता पुस २४ देखि माघ १ गते सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगिताका सबै खेलहरू त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सञ्चालन हुनेछन् ।

पुरुषतर्फ त्रिभुवन आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, नयाँबजार सामाजिक युवा क्लब, दाँवाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बाग्लुङ, मणिमुकुन्द भलिबल क्लब, बुटवल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश, बुढानीलकण्ठ भलिबल क्लब,

गण्डकी प्रदेश, मधेस प्रदेश, सुदूरपश्चिम प्रदेश र शैलुङ बागढुङ्गा युवा क्लब, रामेछाप गरी १५ टिमहरूबीच प्रतिस्पर्धा हुनेछ ।महिलातर्फ एपीएफ, नेपाल प्रहरी, त्रिभुवन आर्मी, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब, बुटवल गरी ८ टिमहरूको सहभागिता रहनेछ ।

पुस १९ गतेसम्म टिम दर्ताको समय रहेकोले अझै टिम संख्या बढ्न सक्ने संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले ४ लाख पाउनेछ । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार (महिला र पुरुष) रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, विधागत तर्फ उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेमध्ये वरीयताको आधारमा पुरुषतर्फ उत्कृष्ट ८ टिम र महिलातर्फ ६ टिमले सातौं आरबीबी–एनभीए क्लब लिगमा स्थान बनाउनेछन् ।

यो प्रतियोगितामा हरेक टिमले बढीमा तीन जना विदेशी खेलाडी टिममा राख्न पाउनेछन् । खेलको स्तर विकासका लागि विदेशी खेलाडीलाई पनि समावेश गर्न लागेको संघका महासचिव श्रेष्ठले बताए ।प्रतियोगिताको कुल बजेट करिब ४६ लाख रहेको श्रेष्ठले जानकारी दिए । त्यसमा नेपाल सुपर लिगको आयोजकले २५ देखि ३० लाख सम्म सहयोग गर्ने पनि उनले बताए । बाँकी बजेट विभिन्न स्रोतहरूबाट जुटाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्