नियमविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न गृहको आग्रह

0
Shares

काठमाडौं । 

विशिष्ट व्यक्तिको सुरक्षाको नाममा सुरक्षाकर्मीको दुरुपयोग भएको भन्दै गृह मन्त्रालयले नियमविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८घण्टाभित्र फिर्ता गर्न आग्रह गरेको छ ।

सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ लागू गरेको भए पनि यसको दुरुपयोग भएको भन्दै मन्त्रालयले ४८ घण्टाभित्र कार्यविधिविपरीत परिचालन भएका सुरक्षाकर्मीलाई उनीहरूकै युनिटमा फिर्ता गर्न निर्देशन दिएको छ ।कार्यविधिमा नेपाल सरकारका पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभामुख, गृहमन्त्री, नेपाली सेनाका सेनापति, मुख्य सचिव, रथी, नेपाल प्रहरीका आईजीपी तथा एआईजी, सशस्त्र प्रहरी बलका महानिरीक्षक र अतिरिक्त महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र उपप्रमुखलाई सुरक्षाकर्मी उपलब्ध गराउने प्रावधान रहेको छ ।

कार्यविधिले तोकेको भन्दा बाहिरका कुनै पनि विशिष्ट व्यक्तिलाई सुरक्षा खतरा भए मन्त्रालयले एक वा एक भन्दा बढी सुरक्षाकर्मी उपलब्ध गराउन सक्ने कार्यविधिमा उल्लेख गरिएको छ ।पछिल्लो समय सत्ता र पहुँचका आधारमा सुरक्षाकर्मीको दुरुपयोग भएपछि मन्त्रालयले ४८ घण्टाभित्र त्यसरी दुरुपयोग भएका सुरक्षाकर्मीलाई फिर्ता पठाएर सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले कार्यविधि नाघेर राखिएका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएपछि तीनवटै सुरक्षा निकायको प्रधान कार्यालयले नियमविपरीत पहुँचका आधारमा लगिएका सुरक्षाकर्मीको विवरण संकलन शुरू गरेको छ ।नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरीबाट ६ सय ३१ जना विशिष्ठ व्यक्तिको सुरक्षामा खटिएको जानकारी दिनुभयो ।

उहाँले विशिष्ट व्यक्तिको सुरक्षामा प्रहरी परिचरदेखि प्रहरी नायब उपरीक्षकसम्म खटिएको जानकारी दिनुभयो । त्यसै गरी विशिष्ठ व्यक्तिको सुरक्षामा सशस्त्र प्रहरी बलको ४ सय ५ जना सुरक्षाकर्मी खटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।