नेता छान्ने निर्वाचनको पूर्वसन्ध्यामा ‘शक्ति प्रदर्शन’

0
Shares

हेटौँडा ।

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको आज (पुस १३ गते) हुने संसदीय दलको नेता छान्ने निर्वाचनको पूर्वसन्ध्यामा हेटौंडामा पार्टीका प्रदेश सभापतिसमेत रहनुभएका मकवानपुरका इन्द्रबहादुर बानियाँले ‘शक्ति प्रदर्शन’ गर्नुभएको छ । बानियाँले प्रतिद्वन्द्वी मानिनुभएका आफ्नै समूहका बहादुरसिं लामाविरुद्ध शक्ति प्रदर्शन गर्नुभएको हो ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा बानियाँ निकट सांसद्हरुको सहभागितामा पार्टी कार्यालयमा छलफल जारी रहँदा नजिक मोटल एभोकाडो एण्ड अर्किड रिसोर्टमा प्रतिद्वन्द्वी लामा पक्षधर कार्यकर्ता तथा सांसद्हरु बानियाँको प्रतीक्षा गरिरहेका देखिन्थे ।

काँग्रेस हेटौँडा उपमहानगर समिति सभापति उत्सव इटेनीले सभाध्यक्षता गरेको कार्यक्रममा कांग्रेसका जिल्ला, प्रदेश तहका नेताहरुको सहभागिता थियो । सोही समयमा पार्टी कार्यालयमा बानियाँनिकट मानिएका जिल्ला सभापति बुद्ध लामाले सभाध्यक्षता गरेको कार्यक्रममा काँग्रेस जिल्ला तथा प्रदेश तहका नेताहरु सहभागी थिए ।

जिल्लाले प्रदेश सांसद्लाई स्वागत गर्ने भनिएको कार्यक्रममा बानियाँसहित १६ प्रदेशसभा सांसद् उपस्थित रहनुभयो । बानियाँका अनुसार उक्त संख्या बढ्नेछ । बानियाँ निकट एक प्रदेशसभा सांसद्ले उक्त संख्यामा भारी वृद्धि हुने दाबी गरे । एभोकाडोमा भेटिएका लामानिकट नेताका अनुसार बुधबार हुने निर्वाचनमा लामाको जित निश्चित छ । लामालाई मत हाल्न बहुमत सांसद् तयार रहेको उनको दाबी छ ।

वामगती प्रदेशसभामा नेपाली कांग्रेसको ३७ सिट छ । दलको नेता बन्न १८ सांसद्को साथ आवश्यक पर्छ ।

बुधबार नेपाली कांग्रेसले आफ्नो दलका संसदीय नेता निर्वाचन प्रणालीमार्फत् चुन्ने कार्यतालिका छ । नयाँ गठबन्धन नबनुञ्जेल सरकार पक्षको अडानमा रहेको कांग्रेसबाट बागमती प्रदेशका मुख्यमन्त्री बन्ने पक्का थियो । काँग्रेस संस्थापन पक्षबाट २ सांसद् संसदीय दलको नेता बन्न दौडधुप गरिरहँदा सहमति जुट्न नसकेपछि अन्त्यमा निर्वाचन प्रणालीबाट संसदीय दलको नेता छान्ने सहमति भएको थियो ।

पछिल्लो राजनीतिक घटनाक्रमले कोल्टे फेर्‍यो । कांग्रेसको मुखमै आइसकेको गाँस खोसीदा अब काँग्रेस प्रतिपक्षमा बस्न बाध्य देखिन्छ । जो संसदीय दलको नेता, उही प्रदेशका मुख्यमन्त्री हुने मान्यताका कारण एकै गुटका नेताबीच निर्वाचन गर्ने सहमति भएको थियो । तर, अब कांग्रेसको सरकार बन्ने अंकगणित परिवर्तन भएपछि पनि निर्वाचन होला र भन्ने आम नागरिकको चासोको विषय बनेको प्रश्नमा संसदीय दलका उम्मेदवार मकवानपुर क्षेत्र नम्बर–२ (२) बाट निर्वाचित बानियाँ निर्वाचन प्रणालीबाट संसदीय दलको नेता छानिनेमा दुई मत नरहेको बताउनुहुन्छ ।

हालको अवस्थालाई मात्र मध्यनजर गरेर नहुने बताउँदै बानियाँले भन्नुभयो–हामी लोकतान्त्रिक पार्टी भएकाले निर्वाचन प्रणाली हुनु कुनै ठूलो विषय होइन । सकेसम्म सहमतिमा जाऔं भन्ने हो । तर, राजनीतिमा कुन बेला के हुन्छ थाहा हुँदैन । त्यसैले हालको अवस्थामा पनि काँग्रेस संसदीय दलको नेताको विषय महत्वपूर्ण छ । केन्द्रलाई हेरेर हाल नै प्रदेशमा निराश हुनुपर्ने बेला आइनसकेको भन्दै बानियाँले प्रदेशको अंकगणितअनुसार कांग्रेसको सरकार बन्नसक्ने दाबी गर्नुभयो ।

आकाङ्क्षी नुवाकोटबाट निर्वाचित लामा पनि निर्वाचन प्रणाली भए पनि त्यसमा आफू खुसी साथ भाग लिने बताउनुहुन्छ । ‘पार्टीले जसरी भन्छ, म त्यसमै खुसी छु,’ लामाले भन्नुभयो ।
नेता चयन गर्ने तयारीका लागि हेटौंडामा कार्यक्रम गरेर प्रदेशका नवनिर्वाचित सांसद्हरुलाई पूर्वसन्ध्यामा हेटौँडा बोलाइएको बताउँदै लामाले भन्नुभयो–सम्भवत: सर्वसम्मतिमा नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय नेता चयन गरिनेछ ।

प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता चयनका लागि चन्द्र महर्जनको संयोजकत्वमा रहेको समितिले संसदीय दलको कार्यालय हेटौंडामा निर्वाचन गर्ने निर्णय गरेको छ । समितिले बुधबार दिउँसो २ देखि ३ बजेसम्मका लागि मतदानको समय तय गरेको छ । संसदीय दलको नेता निर्वाचनसम्बन्धि कार्यक्रमअन्तर्गत् मंगलबार दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिएको थियो ।

बुधबार विहान ८ देखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयनको समय राखिएको छ । सोही दिन विहान १०:३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारको मनोनयनउपर दाबीविरोधका लागि विहान ११ बजेदेखि ११:३० बजेसम्मको समय तय गरिएको छ ।

बुधबार दिउँसो १२ बजे दाबीविरोधउपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने छ । बुधबार दिउँसो १२:३० देखि दिउँसो १:३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने दिउँसो १:४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ  । २ बजेबाट मतदान सुरु गरिने छ ।