कैलालीमा नक्कली नोट र बाघको हड्डीसहित ५ जना पक्राउ

0
Shares

धनगढी । 

कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडिबुडीसहित पाँच जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ बसपार्क र १३ को राजपुर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन अगाडी नक्कली मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा एक हजारका चार नोटसहित चुरे गाउँपालिका–६ का ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनकाअनुसार अनुसन्धानका क्रममा एक हजार दरका थप १३८ नोटसहित अन्य चार जनालाई पक्राउ गरिएको थियो।

पक्राउ पर्नेमा राजपुरस्थित एस एस होटलमा डेरा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका–६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका–१० का ३० वर्षीय करनसिंह धामी, १९ वर्षीय टेकेन्द्र धामी र बडिकेदार गाउँपालिका–१ बस्ने ५० वर्षीय मोहन सिंह बोहरा रहेका छन्।

राजपुरमै डेरा गरेर बस्ने धामीको कोठा खानतलासी पलङ खटियाको सिरानि मुनी लुकाएर राखेको अवस्थामा १३८ थान नक्कली नोट, जेब्रा झोलामा बाघको जस्तो करीब साढे ५ किलो देखिने अस्थीपंजर हड्डी र प्लाष्टिक भित्र लुकाएको अवस्थामा प्रतिबन्धीत जडिबुडी पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।