सामाजिक सुरक्षाभत्ता हिनामिना गर्ने चारविरुद्ध आरोपपत्र दायर

0
Shares

 काठमाडौं । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दिक्तेल मझुवागढी नगरपालिका–४ मा सामाजिक सुरक्षाभत्ता हिनामिनामा संलग्न चारविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले खोटाङस्थित साविकको खाल्ले गाविसको रूपमा रहेको सो वडामा चार वर्षअघि सामाजिक सुरक्षाभत्ता वितरण गर्दा हिनामिनामा गरेको भनीत्यति बेला फरकफरक समयमा कार्यरत तीन जना वडा सचिवविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो । आयोगले मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्तिको हानि नोक्सानीको कसुर गरेको देखिएकाले जरिवानाको रकमको माग दाबी गरी मुद्दा हालेको थियो ।

आयोगका अनुसार ती कर्मचारीले सामाजिक सुरक्षाभत्ता वितरणमा दोहोरो पर्ने गरी, मानिस नै नभएको, मृत्यु भइसकेको, अभिलेख नै नभएको व्यक्ति तथा बसाइँसराइँ गरी अन्यत्र गएको व्यक्तिको समेत भत्ता वितरण गरेको भरपाई बनाई सामाजिक सुरक्षाभत्ता हिनामिना गरेको उजुरी परेको थियो । उजुरीको सम्बन्धमा अनुसन्धान हँुदा सो कार्यमा संलग्नहरूलाई कसुर सजाय र बिगो असुलउपरको मागदाबी लिई आरोपपत्र दायर गरिएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

आयोगका अनुसार तत्कालीन वडा सचिव आचार्यले आर्थिक वर्ष २०७४÷०७५ को पहिलो चौमासिक किस्तामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नौ जनाको नाममा सामाजिक सुरक्षा भत्ता रकम निकासा गरी÷गराई लाभग्राही नै नहुँदासमेत निजहरूको नाम देखाई खर्च लेखी ५५ हजार २ सय रुपियाँ हिनामिना गरेको थियो । सचिव आचार्यलाई सोही बराबरको रकम बिगो कायम गरी असुल उपर गर्ने मागदाबी गरेको छ ।
अर्का वडा सचिव श्रेष्ठले आर्थिक वर्ष २०७४-०७५ को दोस्रो किस्तादेखि आर्थिक वर्ष २०७५-०७६ को दोस्रो किस्तासम्म ३० जनाको नाममा सामाजिक सुरक्षा भत्ता रकम निकासा गरी-गराई लाभग्राही नै नहुँदासमेत निजहरूको नाम देखाई खर्च लेखी.१ लाख ७७ हजार ६ सय रुपियाँ हिनामिना गरेको थियो ।

‘निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्तिको हानिनोक्सानीको कसुर गरेको देखिएकोले वडा सचिव श्रेष्ठबाट असुलउपर हुनसमेत मागदाबी लिइएको छ’ –आरोपपत्रमा भनिएको छ । अर्का वडा सचिव पवन श्रेष्ठले आर्थिक वर्ष २०७५-०७६ को तेस्रो किस्तामा उक्त वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सात जनाको नाममा सामाजिक सुरक्षा भत्ता रकम निकासा गरी-गराई लाभग्राही नै नहुँदा समेत निजहरूको नाम देखाई खर्च लेखी ३५ हजार २ सय रुपियाँ हिनामिना गरेकाले निजबाट असुलउपर हुन समेत मागदाबी लिइएको छ ।