क्याम्पस पढ्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो

0
Shares

–१७ गतेबाट वितरण हुँदै
–दैनिक सयले पाउने
काठमाडौं ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले दुर्गम क्षेत्रका सरकारी वा सामुदायिक क्याम्पसमा संस्थामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ । केन्द्रले यही १७ गतेबाट चुलो वितरण गर्न लागेको हो ।

छनोट मापदण्डबमोजिम २४ दुर्गम जिल्लाबाट छनोट भएका २ हजार ८ सय ६५ विद्यार्थीलाई चुलो वितरण गर्ने भएको हो । केन्द्रका उपकार्यकारी निर्देशक नवराज ढकालले दुर्गम घर भएर काठमाडौं उपत्यकामा घर भाडामा लिई राजधानीका क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्न लागेको जानकारी दिनुभयो ।

विद्युतीय चुलो पवद्र्धन गर्ने उद्देश्यले सम्बन्धित विद्यार्थीबाट नेपाली नागकिताको प्रतिलिपि, शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिसका आधारमा चुलो वितरण गर्न लागेको हो ।केन्द्रले आह्वान गरेको सूचनाका आधारमा आवेदन दिएका विद्यार्थीलाई पुस १७ गतेबाट चुलो वितरण गर्न लागेको हो । केन्द्रले आइतबारदेखि बिहीबार बिहान ११ देखि ४ बजेसम्म चुलो वितरण गर्ने भएको छ । केन्द्रले गत वर्ष जारी गरेको नवीकरणीय ऊर्जा अनुदान नीति–२०७८ अनुसार चुलो वितरण गर्न लागेको जनाएको छ ।

केन्द्रका उपकार्यकारी निर्देशक ढकालले गत वर्ष चुलो नआएका कारण यो वर्ष वितरण गर्न लागेको जानकारी दिनुभयो । सरकारले सन् २०३० सम्म सबै जनतालाई स्वच्छ, भरपर्दो र सर्वसुलभ रूपमा नवीकरणीय ऊर्जा उपलब्ध गराउने दीर्घकालीन लक्ष्यअनुसार चुलो वितरण गर्न लागेको केन्द्रले जनाएको छ ।केन्द्रले जारी गरेको नीतिको अनुसूची–१ अनुसार अति दुर्गम र दुर्गम मानिएका रूकुम पूर्व, रूकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, दैलेख, बाजुरा, बझाङ र दार्चुलाका घर भई उपत्यकाका घरमा भाडामा बस्ने र उपत्यकाकै सामुदायिक र सरकारी क्याम्पसमा अध्ययन गर्ने सबै विद्यार्थीले निःशुल्क विद्युतीय चुलो पाउनेछन् ।

अनुसूची अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, ताप्लेजुङ, संखुवासभा, दोलखा, रसुवा, गोरखा, सिन्धुपाल्चोक र धादिङ जिल्लाका ‘क’ र ‘ख’ वर्गमा पर्ने दुर्गम क्षेत्रका विद्यार्थीले विद्युतीय चुलो पाउनेछन् । केन्द्रका उपकार्यकारी निर्देशक ढकालले विद्युतीय चुलो पाउने सबै विद्यार्थीको नाम सार्वजनिक गरिसकेको बताउनुभयो ।

केन्द्रले पुस १७ देखि माघ २ गतेसम्म केन्द्रको मुख्यालयबाट चुलो वितरण गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार दैनिक सय जनाको दरले चुलो वितरण गर्ने तालिका रहेको जानकारी गराउँदै उपकार्यकारी निर्देशक ढकालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘केन्द्रले आह्वान गरेको सूचनाको आधारमा मापदण्डको आधारमा विद्यार्थी छनोट गरेका हौं ।’