देउवा र निकटस्थहरूप्रति आलोचनाको ओइरो

कार्यकर्ता तहमा विशेष महाधिवेशनको बहस

0
Shares

 काठमाडौं । 

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका निकटस्थ नेताहरूप्रति चौतर्फी आलोचना भएको छ । पत्नी आरजु राणा देउवा र केही विश्वास पात्रकै कारण कांग्रेसले सत्तामा सबै पद गुमाएको भन्दै सामाजिक सञ्जालमा नेताकार्यकर्ताले देउवाको आलोचना गरेका हुन् ।

पार्टीका जिम्मेवार नेता कार्यकर्ताले नै देउवासहित आरजु राणा, डा. प्रकाशशरण महत, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, उहाँकी पत्नी मञ्जु खाँण, नेताहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह र एनपी साउदसमेलाई लक्षित छरपष्ट गालीको वर्षा भएको छ । उनीहरूकै कारण देउवालाई उचालेर राज्यका सबै संरचनामा पार्टीलाई शून्यतातर्फ झारेको उनीहरूको आरोप छ । नेता गुरुराज घिमिरेले त पार्टी सभापति देउवाले संसदीय दलको नेता सभापतिबाटै नैतिकताका हिसाबले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

आम निर्वाचन २०७९ को सबै परिणाम आएपछि नयाँ सरकार गठनका लागि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताबीच भएको चरणबद्ध छलफलमा आलोपालो प्रधानमन्त्री बन्दा पहिलो पालोमा को भन्ने विषयमा कुरा नमिल्दा कांग्रेसले सबै पद गुमाएको छ । खास गरी कांग्रेस सभापति देउवाले र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिलो पालो आफू नै प्रधानमन्त्री बन्नुपर्ने अडान राख्नुभएको थियो । देउवाले दाहाललाई पहिलो पालो प्रधानमन्त्री दिन नमान्दा आइतबार दाहाल एकाएक कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्न पुग्नुभयो र प्रधानमन्त्रीमा नियुक्त हुनुभयो ।

यो घटनालाई लिएर कांग्रेसका नेता र कार्यकर्ताले सामाजिक सञ्जालमा देउवाको आलोचना गरेका छन् । देउवाले आफ्नो व्यक्तिगत स्वार्थ र महत्वकांक्षाकाले कांग्रेसको दीर्घकालीन हित र भविष्य बलि चढाएको कांग्रेसका नेता कार्यकर्ताको ठहर छ ।पार्टीका सबै भ्रातृ तथा सुभेच्छुक संगठनका नेताहरू, पार्टी मातहतका प्रदेश तथा जिल्ला स्तरीय नेता कार्यकर्ताहरूसमेतले तत्काल पार्टीको विशेष महाधिवेशनको माग गरेका छन् । नेपाली कांग्रेसका कतिपय केन्द्रीय सदस्यहरूले तत्काल बैठक बोलाएर यो विषयमा निर्मम समीक्षा हुनुपर्ने माग गरेका छन् । कतिपय देउवा निकटका केन्द्रीय सदस्यहरूले समेत देउवाले प्रधानमन्त्रीको लोभमा गठबन्धन भत्काउन र सबै संरचनामा कांग्रेसको उपस्थिति शून्य बनाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेता रामहरि खतिवडाले सञ्चारमाध्यमबाटै नेतृत्वले समयमा सही निर्णय लिन नसक्दा पार्टी उत्तानो परेको बताउनुभएको छ । उहाँले यस विषयमा सार्वजनिक रूपमा नेताहरूलाई गाली गर्नुभन्दा पनि पार्टीको बैठक बोलाएर निर्मम समीक्षा गरिने बताउनुभयो । नेतृत्व र स्त्रीहठका कारण गत निर्वाचनमा जनतामाझ गरेका सबै बाचाहरू एकैचोटि तहसनहस भएको, पार्टीले सबै संरचनाहरू एकै धक्कामा गुमाउनुपरेको भन्दै शनिबारदेखि सामाजिक सञ्जालमा देउवा, उहाँकी पत्नी र देउवा निकटका केही नेताहरूप्रति लक्षित आलोचना अझै साम्य भएको छैन । कतिपय महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको जोडदार मागसमेत गरेका छन् ।

देउवाले आफू नै प्रधानमन्त्री बन्नुपर्ने अडान नछोड्दा कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पदहरू गुमाएको छ । अब ती सबै पदहरूमा एमालेसहितको गठबन्धनमा भागबण्डा हुनेछ । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी मानिएको कांग्रेसमा देउवाले एकल निर्णय गरेर पार्टीलाई झन् कमजोर बनाएको भन्दै देउवाको आलोचना गरिएको छ । एक कांग्रेस नेताका अनुसार आइतबार बिहान भएको गठबन्धन बैठकमा देउवाले दाहाललाई प्रधानमन्त्री पद नदिने अडान राख्नुभएको थियो । तर पछि दाहाललाई फोन गरेर प्रधानमन्त्री दिने बताउनुभएको थियो ।

त्यति बेला देउवा ढिलो हुनुभएको थियो । दाहालले एमालेसँग गठबन्धन गरिसक्नुभएको थियो । २०७८ असार २९ मा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत गरेर पाँच दलीय गठबन्धन बनेको थियो र देउवालाई प्रधानमन्त्री बनाएको थियो । उक्त गठबन्धन १५ वर्षसम्म निरन्तर जाने भनेर नेताहरूले प्रतिबद्धता जनाएका थिए । तर, १८ महिना पनि नपुग्दै गठबन्धन भत्कियो । कांग्रेससँगको गठबन्धनमा रहेको माओवादी फुत्केर एमालेसँग गठबन्धन गर्न पुगेको छ । जसमा सात राजनीतिक दल र स्वतन्त्रसमेत गरेर १६९ सांसद सामेल छन् र अब उनीहरूबीच नै ती पदहरूको भागबण्डा हुनेछ । प्रधानमन्त्री दाहाल र तीन उपप्रधानमन्त्रीसमेतले आइतबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

देउवाको हठले कांग्रेस सत्ता राजनीतिबाट अहिलेलाई बाहिरिएको छ । १८ महिना सत्ता बाहिर रहेको एमाले फेरि सत्तामा आएको छ । तर, पनि निर्वाचनमा गठबन्धन गरेर गएको कांग्रेसलाई हाललाई भने घाटा भएको छ । राजनीतिमा हरेक सम्भावनाको खेल रहे पनि अहिलेलाई भने कांग्रेस संसद्मा सबैभन्दा ठूलो दलका रूपमा प्रतिपक्षमा बस्न पुगेको छ । राजनीतिमा चतुर मानिएका देउवाको अहिलेको निर्णयले भने उहाँ अपरिपक्व र कच्चा खेलाडी रहेको भन्ने पुष्टि हुन पुगेको कांग्रेसका नेता कार्यकर्ताको टिप्पणी छ । देउवाका समर्थकहरू भने कांग्रेसलाई कुनै घाटा नभएको भन्दै बताउँदै आएका छन् ।

२०७४ मा प्रत्यक्ष निर्वाचनमा २३ सिट जितेको कांग्रेसले देउवाकै कारण अहिले ५७ सिट जितेको दाबी गर्छन् । तर, देउवाले दाहाललाई प्रधानमन्त्री नदिँदा स्वयं देउवालाई समेत राजनीतिक घाटा भएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद प्रतिमा गौतमले गठबन्धन जोगाउन नसकेको विषयमा पार्टीको केन्द्रीय समितिको बैठक बोलाएर निर्मम समीक्षा गर्नुपर्ने माग राख्नुभएको छ । सामाजिक सञ्जालमा देउवाको राजीनामासमेत माग्न थालिएको छ भने काठमाडौंका हरेक चोकचोकमा नेताकार्यकर्ताले पार्टीको विशेष महाधिवेशनको बहस चलाएका छन् ।