पार्टी जन्माएको पाँच महिनामै शक्तिशाली मन्त्रालय

0
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो चरणमै राज्यको शान्ति सुरक्षाको पाटो हेर्ने प्रधानमन्त्रीपछिको सबैभन्दा महत्वपूर्ण गृह मन्त्रालय हात पारेको छ । पार्टी निर्माणको पाँच महिनामै सो पार्टीले देशको सबैभन्दा महत्वपूर्ण मन्त्रालय प्राप्त गरेको हो । गत साउनमा दर्ता गरेको रास्वपाले मंसिर ४ मा भएको निर्वाचनमा भाग लिएर ७ प्रत्यक्षसहित २० सिट प्राप्त गरेको थियो ।

कांग्रेससहितको गठबन्धनमा सामेल नेकपा माओवादी केन्द्रले साविककै गठबन्धनलाई निरन्तरता दिने भने पनि शक्ति बाँडफाँटका सहमति जुट्न नसक्दा माओवादीले गठबन्धन तोडेर एक्कासि कांग्रेस र नेकपा एसबाहेकका एमालेलगायत बाँकी दलहरू पार्टीसँगको सत्ता सहकार्य गर्न पुगे पनि रास्वपाका सभापति रविले रोजेको मन्त्रालय पाउनुभएको हो ।

उहाँको बटमलाइन नै उपप्रधान तथा गृह मन्त्रालयको थियो । चितवन क्षेत्रनम्बर ४ बाट निर्वाचित लामिछाने ६ महिना अघिसम्म टेलिभिजन कार्यक्रम प्रस्तोताको भूमिकामा रहेर नेताहरूलाई व्यापक आलोचना गर्दै आउनुभएको थियो ।देशमा भएको भ्रष्टाचार, अनियमितता बेरोजगार र वैदेशिक रोजगारीमा अपलत्र परेका नागरिकहरूको उद्धारका लागि खरोरूपमा उत्रने पत्रकारको छवि बनाउनुभएको थियो ।

चुनावको समयमा ठूला दलका पुराना नेताहरू कसैले पनि चुनाव जित्नु नहुने तर्क गर्दै आएका लामिछाने उहाँसँगै चुनाव लड्ने आँट नगरेर गोरखा भागेका प्रचण्डकै मन्त्रीमण्डलमा गृहमन्त्रीजस्तो शक्तिशाली मन्त्रालयको बागडोर सम्हाल्न सफल हुनुभएको छ । आम नागरिकले आशा गरेका लामिछानेको आगामी कार्यशैली कस्तो हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।