काठमाडौँ।
लागू औषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ७ जना चालक पक्राउ परेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा शनिबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागूऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोलिले चेकजाँच गरेका थिए।
चेकिङ्गका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ७ जना चालक भक्तपुरको जगातीबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ५ जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक रहेका छन्।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
सवारी साधनका चालकहरूले लागूऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टिएचसि किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई विगत लामो समयदेखी चेकजाँच गरी कारबाही गर्दै आएको ट्राफिक प्रहरीले पछिल्लो समय लागूऔषध सेवन गरी सवारी साधन चलाउने चालकको सङख्या समेत बढेपछी कारबाहीलाई तीव्रता दिएको हो ।
मादक पदार्थ र लागूऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने भएकाले मादक पदार्थ र लागूऔषध सेवन गरी सवारी साधन नचलाउ प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले चालकलाई अनुरोध गरे।
प्रतिक्रिया