राजनीतिमा रुपान्तरणको बहस चलेको छ । रुपान्तरणको बहसमा पुस्तान्तरण र हस्तान्तरणको प्रश्न जोडिन पुगेको छ । रुपान्तरण पुस्तान्तरणबाट हुन्छ कि हस्तान्तरणबाट ? पुस्तान्तरणको बहसबाट युवाहरु खुशी छन्, उमेरले ज्येष्ठ भैसकेकाहरुले भने चुनौती ठानेका छन् ।
युवाहरुको बुझाइ छ– पुस्तान्तरणले युवाहरुलाई स्थापित गर्छ । ज्येष्ठहरुको बुझाइ पनि युवाहरुको भन्दा भिन्न छैन– पुस्तान्तरणले ज्येष्ठहरुलाई विस्थापित गर्छ । स्थापित हुने आशामा रहेकाहरु उत्साहित छन् । विस्थापन हुने बुझाइ भएकाहरु स्वाभाविक रुपमा राजनीतिमा असुरक्षित महसुस गर्न थालेका छन् ।नेपालको राजनीतिले विगत लामो समयदेखि रुपान्तरणको अपेक्षा गरेको छ । अब त्यो रुपान्तरण धिमे गतिमा होइन छलाङ मार्ने रुपान्तरण हुनुपर्दछ । रुपान्तरण हुुनुपर्छ भन्नेमा कसैको विमति छैन, तर रुपान्तरण राजनीतिको पुस्तान्तरणबाट सम्भव छ कि हस्तान्तरण नै हुनुपर्ने हो भन्नेचाहिँ आजको मुख्य बहसको विषय बनेको छ ।
पुस्तान्तरण एक पुस्ताबाट अर्को पुस्तामा सार्ने प्रक्रिया वा दुई पुस्ताबीचको भिन्नता हो । पुस्तान्तरणले व्यक्ति परिवर्तनभन्दा बढी सोच, प्रक्रिया, विचार र शैलीमा परिवर्तन खोज्दछ । तर हस्तान्तरण एक व्यक्तिबाट अर्को व्यक्तिमा जिम्मेवारीको नामसारी मात्र हो । हस्तान्तरणले व्यक्ति परिवर्तनमा जोड दिन्छ । एउटासँग भएको अधिकार अर्कोमा सार्ने काम हुन्छ । हस्तान्तरणमा सोच, शैली, विचार र प्रक्रियामा परिवर्तन नहुन पनि सक्छ । पुस्तान्तरणमा व्यक्ति परिवर्तन अनिवार्य छैन, तर हस्तान्तरणमा व्यक्ति परिवर्तन अनिवार्य छ ।
देशको राजनीतिक क्रियाकलापप्रति युवावर्गको निराशा छ । राजनीतिमा देखिएको निराशालाई आशामा बदल्ने मोडमा राजनीति पुगेको छ । त्यो भनेको राजनीतिमा रुपान्तरण नै हो । तर कसरी ? नेपालको वर्तमान राजनीतिले के अपेक्षा गरेको कुन विधिको रुपान्तरण हो ? पुस्तान्तरणको माध्यमबाट हुने रुपान्तरण कि हस्तान्तरणबाट हुने रुपान्तरण ?राजनीतिले पुस्तान्तरण खोजेको हो कि हस्तान्तरण ? निराशालाई आशामा बदल्न पुस्तान्तरणले हुन्छ कि हस्तान्तरण नै चाहिन्छ ? राजनीतिमा परिवर्तन ल्याउन व्यक्ति परिवर्तन गर्ने कि मनस्थिति परिवर्तन गर्ने ? अहिले राजनीतिमा हालिमुहाली गरेकाहरुको विचार परिवर्तन ल्याउने कि, होइन उनीहरुबाट सम्भव छैन भन्दै मुहार नै परिवर्तन गराउने ? राजनीतिमा पुस्तान्तरण आवश्यक छ भने त्यो उमेरले हुन्छ कि मनस्थितिले ? अनि वृद्ध उमेरले हो कि यथास्थितिले ? यस्ता बग्रेल्ती प्रश्न र यसमा पक्ष–विपक्षका बहस राजनीतिक मैदानमा प्रशस्तै छन् ।
पुस्तान्तरणको बहस पार्टीभित्र जति छ, त्योभन्दा बढी सामाजिक सञ्जालमा छ । सञ्चारमाध्यममा अझ जबर्जस्त छ । जबर्जस्त सामाजिक सञ्जालमा र समाचार माध्यमले उठाएको यो बहस चाहेर नचाहेर पार्टीमा समेत प्रवेश गरेको छ । तर यो बहस अघिल्ला पुस्ताका नेताहरु सुन्नै चाहँदैनन् । बहस भैहाले युवाहरुबीच मात्र हुन्छ । युवाहरुबीच पनि कोठे छलफलमा सीमित छ, चिया गफको विषय भएको छ, भाषणमा देखिएको छ । तर कुनै पनि पार्टीको औपचारिक एजेन्डामा छैन ।
पुस्तान्तरणको बहस चल्दा सबैको बुझाइ के छ भने, अघिल्लो पुस्ताले राजनीतिको साँचो पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । हस्तान्तरणको कुरा उठेपछि अघिल्लो पुस्ताका नेताहरुले भन्ने एउटै कुरा हो– ‘युवा पनि उमेरले हुने कुरा हो र ? युवा भनेको त विचार हो ।’ अघिल्ला पुस्ताको यो बुझाइमा सत्यताको केही अंश अवश्य छ । तर महत्वपूर्ण कुराचाहिँ लामो समयदेखि यथास्थितिमा रहेको व्यक्तिको मनस्थिति कसरी रुपान्तरित हुन्छ होला भन्ने पनि हो ।
अनुहार परिवर्तन गर्दैमा सोच, विचार, व्यवहार, मनस्थिति र शैलीमा परिवर्तन हुँदैन भनिरहँदा यथास्थितिमा बसेको मान्छेको चाहिँ सोच, विचार, व्यवहार, मनस्थिति र शैलीमा सजिलै कसरी परिवर्तन आउन सक्ला त भन्ने प्रश्न झनै पेचिलो बनेर आउँछ । यो प्रश्नसँगै अनुहार पनि परिवर्तन आवश्यक छ कि भन्ने प्रश्न पनि अनुपयुक्त नहोला । यावत् प्रश्नहरुले पुस्तान्तरण, हस्तान्तरण र रुपान्तरणको बहस झनै पेचिलो बनेको छ ।बहस चल्दै छ, तर ठूला दलका ठूला नेता भने चाहे पार्टीमा होस् वा सरकारमा आफ्नो पद छाड्ने मुडमा छैनन् । कांग्रेसलगायतका केही दलमा युवाहरु जुर्मुराए पनि कम्युनिस्ट पार्टीमा युवाहरुले कुण्ठा मात्र पालेको देखिन्छ । चित्त नबुझे पनि उनीहरु मुख खोल्ने मुडमा छैनन् । अनुशासनको डण्डा उनीतिर तेर्सिएको छ । त्यसमा ठूलो नेताको कोपभाजनमा परिने पनि उत्तिकै डर छ । त्यत्रो जोखिम कसले र किन मोल्ने ?
पुस्तान्तरणको बहस जति चलेको छ, तर व्यवहारमा त्यही गतिमा पाइला चलेको छैन । त्यसैले त पुस्तान्तरणमा दलहरुले ध्यान नदिएको कारण केही वैकल्पिक दलहरु उदाइरहेका छन् । पुराना पार्टीमा पुस्तान्तरणको गुञ्जायस नदेखेर नै मतदाताले पनि वैकल्पिक पार्टीतर्फ मत विभाजन गरेका हुन् । वैकल्पिक पार्टी उदाउनु परम्परागत पार्टीहरु जो पुस्तान्तरण चाहन्नन्, तिनीहरुका लागि खतराको घण्टी हो ।वैकल्पिक राजनीतिमा अनुहार परिवर्तन पनि आवश्यक छ । तर अनुहार परिवर्तनभन्दा बढी सोच, विचार, मनस्थिति, शैली र व्यवहार परिवर्तन आवश्यक छ । व्यवस्था र व्यक्ति परिवर्तनले मात्र केही हुन्न, देशको मुहार परिवर्तनका लागि राजनीतिमा रुपान्तरण आवश्यक छ, राजनीतिमा परिवर्तनका लागि व्यक्तिको प्रवृत्ति परिवर्तन आवश्यक छ भन्ने कुरा विगतका कतिपय अभ्यासहरुले देखाइसकेका छन् ।
विगतमा हामीले पटक–पटक व्यवस्था परिवर्तन ग¥यौँ । व्यवस्था परिवर्तन गर्दा रुपान्तरणको कुरा सँगसँगै ग¥यौँ । तर व्यवहारमा रुपमान्तरण गर्न सकेनौँ । त्यही भएर पनि व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको हो । राजनीतिमा आवरण परिवर्तन भए पनि भित्री रुप परिवर्तन भएन । रुपमा परिवर्तन भएर पनि सारमा उस्तै रह्यो । व्यवस्थाको नाम परिवर्तन भयो, शासकहरु परिवर्तन भए, तर शासकको शैली परिवर्तन भएन । त्यसैले हामीले विकासको छलाङ मार्न सकेनौँ । अब ढिला भैसक्यो । अझै ढिला गर्ने हो भने थप क्षति पनि पुग्न सक्छ । चरम निराशा उत्पन्न हुन सक्छ । एकपटक अलि जिम्मेवार भएर सोच्ने बेला भैसकेको छ ।
राजनीति गर्नेले सोच, विचार, शैली, व्यवहार र संस्कार परिवर्तन गरौँ । यो परिवर्तन अहिले भैरहेकाबाट सम्भव छ भने त्यही गरौँ । यदि अहिलेका अनुहारबाट सम्भव छैन भने अनुहार पनि परिवर्तन गरौँ । देश निर्माणमा उपयुक्त विकल्पचाहिँ विगतको अनुभव र वर्तमानको जोशलाई मिश्रण गर्नुु हो । देश बनाउन विगतको अनुभव, वर्तमानको जोश र भविष्यको लक्ष्य सबै चाहिन्छ । रुपान्तरणको विकल्प छैन । रुपान्तरण ढिला गर्नु भनेको पलायनको बाटो रोज्नु हो । रुपान्तरणका लागि पुस्तान्तरण र पुस्तान्तरणका लागि हस्तान्तरण नै आवश्यक छ भने पनि अब ढिला गर्नुहुँदैन ।
प्रतिक्रिया