‘म मन्त्री बन्नका लागि शेरबहादुरजी प्रधानमन्त्री ’

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आफू मन्त्री बन्नका लागि पनि पून: शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्नुपर्ने बताउनुभएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले पार्टी सभापति देउवा नै अब पनि संसदीय दलको नेता हुने बताउनुभयो ।

उहाँले आफ्ना दाजुसमेत रहेका नेता शेखर कोइराला संसदीय दलको नेता उठेमा सोच्नुपर्ने नभए आफू एक पटक मन्त्री हुनका लागि पनि संसदीय दलको नेता स्वभाविक रूपमा देउवा नै हुने बताउनुभयो ।

‘मेरो दृष्टिकोणमा देउवाले नै संसदीय दलको नेतृत्व गर्नुपर्छ । मेरो दाइ उठेपछि म अलि अप्ठ्यारोमा पर्छु,’ कोइरालाले भन्नुभयो, ‘दाइले मत पाउनुहुन्छ कि हुन्न भनेर नसोध्नुस्, म सोचेर मत दिन्छु ।’ तर यस पटक म आफै मन्त्री हुनका लागि पनि देउवा नै प्रधानमन्त्री हुनुपर्छ जस्तो लाग्छ ।’

आफू एकचोटी मन्त्री हुनुपर्छ भनेर प्रधानमन्त्री देउवासँग प्रस्ताव राखेको र यसपालि मन्त्री बन्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । ‘मन्त्री बन्न मैले शेरबहादुर जीलाई भनेँ– चार–चार चोटी जितेँ, एकचोटी पनि मन्त्री भएको छैन । हुनत मेरो क्षेत्रमा खरबौंको बजेट भएको छ। मन्त्री नै हुनुपर्ने आवश्यकता छैन,’ उनले भने, ‘तर मलाई के लाग्छ भने मन्त्री बनेर अनुभव त प्राप्त गर्नुपर्‍यो। त्यसैले मन्त्री बन्छु भन्ने अविलासा त छ ।’