नेपाल प्रेस इन्ष्टिच्यूटमा नयाँ कार्यसमिति चयन



काठमाडौं ।

पत्रकारिता प्रशिक्षणमा नेपालकै जेठो संस्था नेपाल प्रेस इन्ष्टिच्यूटको आइतबार सम्पन्न साधारणसभाले वरिष्ठ पत्रकार तीर्थ कोइरालाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

पत्रकारहरु नीता सापकोटा उपाध्यक्ष, लक्ष्मण उप्रेती महासचिव, अमिका राजथला कोषाध्यक्ष रहेको कार्यसमितिमा तपानाथ शुक्ल, मण्टेश्वरी राजभण्डारी, कपिल काफ्ले, मोहन नेपाली, गंगादेवी गुरुङ, अरुण पौडेल, वसन्त रुपाखेती र श्रीमन शर्मा सदस्य निर्वाचित हुनुभएको छ ।

निर्वाचनपछि निवर्तमान अध्यक्ष नीलकण्ठ उप्रेतीले नवनियुक्त अध्यक्ष कोइरालालाई अभिलेख पुस्तिका हस्तान्तरण गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ ।

साधारणसभामा इन्ष्टिच्यूटका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकारद्वय पी खरेल तथा ध्रुवहरि अधिकारी, संविधानविद् तथा मिडिया कानुनका विद्वान काशीराज दाहाल, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं लगायतका व्यक्तित्वहरु संस्थाको सक्रिय साधारण सदस्यका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

२०४१ सालमा वरिष्ठ पत्रकारद्वय भारतदत्त कोइराला र गोकुल पोखरेलको अगुवाइमा खुलेको इष्टिच्यूटले सञ्चालन गरेको तालिमबाट पाँच हजारभन्दा बढी व्यक्ति पत्रकार बनिसकेका छन् ।

यसको लोकप्रिय कार्यक्रम १० महिने पत्रकारिता तालिम पाएका व्यक्ति आज मुलुकका सयौं मिडिया संस्थाको महत्वपूर्ण जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्