साढे दुई वर्षभित्रै संसद् विघटन !



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले साढे दुई वर्षभित्रै प्रतिनिधिसभा विघटन हुने दाबी गरेका छन् ।

आज (आइतबार) राप्रपा नेपाल काठमाडौंले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले विद्यमान राजनीतिक संरचनाभित्र रहेका त्रुटिहरुका कारण आगामी दिनमा राजनीतिक अस्थिरता र अराजकता अझै बढ्दै जाने र नवगठित प्रतिनिधिसभा दुई अढाई वर्षभित्रै दुर्घटनामा पर्न सक्ने खतरा रहेको बताए ।

निर्वाचनमा निराशाजनक परिणामका बाबजुद राप्रपा नेपालले अवलम्बन गरेको राष्ट्रियता लोकतन्त्र सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा आधारित सम्बद्र्धनवादको महत्व, औचित्य र आवश्यकता नेपाली राजनीतिमा अद्यापि टड्कारो रूपमा रहेको उनको भनाइ थियो ।

थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर पनि देशको विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । त्यही नै राष्ट्रनिर्माणको उपयुक्त बाटो हो भन्ने राप्रपा नेपालको मान्यताको सर्वकालिक महत्व रहेको दाबी गरे ।

उनले राप्रपा नेपाल केवल एउटा चुनावका लागि खडा भएको चुनाव परिचालन समिति नभएको दाबी गर्दै राप्रपा नेपाल लामो राजनीतिक यात्रामा हिँडेको राष्ट्रवादी शक्ति भएको बताए । निर्वाचन अत्यन्त महंगो भएको तथा चुनावमा देखिएका विकृति र विसंगतिका कारण संसदीय व्यवस्थाप्रति नै वितृष्णा बढेको चर्चा गर्दै थापाले देशमा धर्म परिवर्तनको डढेलो डरलाग्दो रूपमा बढिरहेको अवस्थामा यसपटकको निर्वाचन परिणामबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षाको पक्षमा आवाज कमजोर हुँदै जानु चिन्ताको विषय भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्