भयावह बन्दै उपत्यकामा सवारी दुर्घटना

पाँच महिनामा ७६ जनाको मृत्यु, १०५० गम्भीर



काठमाडौं । 

उपत्यकामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । बितेको ५ महिनाभित्र ७६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । मृत्यु भएकामध्ये सबैभन्दा बढी मोटरसाइकल र पैदलयात्रु रहेका थिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार साउनदेखि मंसिर महिनाको अवधिमा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका ७६ मध्ये करिब दुई दर्जन जति मोटर साइकल र पैदलयात्री थिए ।

प्रहरी कार्यालयको तथ्यांकअनुसार मंसिरमा सबैभन्दा बढी २० जनाको मृत्यु भएको थियो । असोजमा १९, कार्तिकमा १६, साउनमा १२, र भदौमा ९ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । सोही अवधीमा गम्भीर घाइते हुनेको संख्या १ हजार ५० रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साउनमा २४, भदौमा २२, कातिकमा २१, असोजमा १९ र मंसिरमा १९ जना सवारी दुर्घटनामा गम्भीर घाइते भएका थिए । उक्त अवधिमा कुल ३ हजार ८ सय २६ वटा सवारी दुर्घटना भएको थियो । तीमध्ये साउनमा ९ सय २८, भदौमा ९ सय ८२, मंसिरमा ७ सय ६०, असोजमा ७ सय ४२ र कार्तिकमा ६ सय ८४ दुर्घटना भएका थिए ।

प्रहरी कार्यालयले मादक पदार्थ सेवन (मापसे)मा कडाई गरेपछि दुर्घटनामा कमी आएको जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी भट्टले उपत्यकाका विभिन्न नाकामा चेकिङको व्यवस्था गरेको कारण दुर्घटनामा कमी आएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘हरेक दिन बिहान, दिउँसो र बेलुकीको समयमा सबै किसिमका चेकजाँचलाई कडाइ गर्ने भएकाले तुलनात्मक रूपमा दुर्घटनामा कमी आएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत १ हजार १ सय १३ जना प्रहरीले दैनिक सवारी सुरक्षा, चेकजाँच र अनुगमनमा ध्यान केन्द्रित गरेको कारण दुर्घटनमा कमी आएको हो ।’तथ्याङकअनुसार पाँच महिनाको अवधिमा ३ हजार ३ सय ८० जना समान्य घाइते भएका छन् ।

साउनमा ७ सय ८७, भदौमा ७ सय ७८, कार्तिकमा ५ सय ९७, मंसिरमा ५ सय ८५ र असोजमा ५ सय ४२ जना घाइते भएका थिए ।ट्राफिक प्रहरी कार्यालयले दुर्घटनाको कारणबारे सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ । पछिल्लो समय यात्रुले जथाभावी बाटो काट्दा हुने दुर्घटनाको संख्या बढ्दै गएको प्रवक्ता एवं एसएसपी भट्टले जानकारी दिनुभयो । उपत्यकामा सवारी चापको कारण दुर्घटना बढ्दै गएको प्रहरीको भनाइ छ ।

ट्राफिक प्रहरीले पुस १ गते एकैदिन सवारी नियम उल्लंघन गर्ने ३ हजार ८ सय ७५ जनालाई कारबाही गरेको छ । मापसेमा २ सय ४४, लेन उल्लंघनमा १ सय २९, रेडलाइट ४३, हर्न १ सय ११, नम्बर प्लेट ५३ र अन्य ३ हजार २ सय ९५ गरी ३ हजार ८ सय ७५ सवारी साधनले सवारी नियम उल्लंघन गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले सवारी चालकले सवारी नियम र शर्त पालना नगरेको कारण ६० वटा सवारी अनुमतिपत्र निलम्बन गर्न यातायात व्यवस्था विभागमा पठाएको छ ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने शर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यस्ता चालकको अनुमतिपत्र निलम्बन गर्न यातायात व्यवस्था कार्यालयलाई सिफारिस गरिएको ट्राफिक प्रहरी पवक्ता भट्टले बताउनुभयो ।

प्रहरीले ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग सिफारिस पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्