संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न देउवाको निर्देशन

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई निर्देशन दिनुभएको छ । देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई शनिबार बालुवाटारमा बधाई दिँदै सो निर्देशन दिनुभएको हो ।

देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुसभयो । उहाँले कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढ्न आफूहरूले चाहेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री कार्कीले भन्नुभयो– ‘प्रधानमन्त्रीले संसद्मा, प्रतिनिधिसभामा सबैलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नुभएको छ । अरू राष्ट्रिय राजनीतिको बारेमा गठबन्धन जारी छ । गठबन्धनलाई जनताले अनुमोदन गरेका छन । र, चाँडै नै गठबन्धनको बैठक बसेर अरू कुराहरूको निर्णय हुनेछ । गठबन्धनकै नेतृत्व सरकार बन्छ ।

हामी सबैलाई समेटेर राष्ट्रिय एकताका साथ अघि बढ्न चाहन्छौं ।’मन्त्री कार्कीले चाँडै नै सत्तारुढ गठबन्धन दलको बैठक बस्ने र सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले सत्तारुढ गठबन्धनले निर्णय गरेपछि मात्रै सरकार गठनबारे आफूले केही भन्न सक्ने पनि बताउनुभयो ।