शैक्षिक संस्थामा राजनीति हस्तक्षेप गर्नुहुँदैन् : प्रधानमन्त्री देउवा

0
Shares

काभ्रे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रबुद्ध शैक्षिक केन्द्र, विश्व विद्यालयहरुमा राजनीतिक हस्तक्षेप मुक्त भै स्वतन्त्र तरिकाले अध्ययन अनुसन्धान गर्ने केन्द्र हुनुपर्ने बताएका छन् । विश्व विद्यालय भनेको ज्ञान, सीप र लुकेको प्रतिभालाई प्रस्फुटन गराई समाज र देशको लागि सहयोग पुर्याउँने क्षेत्रका रुपमा केन्द्रीत हुनु पर्ने बताएका हुन् ।

विहिवार धुलिखेलमा आयोजित काठमाडौ विश्व विद्यालयको २८ औं दीक्षान्त समारोहमा दीक्षान्त भाषण दिने क्रममा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेर बहादुर देउवाले उक्त भनाई राखेका हुन् ।दीक्षान्त भाषणमा उनले काठमाडौ‌ं विश्व विद्यालयले ३ दशकदेखि अनवरत रुपमा उत्पादन गर्दै आएको शैक्षिक जनशक्तिले देशमा मात्र नभै विदेशमा समेत उत्कृष्ट योगदान गर्दै आएको छ बताए ।

कुलपति देउवाले दीक्षीत विद्यार्थीहरुलाई सफत ग्रहण गराउँदै उच्च शिक्षाको क्षेत्रमा काठमाडौ‌ं विश्व विद्यालयको आफ्नै पहिचान छ यसको सही सदुपयोग गरि देशमा मात्र हैन विदेशमा समेत उत्कृष्टता हासिल होस भन्दै सफल र सुखद भविष्यको कामना व्यक्त गरे  ।

शैक्षिक केन्द्रलाई राजनीति मुक्त बनाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ भन्ने प्रधानमन्त्रीको भनाईलाई भने त्रिभुवन विश्व विद्यालयमा महिनौ देखि नेपाल विद्यार्थी संघबाट तालाबन्दी गर्दा शैक्षिक कार्यक्रम ठप्प भएको अवस्थाको स्मरण गरिएको भान हुन्थ्यो ।

दीक्षान्त कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ प्रा.डा.मृगेन्द्रराज पाण्डेले देशमा युवा पुस्तामा आएको जागरुकताको प्रतिफल स्वरुप मेडिकल क्षेत्रमा मात्र हैन भर्खरै सम्पन्न निर्वाचनमा युवा चिकित्सकहरुले पनि सहभागी भै बिजय हासिल गरेका छन् । यो परिणामले नागरिकले युवा पुस्तामा ठूलो भरोसा गरेको प्रमाणित हुन्छ ।

त्यसैले आज दीक्षित समारोहमा भेला भएको यो उपस्थितिले आम नागरिकको भावनाको कदर गर्दै अध्ययन अनुसन्धानका आधारमा अघि बढ्न र सिपको इमान्दारी पूर्वक सदुपयोग गरि अघि बढ्न प्रेरित गर्ने बताए   ।

दीक्षीत हुनेहरुमा आर्टस, एजुकेशनन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ६ जना सहित जम्मा १ हजार ६ सय ९९ जना विद्यार्थी रहेका र त्यस मध्ये स्कुल अफ आर्टसका २ सय २० जना, एजुकेशनका २ सय २ जना, इन्जिनियरिङका २६ जना लका ४० जना, म्यानेजमेन्टका ४ सय ६२ जना, मेडिकल साइन्सेजका ७ सय १२ जना र साइन्सका ३७ जना विद्यार्थी रहेको काठमाडौ विश्व विद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले जानकारी गराए।

दीक्षीत हुने विद्यार्थीहरु मध्ये ७ सय ३४ जना छात्र र ९ सय ६५ जना छात्रा रहेका छन् । दीक्षीत हुनेमा अष्ट्रिया, क्यानडा, चीन, जर्मन, भारत, इटाली,माल्दिभ्स, पोर्चुगल, रुस, सिंगापुर, स्पेन, श्रीलंका, ताईवान र संयुक्त राज्य अमेरिका गरि १४ देशका १ सय ८६ जना विदेशी विद्यार्थी रहेका छन् । विश्व विद्यालयमा यसबर्ष पहिलो पटक मास्टर्स अफ इन्जिनियरङ इन स्यानिटेशन टेक्नोलोजीमा ६ जना र मास्टर्स अफ साइन्स इन स्यानिटेशन टेक्नोलोजीमा १ जना गरि जम्मा ७ जनालाई उपाधि प्रदान गरिएको डा.थापाले जानकारी गराए ।

२८ औं दीक्षान्त समारोह सम्म पुग्दा काठमाडौ विश्व विद्यालयबाट ४० हजार ३५ जना विद्यार्थी दीक्षीत भैसकेका छन् । जसमा ५५ देशका ५ हजार ३९ जना विदेशी विद्यार्थी रहेका छन् । काठमाडौ विश्व विद्यालयमा दीक्षीत हुनेमा छात्र भन्दा छात्रा १३ प्रतिशतले बढी रहेका छन् ।

दीक्षान्त समारोहमा सहकुलपति देबेन्द्र पौडेल, रजिष्टार डा.अच्युत वाग्ले, डीन राजेन्द्र कोजू, उपकुलपति भोला थापा लगायतका अतिथि तथा विशेष अतिथिहरुले दीक्षीत विद्यार्थीहरुलाई उपाधि प्रधान गरिएकाे थियाे ।