युवापुस्तालाई सत्ता हस्तान्तरण होस्



हाम्रो देशमा भर्खरै सम्पन्न भएको आमचुनावले पुराना वा बूढा पुस्तालाई पाखा लगाउँदै युवा पुस्तालाई सशक्तरुपमा अगाडि बढ्नका लागि सङ्केत गरेको छ ।

बूढा पुस्ताको सत्ता चलाइ भनेको केवल ‘जेनतेन चलाएकै छौँ वा चलाएकै छु’ को भरमा चल्नुभन्दा अगाडि बढ्न सकेन । यता देशको आवश्यकता भनेका धेरै बढेर जान थाले । बूढा पुस्ताले यी सारा समस्या र आवश्यकताको पूरा गर्लान् भन्ने आशासमेत आम जनसमुदायमा मरेर जान थाल्यो ।

एक्काइसौँ शताब्दीको आरम्भसँगै संसारका मान्छेले नयाँ परिवर्तन र सिर्जनशील परिवर्तनको अभिष्ट चाहना राखेका भए तापनि हाम्रा नेतृत्वले बरु शक्ति लगाएर दमन गर्न पछि परेन तर जनआकाङ्क्षा बुझेर तदनुसारका काम गर्न सक्ने क्षमता अलिकति पनि राखेको पाइएन ।

बूढा पुस्ताको शासकको यो चर्तिकलालाई निकै बेरसम्म युवा पुस्ताले नियालेर हेरिरह्यो । तर कतै पनि छेकछन्द मिलाएर शासन गरेको जस्तो अनुभूति हुनै सकेन ।

कम्तीमा युवा पुस्ताबाट सम्मानित मानिएर र अभिभावकजस्ता बूढा पुस्ताले राजनीतिको सही मार्गमा उभिएर यात्राको थालनी गरेका भए त अलिकति भए पनि केही भइहाल्छ कि भनेर आशावादी बन्न सकिने अवस्था सिर्जना हुने थियो ।

तर विडम्बना के भने, कुनै सिर्जनात्मक बाटोको अनुसरण गरेर अगाडि बढ्नुको साटो युवा पुस्ताका नवीन चाहनालाई सकेसम्म दबाएर लुकाउन खोज्दै दशतिरबाट षड्यन्त्रका तानाबाना बुन्दै नसक्ने गोरुले हलो जोत्दा जसरी लर्बराउँछ त्यसै गतिमा शासन र केवल शासनमात्र चलाइरहे ।

केवल नाममात्रको शासन, नाममात्रको सरकार, केवल निरीह जनतालाई कसरी र कुन उपायले शोषण गरेर आ–आफ्ना अंशवण्डामा अधिक धनराशी जम्मा गर्ने भन्ने आपराधिक मानसिकताबाट बूढो पुस्ता माथि उठ्न वा उम्कनै नसकेर राज्य सञ्चालनका हरक्षेत्रबाट असफल बन्दै जान थाल्यो । असफल बनेरै पनि आफूलाई असफल बनेँ भनेर कहिल्यै स्वीकार गर्न सकेको पाइएन ।

यो आपराधिक प्रवृत्ति बूढा पुस्ताले आफूमा मात्र सीमित नराखेर आफू मातहतका युवा पुस्तालाई समेत प्रशिक्षित गराउन पुग्यो । जसका कारण युवा पुस्तामा समेत अनियमित बाटोबाट कमाउने र सम्पत्ति थुप्रो लगाउने घिन लाग्दो रोगले गाँजेर थला नै पारेको पाइयो ।

बूढा पुस्ताको नेतृत्वले देशमा नयाँ उद्योगधन्दा खोलेर स्वदेशमै युवालाई रोजगारी दिलाउन सके समग्र देशलाई फाइदा हुन्छ भन्ने कुरोसमेत बुझ्न नसकेर हो कि वा बुझेरै पनि बुझ पचाएर हो, बूढा पुस्ताका नेतृत्वहरुले युवालाई स्वदेशमै रोकेर उन्नतिको बाटोमा साथ दिने, काँधमा काँध हाल्ने जिम्मेवारी बहन गर्नै सकेनन् । त्यसको अलावा भएका, विगतमा खोलिएका र सञ्चालनमा रहेका भनिएका कलकारखाना, उद्योगधन्दा एउटा रक्स्याहा मान्छेले एक बोरा चामलमा एक बोतल रक्सी साटेजस्तै गरेर तिनको मूल्य, मान्यता, महत्वको कुनै छ्यानविचार नै नगरी बेच्ने काम गरेर सके ।

समग्रमा भन्ने हो भने, पटक–पटक प्रशासनको कुर्सीमा बस्न पुगेका र कहाँनेरबाट देश लुट्न पाइन्छ भन्ने अक्कल भएका शासकले कुनै पनि नकारात्मक काम गर्न शायदै बाँकी राखेनन् होला । त्यसैले अबका दिनमा सत्ताको नेतृत्व बूढा पुस्ताका हातबाट खोसेर युवा पुस्ताको हातमा सुम्पनु र त्यसको चतुरताका साथ निगरानी गर्नु आम नेपाली राजनीतिज्ञ वा राजनीतिक कर्मीको ज्यादै महत्वपूर्ण दायित्व हो ।

अब बूढा नेताहरु युवा नेतृत्वले शासन सञ्चालन गरिरहँदाको क्षणमा कतै असफल भए, कतै कमी–कमजोरी देखाउन थाले वा कुशलताका साथ काम गर्ने बलियो मानसिकता भएर पनि पुरानो पुस्ताको ढाँट र छल शैलीकै अनुशरण गरेर धन सोहोर्न र देश लुटेर खाने धन्दामा सामेल हुन्छन् अनि समग्र देशलाई रसातलमा डुबाउँछन भने तिनलाई त्यो खराब बाटोबाट सही बाटोमा ल्याएर हिँड्न लगाउने काम गर्न सक्नुपर्ने हुनेछ ।

बूढो पुस्ताले आजका युवा पुस्तालाई सही बाटो निर्देश गरेर हिँडाउन सकेको भए आज नेपालको अवस्था यस्तै दयनीय अवश्य बन्ने थिएन । पुराना र विगतको लामो कालखण्डमा सत्ताको कुर्सीमा बसेर अवैध सम्पत्तिको जोहोमा लागेकाहरुको अहिलेको सत्ता उपलब्धिको मूल उद्देश्य भनेको विगतमा अवैध धन्दाबाट कमाएको धनको रक्षा गरेर अर्को पुस्तालाई कालो धन कसरी हस्तान्तरण गर्ने होला ? भन्ने तनावले घेरिएको अवस्थामा निकै छटपटाइरहेका छन् ।

युवा पुस्ताले सत्ता लिएको खण्डमा आफूहरुले गरेका ती कुकर्मका काण्डहरु उजागर गरेर देखाइदिनेछन् । यसरी देखाउँदा आफ्नो बेइज्जत पनि हुने भयो, दुःखका साथ मिलाएको सेटिङबाट कमाएको अवैध सम्पत्ति जफत पनि हुने भयो भन्ने डरले चुनावमा हार्ने र जित्ने दुवै थरी वृद्ध नेताहरु मनमनै डराइरहेका छन् ।

त्यस अवैध सम्पत्तिलाई जोगाएर राख्नको लागि त धेरैतिरको सेटिङ मिलाउनुपर्ने हुनसक्छ । सत्तामा रहँदाको क्षण जति सजिलो गरी सेटिङ मिलाउन वा लुकाउन सकिने अवस्था थियो अहिले त्यो अवस्थामा निकै नै भिन्नता आएको छ ।

पुनः सेटिङ मिलाउने स्थानमा युवा आएको छ, उसले सेटिङ मिलाउन मान्ने हो वा होइन ? कि वा आफूले मिलाएको अवैध सेटिङको पोल पो खोल्ने र आफूलाई कुनै कार्यवाही गराउने हो कि भन्ने डरले पिरोलिन थालेका देखिन्छन् ।

भर्खरै आमचुनाव सम्पन्न भएर विजेता बनेका करिब ९२ प्रतिशत जनप्रतिनिधिहरुको सोच देशको उन्नति गर्ने र आम जनतालाई अनेक विषयमा राहत दिने भन्ने वा सघाउने भन्ने खालको हुन जरुरी भए पनि कसरी अवैध धन कमाउने भन्नेतिर बढी तानिएको पाइन्छ ।

यो सोच आफैँमा नकारात्मक सोच हो । पुराना पुस्ताको साँघुरो सोचबाट जति युवा प्रशिक्षित बनेर राजनीतिक वृत्तमा नेता बन्ने आशले घुस्रिएका छन्, तिनीहरु काठ खाने धमिराजस्तै हुन् । तिनले राजनीतिलाई उन्नतशील गतिले उचाइतिर लैजानुको साटो अधोगतितिर लैजान्छन् ।

अझ पुरानो जमानादेखि राज्य सञ्चालनको अभिभारा बोकेका र आफ्नो हात जगन्नाथ गर्न पल्केकाहरुले सानो प्वालबाट कमिलो छिरेको नाटक गरेर अन्त्यमा हात्ती बनेर निस्कने प्रवृत्तिका कोही पनि राजनीतिक सुधारका लागि अवरोध सिर्जना गर्ने धमिरा नै हुन् भन्दा फरक नपर्ला ।

पुरानो पुस्ताको खराब प्रशिक्षणबाट प्रशिक्षित हुन पुगेका युवा नेतृत्वभन्दा आफ्नै एउटा सुन्दर दृष्टिकोण भएका युवाको राजनीतिक वृतमा प्रवेश गर्ने सङ्ख्या बढेर गएको यो क्षण सारा देशपे्रमी जनताका लागि पनि खुशीकै विषय बन्न पुगेको छ ।

युवाले राजनीतिक नेतृत्व सम्हालेर जिम्मेवारी बहन गर्दै निर्लोभिताका साथ अगाडि बढ्नै पर्ने अवस्था आजका दिनमा जबरजस्त रुपमा सिर्जना भएको छ । यो अवस्थाको सही मूल्याङ्कन र उपयोग गर्न सकेको खण्डमा अबको अर्को चुनावसम्मको समयमा नेपालको राजनीति कायापलट हुनेछ । नेपाली युवा जमातले खोजेको कुरो पनि यही हो ।

हामी सधैँ मागिखाने मात्रै भएर बाँच्न सक्दैनौँ । अब हामीलाई मागिखाँदा आफैंभित्रदेखि लाज हुनुपर्ने थियो । तर अहिलेसम्म शायद कसैलाई पनि लाज भएको छैन । लाखौँ, करोडौँ जनताले नचाहेको वा मन नपराएको र नगर्न अनुरोध गरिएको काम शासक आफैँले लादेर पूरा गराउन उद्यत् रहेको पनि पाइन्छ ।

नयाँ पुस्ताको जतिको दूरदृष्टिको नजरले हेर्नसमेत पुरानो पुस्ता असफल भइसकेको छ । यस्तो अवस्थामा पनि युवा पुस्तालाई खुशीसाथ सत्ता हस्तान्तरण नगरेर बूढो गोरुले कोरली गाई ओगटेको शैलीमा प्रस्तुत हुन्छन् र युवा पुस्तालाई काममा अवरोध हाल्छन् भने तिनलाई विकास र निकास विरोधीको संज्ञा दिएर अलि टाढै लखेट्नुपर्ने हुन्छ ।

ताकि तिनीहरुले अब कहिल्यै दुःख नदिऊन् भन्ने उद्देश्य समावेश भएको हुनुपर्छ । पुराना पुस्ताका नेताले त्यतिको सिर्जनशील सोचले अगाडि बढ्न सकेका भए युवा पुस्ताले कानमा तेल हालेर निदाउँदा फरक पर्ने थिएन । पुराना पुस्ताले चाहेजस्तो काम गर्न नसकेकै कारण हाम्रो राजनीतिमा युवा नेतृत्वको आगमनलाई बढावा दिएको हो । अबका दिनमा पनि पुरानै शैलीले शासन चल्न नसक्ने कुरा थाहा पाएरै पनि सत्ताको कुर्सी बूढा पुस्ताले नै ओगटिराख्न खोज्नु कसैलाई पनि सुहाउने कुरो होइन ।

चुनाव सकिएर धेरै स्थानको मत परिणाम आइरहँदाको बखतमा पुराना र शीर्ष नेताहरुका बीच सत्ता बाँडफाँडका लागि केही कुरा भनिएका थिए । यो भनाइले के देखाउँछ भने फेरि पनि तिनै पुराना र पटक–पटक पदमा बसेर अक्षम भनी डामिएका महापुरुषहरु नै अबको नेपालका शासक, प्रशासक बन्ने धुनमा लागेका देखिन्छन् ।

यो कुरो यथार्थमा परिणत नहोस् भनेर कामना गर्नुको अर्को विकल्प पनि दृष्टिगोचर भएको छैन । अहिले चलिरहेको र पहिलेदेखि चल्दै आएको राजनीतिक मूल्य, मान्यताका आधारमा शासन सञ्चालन गरिनु अनिवार्य हुन्छ । शासन सञ्चालनका हरेकजसो कुरा पारदर्शी हुन सके, तथ्यको आडमा भए वा गरिए भने कसैको पनि कुनै प्रकारको आपत्ति रहने छैन ।

पुरानै तरिका र पुरानै शासकले शासन चलाउने जमर्को गरे पनि उनीहरु सफल बन्न सक्नै छैनन् । पुराना र अदूरदर्शी शासकहरुले अबका जनतालाई आश्वस्त बनाउन सक्ने क्षमता नै राख्न सकेका हुँदैनन् । यस्ता क्षमताहीन शासक बारबार शासक बनेर रहँदा समग्र देशको उन्नति र खुशी नै क्रमशः ओरालो लाग्दै जान थाल्छ । यी सबै कारणले गर्दा अबको पुरानो सोच बोकेको युवा शासकसमेत सिर्जनशील बन्न नसकेको खण्डमा शासन गर्न अक्षम ठानेर सत्ताबाहिर हुत्तिन पुग्छ भने वृद्ध पुस्ताको त कुरै भएन ।

गएको आमचुनावमा विभिन्न राजनीतिक दलहरुबाट उम्मेदवार बनी चुनावी मैदानमा उत्रेकामध्ये निकै स्थानमा तिनै युवाले विगत लामो समयदेखि राजनीतिमा रहेका र वर्चश्व जमाएका नामुद व्यक्तिलाई समेत उछिनेर आफू विजयी बन्न पुगेका छन् । पुराना पुस्ताका नेताले यस मूल्यांकनको सही समीक्षा गरेर ससम्मान तरिकाले युवा पुस्तालाई सत्ता हस्तान्तरण गर्नै पर्ने हुन्छ । सत्ता हस्तान्तरण गरेर आफूहरुले सही निर्णय र काम गरेको दाबीका साथ तिनको हौसला बढाउने काममा लाग्नु उचित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्