चुनावमा अन्तर्घात गरेको भन्दै माओवादी केन्द्रका दुई जना पोलिटब्युरो सदस्यलाई कारबाही



सर्लाही । देशैभर एकै चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा अन्तर्घात गरेको आरोपमा नेकपा (माओवादीं केन्द्र)ले दुई जना पोलिटब्युरो सदस्यलाई कारबाहीका लागि सिफारिस गरेको छ । आफ्नै पार्टीका उम्मेदवारलाई पराजित गर्न अन्तर्घात गरेको आरोपमा उनीहरुलाई कारबाहीका लागि सिफारिस गरेको माओवादी केन्द्रले जनाएको छ ।

पोलिटब्युरो सदस्यद्वय अच्युतम काफ्ले र रामेश्वर राय यादवलाई माओवादी केन्द्रले कारबाहीका लागि सिफारिस गरेको हो । कारबाहीका लागि माओवादी केन्द्रका हरिवन, बागमती र बहरथवा नगर समितिले पार्टीको मधेश प्रदेश समिति र पार्टी केन्द्रलाई छुट्टाछुट्टै सिफारिस पठाएका छन् ।

केही दिनअघि सम्पन्न माओवादी केन्द्रका हरिवन, बागमती र बहरथवा नगर समितिका बैठकले नेताद्वयलाई कारबाहीका लागि सिफारिस गरेको बैठकमा सहभागी माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

पोलिटब्युरो सदस्य काफ्ले माओवादी केन्द्रका सर्लाही जिल्ला इन्चार्जसमेत हुन् । पार्टीको अर्का पोलिटब्युरो सदस्य राय पूर्वमन्त्री र सर्लाही ३ बाट निर्वाचित निवर्तमान संघीय सांसद हुन् ।

काफ्ले र रायले अन्तर्घात गर्दा मंसिर ४ को निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलबार पराजित भएको निष्कर्ष पार्टीका स्थानीय समितिले निष्कर्ष निकालेका छन् ।

काफ्ले र रायले एमाले उम्मेदवारसँग मिलेमतो गरेर पार्टीका उम्मेदवार साहलाई हराउन भूमिका खेलेको पुष्टि भएपछि उनीहरलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटिका एक पदाधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्