उपत्यकाको फोहोर विसर्जन

मेयर साह आफैंले सीसीटिभीबाट निगरानी गर्ने



काठमाडौं । 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले टेकु ट्रान्सफर स्टेसन र बन्चरेडाँडा ल्यान्डफिल साइटको फोहोर व्यवस्थापन र विसर्जन प्रक्रियाको आफ्नै कार्यकक्षबाट निगरानी गर्ने भएका छन् । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दा समस्या देखिएको गुनासो आउन थालेपछि मेयर साहले आफैंले निगरानी गर्न लाग्नुभएको हो ।

टेकु ट्रान्सफर स्टेसनमा सीसीटिभी जडान गर्ने कार्य सकिसकेको छ भने बन्चरेडाँडामा सीसीटिभी जडान गर्ने तयार शुरू भएको छ । मेयर साहले टेकु ट्रान्सफर स्टेसनको सम्पूर्ण गतिविधि राष्ट्रियसभामा रहेको आफ्नो कार्यकक्षबाट सीसीटिभीमार्फत निगरानी गर्न शुरू गरिसक्नुभएको छ ।

कामपाका सूचना प्रविधि विभागका निर्देशक नमराज ढकालले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार यसका लागि बन्चरेडाँडा ल्यान्डफिल साइटमा सीसीटिभी जडान गर्ने तयारी भइरहेको छ ।उहाँले भन्नुभयो– ‘विस्तृत अध्ययन सकेको छ । पुस महिनाभित्र जडानको काम सक्नेगरी तयारी गरिरहेका छौं । बन्चरेडाँडा ल्यान्डफिल साइटमा सीसीटिभी राख्न टेन्डर प्रक्रिया शुरू गर्ने तयारीमा छौं ।’

वर्षौंदेखि फोहोर विसर्जनमा आएको समस्या समाधान र निराकरण गर्न ल्यान्डफिल र ट्रान्सफर स्टेसनलाई सीसीटिभीसँग जोडेको कामपाको भनाइ छ ।कामपाका प्रवक्ता नवीन मानन्धरले सीसीटिभी राख्ने विषयमा छलफल भएको भए तापनि प्रक्रिया कहाँ पुगेको छ भन्ने विषयमा आफू अनविज्ञ रहेको बताउनुभयो ।राजधानीको फोहोर व्यवस्थापन काठमाडौंमै गर्ने पटक–पटकको प्रयास विफल भएपछि मेयर साह बन्चरे ल्यान्डफिल साइटलाई व्यवस्थित बनाउन पूर्ण रूपमा डिजिटल प्रविधि प्रयोग गर्न लाग्नुभएको हो ।

बन्चरेमा आवश्यकताको आधारमा सीसीटिभी जडान गर्ने भनिए पनि संख्या तोक्न भने बाँकी रहेको छ । कामपाले सीसीटिभी राख्ने क्षेत्रमा इन्टरनेटको व्यवस्था भइसकेको जानकारी दिँदै सो क्षेत्रमा र वरपरको सडकमा फोहोर बोक्ने सवारी साधनको अवस्था समेत अवलोकन गर्न मिल्नेगरी सीसीटिभी राख्ने तयारी भइरहेको जनाएको छ । कामपाले कर्मचारी र सवारी चालकको अवस्थाबारे जानकारी लिन सीसीटिभी जडान गर्न लागेको हो । वातावरण व्यवस्थापन विभागको समन्वयमा कामपाले ट्रान्सफर स्टेशनमा आधा दर्जन सीसीटिभी जडान गरेको छ ।

वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले मेयर साहले निगरानी गर्नेगरी अहिले ट्रान्सफर र पछि ल्यान्डफिल साइट क्षेत्रमा सीसीटिभी जडान गर्ने कामको थालनी गरिएको जानकारी दिनुभयो । कामपाले डिजिटल भिडियो रेकर्ड(डीभीआर) र नर्मल भिडियो रेकर्ड(एनभीआर) प्रविधिको सीसीटिभी राख्ने विषयमा छलफल भइरहेको छ ।

ल्यान्डफिल साइटमा सीसीटिभी जडान भइसकेपछि फोहोर मैला विसर्जनको काम थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडाैं र ललितपुर गरी दुई महानगरसहित १८ वटा स्थानीय तहको फोहोेर अन्तिम विसर्जन हुने गरेको छ । सीसीटिभी जडान र निगरानी शुरू भएपछि सो क्षेत्रमा मनपरी रूपमा फोहोर विसर्जन गर्ने काम पूर्ण रूपमा रोकिने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्