छापामार शैलीमा मन्त्रालय सार्नु हुँदैन : एमाले नेता श्रेष्ठ

मुख्यमन्त्री कार्यालय सार्नुको बाध्यता- मन्त्री खड्का

0
Shares

बुटवल। 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले बुटवलबाट मुख्यमन्त्री कार्यालय र  मन्त्री परिषद्को कार्यालय मध्य रातमा दाङ सारिएको सवालमा सरकार भित्रै मत विभाजन भएको छ ।  लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले राजधानी सार्नुको विकल्प नभएको बताउनु भयो । उहाँले अहिले मुख्यमन्त्री कार्यालय मात्र स्थानान्तरण लागि सामान पठाएको बताउनु भयो ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रदेश सभाले बहुमतका साथ पारित गरेको विषयलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको जिकिर गर्नु भयो । उहाँले राप्ती,भेरी र लुम्बिनीको भावनालाई समेटेर लुम्बिनी प्रदेशको नाम र राजधानी तोकिएको बताउँदै राजधानीको विषयलाई अतिरञ्जित ढङ्गले व्याख्या नगर्न सबैलाई आग्रह गर्नु भयो । मन्त्री खड्काले दाङको राप्ती उपत्यका देउखुरीमा निर्मित प्रदेश सभाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रदेश मातहतका मन्त्रालयहरु औपचारिक कार्यक्रमका साथ प्रदेश सरकार अगाडि बढ्ने बताउनु भयो ।

मन्त्री खड्काले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले देशको संविधान , राष्ट्रिय स्वाधीनता र व्यवस्थामाथि दरार पैदा गरेर प्राप्त उपलब्धिहरू नै गुम्ने खतरा बढेको बताउनु भयो । राजनीतिक दलको विकल्प स्वतन्त्र वा कुनै व्यक्ति विशेष नहुने जिकिर गर्दै लोकतन्त्रको स्थापनाको लागी जेलनेल यातना भोगेका नेताहरुको भावनालाई कुल्चेर कुनै विचार र गन्तव्य नै नभएहरुले फैलाएको अफवाहले देशलाई सही मार्गमा लैजान नसक्ने ठोकुवा गर्नु भयो ।

सोही कार्यक्रममा रहनु भएका नेकपा एमालेका नवनिर्वाचित प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका सामानहरु सारिनु गलत भएको बताउनु भयो । श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसगँ छलफल नै  नगरी सेवाग्राहीलाई नै असर पर्ने गरी प्रदेश सरकार अघि बढ्नुले  राम्रो सन्देश नदिने जिकिर गर्दै सरकार गैर जिम्मेवारी कामबाट फर्किनुपर्नेमा जोड गर्नु भयो । उहाँले जनताको जनमत प्राप्त प्रतिनिधिहरूको भावनालाई कुल्चेर बिना पूर्वाधार नै बलजस्ती ढङ्गले मन्त्रालय सारिनुले आउने पुस्तालाई समेत नकारात्मक सन्देश जाने बताउनु भयो । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।