चर्खेपिङबाट खस्दा ३ घाइते, एकको अवस्था गम्भीर 

मोरङ जानु अघि मेला घुम्न पुगेकी अस्मिता अस्पतालमा

0
Shares

नयाँ बजार बस्दै आएकी अस्मिता लिम्बु सोमबार मोरङ जाने तरखरमा थिइन् । उनले बसको समेत टिकट काटेकी थिइन् घर जानका लागि । घर जानुभन्दा अघिल्लो रात उनी आफ्नो दिदीसँग पोखरा ९ नयाँ बजारमै चलिरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा घुम्न गइन् । घर जानेभएपनि उनकी दिदी रविना मगरसहित अर्की एक छिमेकीसँगै मेला घुम्न गइन् ।

बेलुका करिब ६ बजेको समयमा उनीहरु घरबाट निस्किएर गए । मेला हेर्न पोखरा प्रदर्शनी छिरेपछि उनीहरु घुम्दै चर्खेपिङ (रोटे पिङ) नजिक पुगे । पिङ खेल्ने इच्छा भएपनि सुरुमा बन्द भएकाले उनीहरु फर्किनै लागेका थिए । तर पिङ खेल्न आउनेको संख्या बढेपछि पिङ सुचारु भयो उनीहरुलाई पिङमा टिकट काट्न बसेकाले बोलाए त्यसपछि उनीहरु खेल्न पुगे ।

पिङले पहिलो घुमाइ गरेर दोस्रो घुमाइ गर्नेबेलमा उनीहरु खसे । खसेर ३ जना घाइते भए । जसमध्ये अस्मिताको अवस्था भने गम्भीर रहेको छ । ‘कान्छी (अस्मिता) भोलि घर जाने त्यही भएर आज (आइतबार राति) मेला हेर्न जाने भनेर आयौँ ।’ अस्मिताकी दिदी रुविना मगरले भनिन् । रुविना छोरी च्याप्दै शनिवार समेत मेला अवलोकन गर्न पुगेकी थिइन् । आइतबार भने बहिनीलाई घुमाउनका लागि उनी सहित  कोपिला बानियाँ पनि महोत्सव हेर्न पुगेकी थिइन् ।

रुविना र कोपिला भने सामान्य नै छन् । रुविनाले पिङको डब्बा छड्के भएर अर्को डब्बालाई छुई सकेको सुनाइन् ।  सिधा रहको डब्बाको नट फुस्किएपछि छड्के भएको उनी सुनाउँछिन् । ‘हामी बसेको डब्बाले अर्को डब्बा छुई सकेको थियो कोल्टे परेर । त्यसपछि माथि पुग्यो अनि हामी झरेको हो । खसेपछि मलाई केही थाहा भएन । हामी चार जना थियौँ । एकैचोटी बाहिर गेटमा ल्याएपछि मात्रै थाहा भयो’ उनले भनिन्, ‘हामी घरबाट ढिला गएका थियौँ । हिजो पनि नानीलाई (छोरी) लिएर एक्लै गएकी हुँ घुमेर आए । कान्छी(अस्मिता) भोलि (सोमबार) घर जाने भनेर आज घुमुन त भनेर भन्यो अनि हामी मेला हेर्न आयौँ ।’

सुरुमा बन्द भनेर आफूहरू फर्किन खोज्दा पिङ चल्छ भन्दै बोलाएपछि फर्किएको उनले बताइन् । ‘सुरुमा बन्द भएको भनेर सोध्दा मान्छे छैन भन्यो फर्किन लाग्दा आउनु आउनु भनेर बोलाएर टिकट काट्न लगायो अनि हामीले टिकट काटेम’ उनले सुनाइन्, ‘एक राउन्ड मात्रै घुमेको थियो । रोक्दै मान्छे चढाउँदै गरेको थियो । अर्को राउन्डमा त लडिहाल्यो । केही थाहा भएन । दशा लाग्यो ।’ पिङबाट लडेकी कोपिला बानियाँले पिङ बन्द हुन लागे पनि धेरै खेल्ने आएपछि सुचारु भएको सुनाइन् । उनले पिङको नट फुस्किएकाले दुर्घटना भएको सुनाइन् । ‘हामी ६ बजेटिर मेला गएका थियौँ । त्यहाँ पिङ खेल्दा पिङको नट फुस्किएर अनि लडेको’ उनले भनिन्, ‘मेला बन्द भएको थिएन । पिङ पनि बन्द हुन लागेको जस्तो थियो । हामी फर्किन लागेका थियौँ पछि धेरै मान्छेहरु आएपछि आउनु टिकट काट्छौँ भनेर बोलाएपछि हामी गयौँ ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले अस्मिता लिम्बु, रविना मगर र कोपिला बानियाँ पिङबाट खसेको जानकारी दिए । तिन जनामध्ये अस्मिताको अवस्था गम्भीर रहेको उनले बताए । ‘मोरङ घरभई हाल नयाबजार बस्दै आउनुभएको अस्मिता लिम्बुको अवस्था गम्भीर छ । अन्य दुई जना सामान्य नै छन्’ खड्काले भने ।

स्थानीय दिलमाया गुरुङले ठेकेदारको गल्तीका कारण दुर्घटना निम्तिएको बताइन् । उनले मेलमा राखिएको पिङ राम्रोसँग फिट नहुँदा दुर्घटना भएको सुनाइन् । उनले मेलालाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउँदै सुरक्षाका विषयलाई गम्भिरतापुर्वक लिनुपर्नेमा जोड दिइन् । दुर्घटना लापरबाहीकै कारण भएको र यसले मेलाको बारेमा नकारात्मक सन्देश गएको सुनाइन् ।