बागबजार क्षेत्रको पार्किङ आजबाट सिटी मार्केटमा

0
Shares

काठमाडौं ।

चारदिन अघि खाली गराइएको बागबजारको सडकको पार्किङ आज सोमबारबाट रत्नपार्कस्थित सिटी मार्केटको भूमिगत तलामा हुने भएको छ । व्यापारीको व्यापक दबाबपछि महानगरले तत्कालका लागि सिटी मार्केटको बेसमेन्ट खाली गर्न शुरू गरेको हो ।

कामपा प्रहरी बल प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सिटीमार्केटमा पार्किङ गर्ने व्यवस्था गर्न लागेको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आइतबारदेखि बेसमेन्ट खाली गर्न शुरू गरेका छौं । सोमबारबाट बागबजार क्षेत्रको पार्किङ व्यवस्थापन गर्नेछौं ।’ सिटी मार्केटमा करिब एक हजार दुई पाङग्रे सवारी साधन पार्किङ गर्न मिल्नेगरी व्यवस्था गरिने बताइएको छ ।कामपाले सिटी मार्केटको व्यापारीलाई अनुरोध गरी बेसमेन्ट खाली गर्न लागेको बताउँदै महानगरका प्रवक्ता नवीन मानन्धरले भन्नुभयो– ‘तत्कालको लागि बागबजार क्षेत्रको पार्किङ व्यवस्थापन गर्ने योजनासहित सो क्षेत्रमा बागबजारको पार्किङ व्यवस्था गर्न लागिएको हो । हामीले बागबजार क्षेत्रमा नक्सामा बेमसेन्ट उल्लेख गरी बनाइएका भवनमा बेसमेन्टमै पार्किङ गर्न आग्रह गरेका छौं ।’

उक्त पार्किङ सःशुल्क वा निःशुल्क गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ । कामपा प्रहरी बल प्रमुख पाण्डेका अनुसार सिटी मार्केट सञ्चालन गरिरहेका ठेकेदारसँग सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ । बागबजार क्षेत्रमा पनि भूमिगत तलामा पार्किङ गरेको नपाइएको भन्दै उहाँले बागबजार क्षेत्रको ठूला भवन अनुगमन गरी बेसमेन्टमा पनि पार्किङको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।महानगरले उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहयोगमा बागबजारको सडकको दायाँ–बायाँ क्षेत्रबाट पार्किङ हटाएपछि त्यहाँका व्यापारी आन्दोलित भएका थिए । कामपासँग वार्तापछि सो क्षेत्रको पार्किङ सिटी मार्केटमा गर्ने सहमति भएपछि आन्दोलन रोकिएको थियो ।

शहरलाई सुन्दर बनाउन महानगरले सडकपेटीमा राखिएका सबै पार्किङ खाली गर्ने अभियान थालेको कामपाले बानेश्वर क्षेत्रको पार्किङ सो क्षेत्रको ठूला भवनको बेसमेन्टमा राख्न आग्रह गरेको छ । न्युरोड र दरबारमार्गको सःशुल्क पार्किङ हटाउने तयारी गरेको छ । कामपाका प्रवक्ता मानन्धरले सडकको सबै प्रकारको पार्किङ निषेध गर्न लागेको जानकारी दिँदै भन्नुभयो– ‘हामीले सबै सवारी धनीलाई ठूला भवनको बेसमेन्टमा पार्किङ गर्न आग्रह गरिसकेका छौं ।’

अव्यवस्थित पार्किङको कारण बानेश्वर, कोटेश्वर, न्युरोड, बालाजुुलगायतको क्षेत्रको सडक अस्तव्यस्त छ । पैदल यात्रीको लागि बनाइएका फुटपाथमा समेत पार्किङ गरिएको पाइन्छ ।यसैबीच कामपाका प्रवक्ता नवीन मानन्धरले पार्किङ शुल्क महँगो भएको गुनासो आएपछि सबै किसिमका पार्किङ शुल्कमा एकरूपता गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले अहिले आन्तरिक छलफल चलिरहेको र केही दिनमै निर्णय हुने जिकिर गर्दै भन्नुभयो– ‘महानगरको राजश्व विभागले शुल्क निर्धारण गरेपछि सो विषयमा कामपाले निर्णय गर्नेछ ।’हाल विशेषगरी महानगरले लिजमा दिएको न्युरोड र दरबारमार्ग क्षेत्रमा दुई पाङग्रे सवारीलाई घण्टाको २५ र चारपाङग्रे सवारी साधनको ५० रुपियाँ लिने गरेको छ भने निजी पार्किङ सञ्चालकले मनपरी शुल्क लिने गरेको छ ।