अत्तरियामा पनि चल्यो डोजर

0
Shares

धनगढी।

कैलालीको अत्तरियामा सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको छ। जिल्लाको गोदावरी नगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको हो।

नगरपालिकाको कार्यालय अगाडिबाट सुरु गरिएको उक्त कार्य बजार क्षेत्रमा पुगेको छ। गोदावरीका नगरप्रमुख वीरेन्द्र भट्टले अत्तरिया बजारलाई व्यवस्थित बनाउनका लागि अतिक्रमित संरचना खाली गर्न सुरु गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘ठेला तथा छाप्राहरुको व्यवस्थापन गरेका छौ। उनीहरुलाई बसपार्कको खाली क्षेत्रमा राखेका छौ। सडक क्षेत्र अतिक्रमण गरी बनाईएका पक्की र केही टिनका संरचनाहरु भत्काउने काम सुरु गरेका छौ। यसले बजार व्यवस्थापन गर्न मद्दत पुग्ने छ।’

उहाँले चारपटक सूचना सार्वजनिक गरिएको बताउनुभयो। यस्तै नगर प्रहरीको समूहले पनि बजारमा व्यापारीहरुलाई जानकारी गराएको बताउनुभयो। यसअघि धनगढी उपमहानगरपालिकाले सडक फराकिलो पार्न डोजर चलाएको थियो। अहिले धमाधम सडक आसपासका संरचना भत्काइदै छ।