जहाँ दुई दर्जन हाराहारी मन्त्रीलाई जनताले अस्वीकार गरे

0
Shares

वीरगन्ज। 

मधेश प्रदेशमा बहालवालादेखि पूर्वमन्त्री  आम चुनावमा पराजित भएका छन् ।  कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भए भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ ।

सबैभन्दा बढी धनुषामा मात्रै छ जना पूर्वमन्त्री पराजित भएका छन् ।धनुषाको क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री मातृकाप्रसाद यादव अघिल्ला प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता दीपक कार्कीसँग पराजित हुनु भएको छ  । यादव यसअघि २०६४ र २०७४ को चुनावमा त्यहीबाट विजयी हुनु भएको थियो ।

यस्तै धनुषा क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धामा रहेका तीन जना पूर्वमन्त्रीमध्ये पूर्वमन्त्री तथा काँग्रेस नेता रामकृष्ण यादव निर्वाचित भए भने पूर्वमन्त्री उमाशङ्कर अरगरिया र रामचन्द्र झा पराजित भए । धनुषाको क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री तथा एमालेका सचिव रघुवीर महासेठ दोस्रो पटक विजयी हुँदा पूर्वमन्त्री तथा काँग्रेसका सह महामन्त्री महेन्द्र यादव पराजित हुनु भएको हो ।

धनुषामा छ जना पूर्वमन्त्री पराजित हुँदा छिमेकी जिल्ला सिराहामा पनि चार जना पूर्वमन्त्रीलाई पराजय बेहोर्नुपरेको छ । सिरहा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा काँग्रेस नेता पदमनारायण चौधरी एमालेका राम शङ्कर यादवसँग पराजित हुनुभयो ।  सिरहा क्षेत्र नम्बर २ मा पूर्वमन्त्री तथा काँग्रेस नेत्री चित्र लेखा यादव पराजित हुनुभयो । सिरहा क्षेत्र नम्बर ३ मा चुनावी मैदानमा उत्रिएका पूर्वमन्त्री तथा एमाले नेता लीलानाथ श्रेष्ठ निर्वाचित हुँदा अर्का पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता विश्वनाथ साह पराजित हुनुभयो ।

सिरहा क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री धर्मनाथ साह पनि फराकिलो मतान्तरले पराजित हुनुभयो । उम्मेदवारी दर्तादेखि मतगणनासम्म सर्वाधिक चासोको रुपमा रहेको सप्तरी क्षेत्र नम्बर २ मा पूर्व उपप्रधानमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग फराकिलो मतान्तरले पराजित हुनु भएको हो  ।

गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भई मन्त्रीसमेत भइसकेका हेमराज तातेड यस पटकको प्रदेशसभा सदस्य निर्वाचनमा भने आफ्नो जमानतसमेत जोगाउन सकेनन् । काँग्रेसले टिकट नदिएपछि सप्तरी क्षेत्र नम्बर १ (१) मा स्वतन्त्र उम्मेदवारी दिएका तातेडले जम्मा नौ सय ९२ मत मात्र प्राप्त गरे। सो क्षेत्रबाट एमालेका राजकुमार लेखी १४ हजार दुई सय ९१ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

महोत्तरीमा पनि दुई जना पूर्वमन्त्री पराजित भए । महोत्तरी क्षेत्र नम्बर १ मा पटक पटक मन्त्री भइसकेका माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल एक हजार ३० मतान्तरले अघिल्लो प्रतिस्पर्धीबाटै पराजित भए ।

वर्तमान सरकारको खानेपानी मन्त्री तथा काँग्रेसका सह महामन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ मा पराजित भए । जहाँ एमालेका अच्युतप्रसाद मैनाली ३९ हजार एक सय ९५ मत ल्याएर विजयी हुनु भएको हो ।मन्त्री चौधरीले भने ३० हजार ५६ मत मात्र प्राप्त गरे।

पूर्वमन्त्री तथा एमाले नेता एकबाल मियाँ बारा क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठसँग पराजित हुनुभयो । चुनाव जितेर गएपछि नेताहरु जनतासँग गरेको वाचा बिर्सिने, नातावाद, कृपावादमा रमाउने, विकास निर्माणमा ध्यान नदिने र सत्ता लिप्सामा लाग्ने गरेकाले सत्ता भोग गरिसकेका नेतालाई यस पटकको निर्वाचनमा मतदाताले पाखा लगाएको स्थानीय बुद्धिजीवीको भनाइ छ ।