काँग्रेस एमाले रुपन्देहीद्वारा कामचलाउ सरकारलाई चेतावनी, लुम्बिनी प्रदेशको मुकाम सार्ने प्रक्रिया तत्काल रोक्न आग्रह 

0
Shares

बुटवल ।

नेपाली काँग्रेस  र एमाले रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम बुटवलबाट दाङ सार्ने कामको विरोध गरेको छ । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला काँग्रेस र  एमाले रुपन्देहीले ध्यानाकर्षण भएको बताएका छन् । काँग्रेस  एमालेले राजधानी लैजाने जिम्मा संरचना निमार्ण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने काँग्रेस र एमालेको माग छ ।

प्रदेशसभाबाट दाङको देउखुरी उपत्यका र अर्घाखाँचीको शितगंगा नगरपालिकाको राप्ती किनारको सेरोफेरोमा लैजाने निर्णय अनुसार अहिले त्यहाँ संरचना नै निमार्ण नभएको अवस्थामा राजधानी सार्न हतार गरिएको भन्दै काँग्रेस र एमाले सांसदले हतार नगर्न आग्रह गरेको हो ।

काँग्रेस रुपन्देही सभापति रामकृष्ण खाँण र एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीलेले अलग अलग विज्ञप्ति जारी गर्दै प्रदेशसभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ प्रदेश सरकार सचेत हुनुपर्ने उल्लेख गर्नु भएको हो ।

तत्काल सार्वभौम प्रदेशसभाको निर्णय कार्यान्वयन गर्दा प्रदेश सरकार, संसद्, विषयगत समितिलगायतका संरचनाको नियमित सञ्चालन र व्यवस्था गर्न साथै प्रदेशसभा र सरकारसँगै जाने सभासद् र कर्मचारीको आवासका लागि पर्याप्त पूर्वाधार नभएको स्थानमा जबरजस्ती लैजानु प्रदेशसभा तथा प्रदेश सरकारको सेवा प्रवाहमासमेत प्रतिकूल असर पर्ने देखिएकाले तत्काल मुकाम सार्ने प्रक्रिया रोकेर भौतिक संरचना निमार्णमा ध्यान दिन र नवनिर्वाचित प्रदेशसभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौँ,’ सभापति खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेकपा एमाले रुपन्देहीले बुटवलबाट प्रदेश सरकारका मन्त्रालयहरु हतारमा दाङ सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न माग गरेको छ ।

एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयहरु सार्ने काम आगामी नयाँ सरकार र संसदको अधिकारको विषय भएकाले त्यसमा हस्तक्षेप नगर्न माग गरेका छन् ।

त्यस्तै एमालेबाट प्रदेश सभामा रुपन्देही निर्वाचित लीला  गिरी भुमिश्वर ढकाल, भोज प्रसाद श्रेष्ठ र तुलसी प्रसाद चौधरीले पनि सामूहिक विज्ञप्ति जारी गरी संरचना तयार नहुँदै  काम चलाउ सरकारले हतारमा प्रदेशको मुकाम नसार्न चेतावनी दिएका छन् । नयाँ बन्ने सरकारले  गर्ने काम काम चलाउ सरकारले गर्न नमिल्ने पनि विज्ञप्तिमा उल्लेख छ ।