मेयरका भतिजलाई नियमविपरीत अधिकृतस्तरको तलब भत्ता

0
Shares

पोखरा । 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भतिजा खेमराज आचार्यलाई नियमविपरीत तलब भत्ता प्रदान गरिएको छ । मेयरका स्वकीय सचिव रहेका खेमराजले द्वितीय श्रेणीको सेवा सुविधा पाउने भए पनि मेयरले विगत चार महिनादेखि छैठौं अर्थात अधिकृतसरहको सेवा सुविधा दिएको पोखरा महानगरपालिकाका एक कर्मचारीले बताए ।

पोखरा महानगरपालिकाको मिति २०७९ साउन १९ गते चलानी नं. ५८९ को पत्रअनुसार खेमराज आचार्यलाई छैठौं तह प्रदान गरी सेवा सुविधा प्रदान गरिएको छ । तर, गण्डकी प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश राजपत्रमा उल्लेख भएअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुखले राख्न पाउने स्वकीय सचिव द्वितीय वा सोसरहको हुनेछ भनी उल्लेख छ ।

राजपत्रमा उल्लेख गरिएको छ – ‘स्वकीय सचिवसम्बन्धी राजपत्रमा महानगरपालिकाको उपप्रमुख तथा नगर पालिकाको प्रमुखले आन्तरिक स्रोतबाट खर्च व्यहोर्ने गरी राजपत्र अनङ्कित द्वितीय श्रेणी वा सोसरहको स्वकीय सचिव राख्न पाउनेछन् ।’ उता स्थानीय सरकार सञ्चालन ऐनले पनि कर्मचारीको तलबको बारेमा स्थानीय सेवाका कर्मचारीको तलब स्केल प्रदेश सरकारले तोकेबमोजिम हुनेछ र त्यसरी प्रदेश सरकारले नतोकेसम्म नेपाल सरकारले तोकेबमोजिम हुनेछ भनी स्पष्ट उल्लेख गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारतीको हस्ताक्षर भएको पत्रमा भनिएको छ– ‘प्रस्तुत विषयमा तपाईंलाई (खेमराज आचार्य) यसै साथ संलग्न सेवा करार सम्झौतामा रहेका सेवा शर्त लागु हुने गरी २०७९ श्रावण ०१ गते देखि २०७९ पौष मसान्तसम्मका लागि सेवा करार गरिएको छ । तोकिएको कार्य शर्तअनुरूप आफ्नो महाशाखा÷शाखा प्रमुखको निर्देशनमा रही निजले दिएको कार्य विवरणबमोजिम वा तोकिएको काम ईमान्दारीपूर्वक र व्यावसायिक मूल्य मान्यताबमोजिम गर्नुहोला ।’ उक्त पत्रको बोधार्थमा वित्त व्यवस्थापन महाशाखालाई तलब भत्ता उपलब्ध गराउने भनी निर्देशनसमेत दिइएको छ ।