४ हजार शिक्षकको दरबन्दी थपिँदै



काठमाडौं । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ । यो वर्ष देशभरमा रिक्त रहेको पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो ।

केन्द्रले देशैभरका विद्यालयमा रिक्त रहेको शिक्षकको संख्याको आधारमा तयार गरेको रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ । केन्द्रले प्राथमिक तहका लागि ३ हजार १ सय ८६, निम्न माध्यमिकमा ४ सय २३ र माध्यमिक तहमा ३ सय ३२ पद रिक्त रहेको जनाएको छ ।केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले सबै तथ्यांक आयोेगमा पठाइसकेको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले तथ्यांक दिएका छौं, आयोगले विज्ञापन गरेर नयाँ शिक्षकको आवेदन खुला गर्नेछ ।’शिक्षक सेवा आयोगको नियमावली २०५७ को उपनियम ८ को ४ बमोजिम चालु शैक्षिक सत्रको असोज मसान्तसम्म विवरण पठाइसक्नुपर्ने व्यवस्था छ । सोही आधारमा केन्द्रले विवरण पठाएको हो ।

केन्द्रले पठाएको विवरणको आधारमा आयोगको नियमावली– २०५७ को नियम ११ ‘क’ बमोजिम कार्तिक महिनामा खुला तथा समावेशी समूहको प्रतिशत निर्धारण गरी विज्ञापन खुला गर्नुपर्नेछ । गत वर्ष करिब १७ हजार पद संख्यामा आवेदन माग गरिएको थियो । यो वर्ष उक्त संख्या ह्वात्तै घटेको छ ।

गत वर्ष माध्यमिक तहमा सिफारिस नभएका ३ सय ७० जना पनि यसपटकको विज्ञापनमा समेटिने व्यवस्था गरिएको छ ।गत वर्ष आयोगले प्राथमिक तहमा १३ हजार ८५, निम्न माध्यमिक तहमा २ हजार ५ सय ९४ र माध्यमिक तहमा १ हजार ५ सय ५२ पद संख्यामा आवेदन खुलाएको थियो । त्यसमध्ये हालसम्म माध्यमिक तहमा शिक्षक छनोट गरी सिफारिस गरिसकिएको छ ।

आयोगका एक अधिकारीका अनुसार नयाँ शिक्षकको विज्ञापन गर्न अझै दुई महिना लाग्ने अनुमान छ । भर्खर निमाविको परीक्षाफल प्रकाशित भएकोे जानकारी दिँदै शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले भन्नुभयो– ‘प्राविको परीक्षाफल प्रकाशित गरिसकेपछि बल्ल नयाँ शिक्षकको विज्ञापन गर्ने प्रक्रिया थालनी गर्नेछौं ।’ आयोगले प्रदेशगत रूपमा विषयअनुसार परीक्षाफल प्रकाशित गरिरहेको छ ।

गत वर्ष माध्यमिक तहमा करिब ३६ हजार, निम्न माध्यमिक तहमा करिब ६३ हजार र प्राथमिक तहमा करिब ६४ हजारले आवेदन दिएका थिए । मावि तहमा परीक्षा दिएकामध्ये १ हजार १ सय ८२ जना उतीर्ण भएका छन् भने निमाविको परीक्षाफल प्रकाशित गर्ने क्रममा छ । आयोगले छनौट गरी सिफारिस भएका शिक्षकको विषयगत र प्रदेशगत रूपमा एकमुष्ठ योग्यताक्रम सूची र नतिजा विवरणको आधारमा मावि तहको शिक्षक नियुक्ति भइसकेको छ । प्रदेश शिक्षा विकास निर्देशनालयको स्वीकृतिको आधारमा शिक्षक नियुक्ति भएका छन् ।

प्रतिक्रिया दिनुहोस्