मुलुकको नेतृत्व युवाको काँधमा दिन जरुरी : डा.भण्डारी

0
Shares

बुटवल । 

नेपाली काँग्रेसका युवा नेता एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीले देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्यालाई समाधान गर्नका लागि अबको नेतृत्व युवाको काँधमा दिनु पर्नेमा जोड दिनु भयो ।

प्रेस युनियन रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले पुराना तथा पाका नेताहरुले अब विश्राम लिनुपर्ने बेला भएको स्पष्ट पार्नु भयो । मुलुकको नेतृत्व गर्ने अनुहार परिवर्तन गर्नुपर्नेमा जोड दिदै उहाँले विगत ३० वर्षदेखि एउटै अनुहारले मुलुकको नेतृत्व गरेकोले प अब परिवर्तनको खाँचो रहेको औँल्याउनु भयो ।

उमेरले नभई सोच र इच्छाशक्तिले युवाको निर्धारण गर्ने बताउँदै उहाँले आगामी सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि किन गर्ने भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउनु भयो ।

दलका नेताहरु सरकार गठन र प्रधानमन्त्री को भन्ने विषयमा केन्द्रित भएको बेलामा अब बन्ने प्रधानमन्त्रीले के–के गर्न सक्ने भन्ने विषय महत्त्वपूर्ण रहेको भण्डारीको कथन थियो ।

वर्तमान समयमा दलहरुले प्राप्त गरेको निर्वाचनको परिणामलाई लिएर बजारमा विभिन्न अडकल वाजीहरु चले पनि सबैसँग छलफल गरेर निष्कर्षमा जानुपर्नेमा उहाँको सुझाव छ । ‘नेतृत्वले माओवादी नेता प्रचण्ड, समाजवादी नेता माधवकुमार नेपालसँग मात्र होइन अब एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुपर्छ ।’–नेता भण्डारीले भन्नु भयो अब हामी फरक ढङ्गले अघि बढ्नुपर्ने आवश्यक छ  ।