नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्ष भट्टराईको निधन

0
Shares

नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ ।

नेपाल पत्रकार महासङ्घ, सर्लाही शाखाको आज सनिवार हुने साधारण सभामा सहभागी हुन शुक्रबार सर्लाही पुगेका वरिष्ठ पत्रकार भट्टराई सुतेको कोठाभित्रै मृत अवस्थामा भेटिएका हुन्  ।

सर्लाहीको लालबन्दीदेखि आट किमी उत्तरमा रहेको पथ्थरकोट भन्ने स्थानमा होटल होलीमा राति सुतिरहेको अवस्थामा ह्रदयघातका कारण निधन भएको ह‍ो ।

सर्लाहीकै अस्पतालमा पोस्टमार्टमपछि शनिबार नै सप्तरीको राजविराज–७ स्थित उनको घरमा ल्याउने जानकारी नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष श्रवण देवले दिएका छन् ।

एउटै होटलमा बसेका साथीहरू बिहान चिया खान निस्किँदा उनी न निस्किएपछि उनलाई खोजिएको थियो । उनका चालक हेर्न जाँदा भित्रबाट चुकुल लागेको थियो । उनी राति कोठामा एक्लै सुतेका थिए । उनी सुतेको कोठामा रगत बान्ता भएको तथा उनले सेवन गर्दै आएक‍ो औषधिहरू छरिएको थियो ।

बाहिरबाटै खुलेको र हेर्न मिल्ने एउटा भ्यालबाट सबै दृश्य देख्दा कोठा खोलेर हेर्दा वरिष्ठ पत्रकार भट्टराईको निधन भइसकेको स्थानीय पत्रकारले बताएका छन् ।

पाँच  दशकदेखि सप्तरीको पत्रकारितामा उनको सक्रिय योगदान रहँदै आएको थियोे । पछिल्लो तीन वर्षदेखि मधेस प्रदेशमिडिया काउन्सिलको अध्यक्षको जिम्मेवारीमा सम्हाल्दै आएका थिए । वरिष्ठ पत्रकार भट्टराई जीवनकालमा दर्जनौँ पुरस्कारबाट सम्मानित भईसकेका छन् ।

सप्तरीको पत्रकारिता क्षेत्र विकासमा उनको महत्त्वपूर्ण योगदान छ। उनको निधनले सप्तरी जिल्लाको पत्रकारिता क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा पनि ठूलो क्षति भएको सहपाठी राजविराज नगरपालिकाका पूर्वमेयर शैलेश चौधरीले जानकारी दिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।