प्रविधि र व्यवसायीकरणको अभावमा नेपाली खेलकुद



विगतमा भन्दा नेपाली खेल क्षेत्रको दायरा अहिले केही फराकिलो बनेको छ । देशभित्र हुने खेल गतिविधिहरू उल्लेख्य मात्रामा बढेको पनि छ । राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय खेल गतिविधिमा सहभागिता पनि बढ्दो छ । तैपनि नेपाली खेलकुदको सफलतामा गर्व गर्नसक्ने क्षण आम नेपाली खेल समर्थकले कमै मात्र पाएका छन् । आम खेल समर्थकले अपेक्षा गरेअनुरूप नेपाली खेलकुदले सफलताको सिँढी चढ्न सकिरहेको छैन ।

खेलमा असफलताको पछाडि सम्बन्धित खेलका पदाधिकारीहरूको आ–आफ्नै तर्क हुने गरेको छ । जसमध्ये खेलमा प्रयोग हुने अत्याधुनिक प्रविधि पनि पर्छ । विकसित देशले जस्तै विभिन्न अत्याधुनिक प्रविधि नेपाली खेलकुदले अवलम्बन गर्न नसकेको तीतो यथार्थ जग जाहेर नै छ । विश्व खेलकुद अत्याधुनिक प्रविधि पछ्याउँदै अघि लम्किरहेको छ । सबै कम्प्युटराइज्ड र डिजिटल प्रणालीमा चल्ने गर्छ  । जुन गतिमा आधुनिक प्रविधिको विस्तार भएको छ त्यही गतिमा नेपाली खेलकुदमा पनि प्रविधि भित्रिनुपथ्र्याे । तर, नेपाली खेलकुदले त्यो गति भेटाउन सकिरहेको छैन । भित्रिएका कतिपय प्रविधिसँग अभ्यस्त हुन सकिरहेका छैन भने कतिपय अत्याआधुनिक प्रविधिबाट त झन् अनविज्ञ नै छन् । एक प्रकारले नेपाली खेलकुद पुरानै ढाँचामा चलेको छ भन्दा फरक नपर्ला ।

विगतमा खेलाडीले प्रदर्शन गर्न कडा मिहिनेत गरे पुग्थ्यो । थोरै टेक्निकले पनि साथ दिन्थ्यो । सबै काम प्रायः हाते पद्धतिबाटै हुन्थ्यो । निर्णायकले पनि जिताउन चाहेकोलाई जिताइदिन सक्थे । तर, अहिले समय बदलिएको छ । विश्व खेलकुद फोरजी प्रविधिमा अभ्यस्त भइसकेका छन् भने निकट भविष्यमा फाइभ जीमा पनि आधारित हुनेछ  । पछिल्लो समय खेलकुदमा यस्तो प्रविधिको प्रयोग बढ्दो पनि छ । आधुनिक प्रविधिअनुसार चल्न नसक्दा नेपालको खेल खस्किएको छ । पहिले खेलाडीको प्रदर्शन हेरेर अंक दिइन्थ्यो । तर, अहिले खेलाडीको मूूल्याङ्कन विद्युुतीय उपकरणबाट हुन्छ । दशक अघिसम्म पनि परम्परागत शैलीमै खेलिन्थ्यो । तर, अहिले स्वस्थ प्रतिस्पर्धाका लागि विद्युुतीय उपकरणको प्रयोग प्रचलनमा छ । जसले

नेपालजस्तो परम्परागत रूपमा खेल्ने मुलुकलाई असर गरेको छ । नेपालले यस्ताखाले नयाँ प्रविधिलाई अवलम्बन गर्न सकेको छैन ।बृहत् राष्ट्रिय खेलकुदजस्तो ठूलो प्रतियोगितामा समेत अत्याधुनिक प्रविधिको अभाव खट्किने गरेको छ । प्रविधिमात्र होइन, कतिपय खेलको लागि चाहिने सामग्रीसमेत खेलाडीले पाउने गरेका छैनन् । सुटिङका खेलाडीले पिस्तोल नपाउने, आर्चरी खेलाडीले मापदन्डअनुसार स्ट्र बोस नपाउनेलगायत अन्य थुप्रै खेलका खेलाडीले पनि यस्तो नियति भोगेका छन् ।

जसले गर्दा नतिजा प्रभावित हुने र खेलमा विवादको स्थिति समेत सिर्जना हुने गरेको छ । अझ जिल्ला र प्रदेश छनोटमा त परम्परागत तरिकाले नै निरन्तरता पाइरहेको छ । प्रतिस्पर्धामा मात्र होइन, अभ्यासमा समेत खेलाडीले आधुनिक प्रविधि प्रयोग गर्न नपाउँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा असफलता देख्नुपरेको छ । नेपालकै सर्वाधिक लोकप्रिय खेल फुटबलकै कुरा गर्न हो भने भिडियो एसिस्टेन्ट रेफ्री (भार) को व्यवस्था नेपालमा चुनौतीपूर्ण नै छ । त्यस्तै, क्रिकेटको खेलस्थलमा सेन्सर र कतिपय मार्सल आर्ट्सका खेलमा पनि पोसाकमा सेन्सर जडान प्राथमिकतामा पर्न सकेको छैन । त्यस्तै, डिजिटल उपकरणबाट अंक दिने व्यवस्था पनि हुन सकेको छैन ।

खेलाडीलाई प्रविधिसँग अभ्यस्त बनाउनका लागि तल्लो तहबाटै प्रविधिमैत्री वातावरणमा खेलाउनुपर्छ । प्रविधिका कुराहरू बुुझ्न गाउँस्तरबाटै त्यसको प्रयोग गरिनुपर्दछ । त्यसका लागि प्राविधिक कुुरामा पनि जानकार ब्यक्ति तयार पारिनु पर्दछ । नयाँ प्रविधिको प्रयोग असम्भव होइन तर, अहिलेकै अवस्थामा भने नेपालमा बजेट अभाव देखिन्छ । खेल संघले गर्न सक्दैन, राखेप र मन्त्रालयले त्यसमा ध्यान दिन सकेको छैन । त्यस्तो प्रविधिलाई भित्र्याउने सरकारसँग कुनै ठोस योजना पनि छैन । प्रविधि ज्ञानकै अभाव कारण कतिपय ठूला प्रतियोगिताका क्रममा वैदेशिक प्रशिक्षणमा जाने कतिपय खेलाडीले कठिन अवस्थाको सामना गर्नुपरेको छ । तर, नेपाली खेलकुदको सरोकारवाला निकाय भने यसको समाधानतिर जोड दिनुभन्दा पनि मूकदर्शक नै भएर बसेको देखिन्छ ।

समय सापेक्ष प्रविधिको अभाव त छँदै छ, अझ त्योभन्दा ठूलो अभावको रूपमा रहेको छ नेपाली खेलकुदमा व्यवसायीकरण । विश्व खेलकुदको विकासक्रमलाई हेर्ने हो भने खेलकुदमा व्यवसायीकताले ठूलो फड्को मारेको छ । खेलकुद विकासको लागि व्यवसायीकरण मेरुडण्ड पनि हो । विश्व खेलकुदमा तहल्का मच्चाइरहेका अमेरिका, चीन, युरोपेली राष्ट्रहरूमा खेलकुद विकासको पछाडि व्यापारिक संस्थाको ठूलो हात हुने गरेको छ । छिमेकी राष्ट्र भारतकै कुरा गर्ने हा भने पनि फुटबल र क्रिकेटमा मात्र होइन, कबड्डी, कुश्ती, भलिबल, खोखोजस्ता खेलमा समेत फ्रेन्चाइज शुरू भइसकेको छ । तर, नेपाल भने यसबाट कोसाै टाढा नै छ ।

औंलामा नै गन्न सकिने खेलहरू भर्खर अर्ध–व्यवसायीकरणतिर बामे सर्दैछ । नाम लिनु पर्दा फुटबल र क्रिकेट अग्रपंक्तिमा आउँछ । त्यस्तै, राष्ट्रिय खेल भलिबल पनि केही हदसम्म अर्धव्यवसायीकरणतिर उन्मुख देखिन्छ । यीबाहेक अन्य खेल भने छायाँमा नै छ । जबसम्म खेलाडीलाई हातमुख जोड्न र सुनिश्चित भविष्यको चिन्ताबाट मुक्त राख्न सकिँदैन तबसम्म त्यो देशको खेलकुदले उचाई लिन असभ्भव छ । कतिपय प्रतिभावान खेलाडीहरू हातमुख जोड्नकै लागि खेलबाट टाढिएका छन् । जसले गर्दा राज्यले गरेको सीमित लगानी पनि बालुवामा पानी हालेसरह बनिरहेको छ । यो समस्याको

समाधान भनेकै खेलकुदमा व्यवसायीकरण हो ।
वर्तमान परिप्रेक्ष्यमा समग्र दक्षिण एसियाली खेलकुद क्षेत्रलाई हेर्ने हो भने फुटबल र क्रिकेटले अन्य खेललाई छायाँमा पारेको छ । फुटबल र क्रिकेटमा जति दर्शक अन्य खेलमा पाइँदैन । चाहे त्यो महँगो दरमा टिकट काटेर नै किन नहोस्, फुटबल र क्रिकेटमा जस्तो दर्शकको घुइँचो अरू खेलमा विरलै देख्न पाइन्छ । अन्य खेलमा निःशुल्क प्रवेश व्यवस्था भए पनि दर्शक उपस्थिति ज्यादै न्यून हुने गर्छ । यसै कारणले पनि अन्य खेलको तुलनामा फुटबल र क्रिकेटमा लगानी गर्न व्यापारिक संस्थाहरू उदार हुने गर्दछन् । जसले गर्दा नेपालमा अन्य खेलको तुलनामा फुटबल र क्रिकेटको घरेलु लिग पनि फस्टाएको छ ।

घरेलु लिगलाई कुनै पनि खेल विकासको मेरुदण्डको रूपमा लिइन्छ । विभिन्न घरेलु लिग प्रतियोगिताका कारण नेपाली क्रिकेटको लोकप्रियता पनि बढेको पनि छ । क्रिकेट लिगका लागि ठूलो व्यापारिक संस्थाले अक्सन प्रणाली लागु गरेयता त झन् क्रिकेटको लोकप्रियता बढ्नु मात्र होइन खेलाडीलाई खेलेरै आम्दानी गर्ने बाटोसमेत खुलेको छ । नेपालमा प्रायोजकहरू टी–२० क्रिकेट ढाँचाप्रति आकर्षित देखिन्छ । केही समय यता नेपालमा एकपछि अर्को टि–२० क्रिकेट लिगहरू चलिरहेको छ । यो सकारात्मक पक्ष पनि हो । टि–२० प्रतियोगिताले क्रिकेटप्रति आम रुचि बढाउन, निजी क्षेत्रको लगानी आकर्षण गर्न र खेलाडीलाई आर्थिक रूपमा बलियो बनाउन मद्दत पु¥याएको छ । फ्रेन्चाइजमा आधारित प्रतियोगिताले नाम चलेका खेलाडीलाई फाइदा पुगे पनि नयाँ खेलाडी उत्पादनका लागि ग्रासरुट स्तरका कार्यक्रम नै आवश्यक हुन्छन् ।

नेपालमा क्रिकेटभन्दा पनि फुटबल चर्चित छ भन्नेमा कोही दुईमत नहोला । नेपालमा फुटबलको क्रेज अत्यधिक छ । तुलनात्मक रूपमा अन्य खेलमा भन्दा नेपाली फुटबलमा लगानी पनि अधिक नै छ । विशेषगरी शहिद स्मारक ए डिभिजन लिगलाई नेपाली फुटबलको मेरुदण्डको रूपमा लिइन्छ । क्लबले खेलाडीलाई अनुबन्धित गर्नाले पनि नेपाली फुटबलले सप्रिने बाटो खुल्दै आइरहेको छ । योबाहेक पछिल्लोपटक नेपाल सुपर लिगको सुरुवातले पनि खेलाडीलाई राहत महसुस गराएको छ । खेलमा व्यवसायीकरणको यो एउटा सुखद् पक्ष पनि हो ।

तर, नेपाली फुटबलको स्तर बढाउन लिगले मात्र पनि सम्भव छैन । बढीभन्दा बढी अन्तर्राष्ट्रिय म्याच खेल्न आवश्यक छ । कुनै पनि देशमा जतिसुकै बलियो घरेलु लिग किन नहोस्, मुख्यतः सम्बन्धित खेल संघले खेलको स्तरलाई उकास्ने संयन्त्र निर्माण गरेन भने त्यो अर्थहीन हुन्छ । एकातिर स्वदेशी अनगिन्ती घरेलु प्रतियोगिता आयोजना गर्नु र अर्कोतिर राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय म्याचमा लज्जास्पद हार बेहोर्दै जाने हो भने खेलको स्तर बढ्यो भनेर सन्तोष मान्न सकिन्न ।

प्रतिष्ठित एसियालीस्तरको प्रतियोगितालाई आधार मान्ने हो भने तेक्वान्दो, कराँते, बक्सिङ, एथ्लेटिक्स जस्ता ब्यक्तिगत खेलबाट नै नेपालले इज्जत धानेको इतिहासले देखाउँछ । समूह खेलमा भन्दा व्यक्तिगत खेलमा नेपालको प्रदर्शन उच्चस्तरको हुने गरेको छ । त्यसैले प्रायोजकहरूलाई पनि क्रिकेट र फुटबलजस्तो सामूहिक खेलमा मात्र नभई मार्सल आर्ट्स् जस्ता व्यक्तिगत खेलमा पनि लगानीका लागि आकर्षित गर्ने वातावरण तयार पारिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्