राजदुत पौडेलद्वारा मलेसियाका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस, राजा अब्दुल्लाहको सगरमाथा हेर्ने चाहना

0
Shares

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

बिहिबार क्वालालम्पुरस्थित राजदरबारमा आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाह समक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।

कार्यक्रममा राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त हुनुभएकोमा पौडेललाई बधाई दिनुभएको थियो । ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजा सुल्तान अब्दुल्लाहसँग पौडेलले नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी गर्नुभएको थियो ।

सो अवसरमा द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको थियो । राजदूत पौडेलले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएउन आफु लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश व्यक्त गर्नुभयो । राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति भण्डारीको तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा गर्नुभयो ।

राजा सुल्तान अब्दुल्लाहले विश्वको सर्वोच्च शिखर सगरमाथा अवलोकनका लागि नेपालभ्रमण गर्ने आफ्नो इच्छा रहेको बताउनुभयो । सो अवसरमा मलेलिया र नेपालमा हालै भएको आम निर्वाचनबारे समेतकुराकानी भएको थियो ।