परम्परागत पत्रकारिताको अस्तित्वमाथि चुनौती थपिएका छन् । यसमा ‘सोट’ विश्लेषण अर्थात् यसका सबल पक्ष, अवसर, कमजोरी र चुनौतीमाथि वृहत् बहस आवश्यक भएको छ ।
डिजिटल मिडियाको प्रवेशपछि परम्परागत र आधुनिक दुवै पत्रकारिता ठीक त्यसरी नै प्रभावित छन् जसरी महाभारतको कथामा श्रीकृष्णको प्रवेश पछिको सर्वत्र छाएको उनको प्रभाव । डिजिटल माध्यम श्रीकृष्ण बनेर आएको छ । यो कति अवसर र कति चुनौती हो, श्राप हो कि वरदान– वस्तुगत जबाफ फेला पर्दैन । यहाँ विषयगत जबाफ खोज्ने प्रयास गरिएको छ ।
पत्रकारिताको परम्परागत र सैद्धान्तिक आदर्शको व्याख्याले ‘आवाज विहीनहरुको आवाज बन्ने’ कुरा गर्छ । सत्ता र शक्तिको प्रमुख प्रतिपक्ष बनेर राज्यका तीन अंगलाई सही बाटोमा हिंडाउन सघाउने ‘वाचडग’ को काम पत्रकारिताको हो भनिन्छ । सन् १७८७ मा एडमण्ड बर्कले राज्यका तीन अंगपछिको चौथो महत्वपूर्ण अंग मानेको पत्रकारिताले सैद्धान्तिक आदर्श ठीक त्यसैगरी छोडेको छ जसरी नेपाली कम्युनिष्ट पार्टीहरुले सर्वहाराको शासन सत्ता भन्न छोडेका छन् ।
मुलुकमा सर्वहारा सकिएर उनीहरुमा यो स्थानान्तरण भएको होइन, वैचारिक स्खलनले उनीहरुलाई कमजोर बनाएको हो । ठीक त्यही स्खलन नेपाली पत्रकारितामा छ । आफ्नै कमजोरी नेपाली पत्रकारितको चुनौती बनेको छ । डिजिटल चुनौती त सहायक विषय मात्र हो ।
म्यागसेसे पुरस्कार विजेता छिमेकी भारतका युवा पत्रकार रवीश कुमारले २०७९ सालको वैशाखका अन्तिम साता काठमाडौंमा आयोजित खुला सभामा भनेजस्तै, पत्रकारिता ‘वाचडग’ नभएर ‘ल्याप डग’ भएको छ । कहिले प्रधानमन्त्रीको काखमा बस्ने, कहिले प्रतिपक्षको काखमा सुत्ने, कहिले विज्ञापनदाताहरुको काखमा निदाउने त कहिले देशी–विदेशी डोनरहरुको गोजीमा आराम गर्ने ।
रवीश कुमारले आफ्नो मुलुक भारतको पत्रकारितालाई ‘गोदी पत्रकारिता’ नामकरण गरेजस्तै नेपाली पत्रकारितालाई ‘काखे पत्रकारिता’ भन्नु अन्यथा हुनेछैन । रवीशका विचारमा ‘गोदी पत्रकारिता’ पत्रकारिता नै होइन, यो त सरकार र शक्तिकेन्द्रको रक्षाका लागि गरिने हतियारबिनाको युद्ध हो, आम नागरिकमाथिको आक्रमण हो ।रवीशले आफ्नो मुलुकको पत्रकारिताको अभ्याससँग पूर्णतः असन्तुष्टि देखाए पनि जसरी त्यहाँ काखे पत्रकारिता निरन्तर सक्रिय छ, त्यसैगरी नेपालमा पनि शक्ति केन्द्रहरुको काखमा स्थान पाउन मिडिया जगत् लालायित छ ।
नेपालमा राजनीतिक दलका काखमा जिब्रोभरि ¥याल निकालेर बसेका ‘ल्याप डग’ डरलाग्दो मुद्रामा भेटिन्छन् । उनीहरुलाई देख्दा अरु नडराए पनि शक्ति विहीन सर्वसाधारण नागरिक भने डराउँछन् नै । शक्ति हुनेहरुलाई थाहा छ, मिडियालाई भोजन गराएर काखमा राख्न, तर शक्तिहीन वा स्रोत–साधन नभएका व्यक्तिले कसरी भोजन गराउने ! खासगरी टेलिभिजन पत्रकारिता बढी अनुशासनहीन भएको रवीशको विश्लेषण छ ।
टेलिभिजनका पत्रकार प्रत्यक्ष प्रसारणमै कसैलाई लात्तीले हानेर बाहिर निकाल्नुपर्ने भन्छन्, उनीहरूलाई जसले काख प्रदान गरेको छ, उसको रक्षाका लागि जे पनि बोल्छन् भन्ने विश्लेषण उहाँको छ । भातरको एनडीटिभीका वरिष्ठ कार्यकारी सम्पादक रवीशले जोखिमको सामना गर्दै सीमान्तकृत नागरिकका पक्षमा पत्रकारिता गरेबापत तीन वर्षअघि एसियाकै प्रतिष्ठित पुरस्कार म्यागसेसे प्राप्त गर्नुभएको हो ।
दुईपटक भारतको प्रसिद्ध पुरस्कार रामनाथ गोयन्का मेधावी पुरस्कार पाएर चर्चित बनेका रवीश म्यागसेसे पाउने पाँचौं भारतीय पत्रकार हुनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘गोदी पत्रकारिताले तयार पारेको विकृत वातावरणका कारण सरकार र शक्तिसँग माग राख्ने गरिब किसानहरू पनि कडाइका साथ आवाज उठाइरहेका छैनन्, केवल आरती उतारिरहेका छन् ।’ भगवानको आरतीमा हे प्रभु, मेरो पुकार सुनिदेऊ, म दुःखीको कष्ट हर भन्ने शैली अपनाइन्छ, माग पूरा नगरे अझ कडा आन्दोलन गर्छु भन्ने चेतावनी हुन्न ।
रिपोर्टर्स विउदाउट बोर्डर्सले यस वर्ष सार्वजनिक गरेको प्रेस स्वतन्त्रताको सूचीले पनि भारतको पत्रकारिता कमजोर बनेको देखाएको छ । सो सूचीमा सर्वेक्षणमा परेका विश्वका १ सय ८० मुलुकमा नेपाल भने ७६औं नम्बरमा उक्लिएको छ । विगत वर्ष नेपाल १ सय ६ नम्बरमा थियो । अहिले भारतको क्रम १४२ बाट तल झरेर १५० मा पुगेको छ । दक्षिण एसियामा पाकिस्तानको प्रेस स्वतन्त्रताको अवस्था भने निकै कमजोर, १५७औं नम्बरमा छ । नेपालको पत्रकारिता भारतको तुलनामा केही ठीक देखिए पनि सन्तोष मान्ने ठाउँ भने छैन ।
प्रेस जगत्ले स्वतन्त्रता र सुरक्षाको अनुभूति गरेको आधारमा यसको सूचीमा प्रगति देखिएको हो, तर त्यस स्वतन्त्रतालाई मिडियाले कसका लागि प्रयोग गरिरहेको छ भन्ने सबाल महत्वपूर्ण हुनआउँछ । विगत वर्षहरुमा भन्दा पछिल्लो अवधिमा नेपाली पत्रकारिताले शक्तिको काखमा सुत्ने स्वतन्त्रताको ‘उपयोग’ अधिक गरिरहेको छ, आम नागरिकका मुद्दालाई नउठाउने ‘एजेण्डा सेट’ गरिरहेको छ, विज्ञापन नदिने पक्षलाई आलोचना र गालीगलोज गर्ने ‘स्वतन्त्रता’ को स्वाद लिइरहेको छ । स्वतन्त्रताको यस खाले प्रयोगकै कारण नेपाली मिडिया आम पाठकबाट भने दिनप्रतिदिन टाढिइरहेको छ ।
मूलधारको मिडियाका विविध कमजोरीका कारण पत्रकारिताका पाठकहरू सामाजिक मिडियातिर बसाइँसरेका छन् । समाज सेवाका लागि नभई आर्थिक लाभका लागि पत्रकारिताका नाममा शक्ति र स्रोतका पक्षमा आवाज उठाउने गरेको देखेकै कारण यसप्रति एक प्रकारले आम पाठकको मोहभंग भएको छ । आफूलाई लागेको धारणा सामाजिक सञ्जालमा पोख्नपाएकाले पनि पहुँचभन्दा पर बस्न रुचाउने समाचार मिडियाको बेवास्ता हुनथालेको हो । घर–घरमै जुजधौ बन्न थालेपछि बजारको डेरी पसलसम्म को जाने ! फेरि डेरी पसलको दहीमा मिसावट रहेको पनि प्रमाणित भइसकेको छ, इमान्दारीको अभाव बारम्बार देखिएको छ ।
पत्रकारिताले आफ्नो सबल पक्ष कायम राख्न व्यावसायिक इमान्दारी देखाउन सकेको छैन । पाँच हजार प्रति छापेर ५० हजारको ‘माइलेज’ भएको गफ दिने ढँटुवा प्रकाशन गृहलाई कसले कहिलेसम्म पत्याउने !पछिल्लो समय छापा माध्यमका दैनिक र अन्य आवधिक पत्र–पत्रिका तथा प्रसारण माध्यमका रेडियो र टेलिभिजन विभिन्न कारणले चुनौतीमा छन् । आफ्नै कमजोरी वा आन्तरिक समस्या तथा डिजिटल मिडियाको प्रभाव वा बाह्य कारणमध्ये कुन बढी बलवान छ, त्यो अनुसन्धानको विषय हो । तर, सामान्य रुपमा भन्नसकिने सत्य के छ भने, परम्परागत मिडियाको एक बलियो माध्यम अखबार र पत्रपत्रिका जीवनकै कठिन मोडमा गुज्रिरहेको छ ।
‘प्रिन्ट पावर’ का अनुसार डिजिटल मिडियाले थिलथिलो पारेको छापा माध्यमको ढाड कोभिड–१९ ले भाँचि नै दियो । लगातार दुई वर्षभन्दा अधिक समय पत्रपत्रिकाको प्रकाशन, वितरण र पठन अभ्यासमा अवरोध सिर्जना भयो । थिलथिलो मनस्थितिमा चलेका धेरै छापा माध्यमले प्रकाशन गृहमा ताला लगाउने निहुँ पनि पाए । कोभिडलाई देखाएर नेपालमा ठूलो परिमाणमा छापा माध्यम बन्द भए । सुरुमा कोभिड महामारीपछि प्रकाशन सुरु गर्ने भनिए पनि त्यो भनाइ एक औपचारिकता मात्र थियो भन्ने सबैले बुझेका थिए । यद्यपि यसरी बन्द भएकामध्ये सानो संख्यामा पुनप्र्रकाशन थालेका मिडिया गृह नभएका चाहिं होइनन् । तर, यसरी पुन:प्रकाशन गर्दा दुई महत्वपूर्ण पक्षमा स्थायी रुपमै असर परेको प्रष्ट देखियो:
– दुई वर्षअघिको संगठन, संरचना, पत्रकार तथा कर्मचारीले पूर्ववत रुपमा स्थान पाएनन् ।
-पाठकहरु डिजिटल मिडिया वा अनलाइनतिर अभ्यस्त भइसकेका कारण छापा माध्यमको प्रभावमा मन्दी आयो । अखबार बिक्री हुन छोड्यो ।
निष्कर्षमा कोभिड महामारीले लाखौं व्यक्तिलाई पीडित बनाएजस्तै मिडियालाई पनि अशक्त बनायो । विज्ञापनको भरमा बाँच्नुपर्ने छापा माध्यमहरुले विज्ञापन पाएनन् । कोभिडका कारण व्यापार–व्यवसाय नै ठप्प भएका बेला कसले किन विज्ञापन दिने ! यद्यपि नेपालजस्तो अल्प विकसित मुलुकमा विज्ञापनको अभावका कारण छापा माध्यमहरु छटपटाइरहेका बेला बेलायतजस्तो धनी मुलुकमा कोभिड सम्बन्धी जानकारी, स्वास्थ्यका बारेमा सूचना आदि प्रकाशित गर्न लाखौं पाउण्डको कोष निर्माण गरियो ।
घरमै थुनिएर बसेका नागरिकलाई ढोकैमा अखबार पु¥याउने र स्वास्थ्य सूचना दिने व्यवस्था मिलाइयो । घरधनीहरुले अखबार पु-याउन आउने व्यक्तिका हातमा आफ्ना धारणा लिखित रुपमै दिन वा घरमै बसेर इन्टरनेटको माध्यमबाट अखबारसम्म आफ्नो प्रतिक्रिया पु¥याउन थाले ।
यस अभ्यासले छापा माध्यमलाई सघायो ।कोभिडका कारण भएको लकडाउनका बेला घरमै बसेर धेरै बेलायतीहरुले पुस्तक पढेको, पुस्तकको बिक्री बढेको ‘प्रिन्ट पावर’ले जनाएको छ । बन्दाबन्दीका बेला नेदरल्याण्डस्मा सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बढी पुस्तक बिक्री भए भने बेलायतमा ३ प्रतिशत बढी ।झुटा तथा गलत समाचारका कारण डिजिटल मिडिया तुलनात्मक रुपमा बढी आलोचित छ । त्यसैले पनि विश्वसनीय जानकारीका लागि अखबार नै पढ्नुपर्छ भन्ने सोच पनि पाठक वर्गमा देखियो । डिजिटल माध्यममा एक पटक प्रकाशित गरिएको सामग्रीमा बारम्बार परिवर्तन गरिने भएका कारण कुन सही हो बुझ्न गाह«ो पर्ने तर अखबार वा पत्रिकामा आएका सामग्री पूर्णतः प्रमाणीकरणका साथ सार्वजनिक हुने विश्वासका कारणले पनि कतिपय मुलुकमा यसको माग एक सीमासम्म कायम रह्यो ।
डिजिटल मिडियाको जस्तो छापा माध्यम अन्तरक्रियात्मक नहुने भए पनि सामग्री ह्याकिङको सम्भावना नरहेकाले छापा माध्यमले निरन्तरता पायो । व्यक्तिको गोपनीयताको हकलाई पनि छापा माध्यमले तुलनात्मक रुपमा बढी संरक्षण गर्दछ, डिजिटल मिडियामा प्रवेश गर्ने हरेक व्यक्ति त्यस दुनियाँका अन्य व्यक्तिको निजी क्षेत्रमा सहजै पुग्दछ भने छापा माध्यममा त्यस्तो हुँदैन ।परम्परागत मिडियाका केही विशेषताका कारण यसका सबल पक्षले अझै काम गरेको देखिन्छ । तर त्यति विशेषताका कारण सशक्त प्रभावका साथ आएको डिजिटल मिडिया र सोसल मिडियासँग प्रतिस्पद्र्धा गरेर यसले जीवन धान्नसक्छ त ? नयाँ परिवेशमा पुराना सञ्चार माध्यमहरु एकपछि अर्को गर्दै डायनासोर सरह धराशयी भएको आँखै अगाडि देखिएपछि परम्परागत सञ्चार माध्यममा आबद्ध पत्रकार, कर्मचारी र लगानीकर्ताले डिजिटल मिडियाका साथ सहकार्य गर्दै अघिबढ्ने विकल्प चयन गर्नु उपयोगी हुन्छ । यसका लागि डिजिटल मिडिया र सामाजिक सञ्जालको प्रवृत्ति पहिचान आवश्यक छ ।
लेखक जेन चेन सामाजिक सञ्जालको विशेषता बुझियो भने यससँग हातेमालो गरेर कसरी अघिबढ्ने भन्ने बाटो पहिचान गर्नसकिन्छ भन्छिन् । डिजिटल मिडिया वा सामाजिक सञ्जाललाई पहिला नै बुझेको हुँ भनेर आफूलाई अद्यावधिक नगरी बसेको व्यक्तिले सही अर्थमा यसलाई बुझेको हुँदैन । डिजिटल मिडिया निरन्तर परिवर्तन भइरहेको छ । के केही वर्षअघि क्यूआर कोडबाट भुक्तानी सम्भव थियो र ?जेन चेन लेख्छिन्, क्यूआर कोडबाट भुक्तानी, फेसबुक र इन्ट्राग्रामलाई पनि उछिनेर टिकटकले व्यापकता पाएको अवस्था अनुसार आफूलाई अद्यावधिक नगर्ने व्यक्ति पछि पर्छ ।
सोसल मिडियामा सन् २०२२ को प्रारम्भदेखि नै सर्वाधिक डाउनलोड गरिएको ‘याप’ टिकटक भएको उनको विश्लेषण छ । टिकटकमा प्रतिमहिना १ अर्ब व्यक्ति सक्रिय रहेको, ६९ प्रतिशत अमेरिकी किशोर–किशोरी यसको प्रयोगमा रहेको, प्रयोगकर्तामध्ये ९० प्रतिशतले हरेक दिन टिकटक लगइन गर्नेगरेको र प्रतिदिन औशत ६८ मिनेट टिकटक चलाउने गरेको उनले पाएकी छन् ।
यसको अर्थ हो, परम्परागत सञ्चार माध्यमका व्यक्तिले आफूले प्रकाशित–प्रसारित गरेका सामग्री टिकटकबाट पनि बाहिर ल्याउनु लाभप्रद हुनसक्छ ।डिजिटल माध्यमबाट व्यापार–व्यवसाय गर्न नसक्ने संस्था वा व्यक्ति अब पछिपर्ने निश्चित छ । ह्यारिस पोलले गरेको अध्ययनले विश्वमा ७३ प्रतिशत व्यवसाय डिजिटल माध्यमबाट हुनथालिसकेको देखाएको छ ।निष्कर्षमा डिजिटल माध्यमसँग निरपेक्ष रहेर परम्परागत मिडिया चल्ने अवस्था छैन । कुरा पुराना सञ्चार माध्यमको मात्र पनि होइन, आम व्यापार–व्यवसायको हो । कुनै विदेशी मुलुकको शहरमा पुगेको नेपालीले दाल–भात खान मनग¥यो भने उसले गुगल सर्च गर्ने, रेष्टुराको वेबसाइट भेट्ने र खाना छनोट गर्नुपर्ने अवस्थामा हामी छौं ।
व्यापार प्रवद्र्धनदेखि भुक्तानीसम्मका विधिहरु डिजिटल भएका छन् । परम्परागत फोनमा भन्दा मेसेञ्जर, ह्वाट्सयाप, विच्याट, भाइबरजस्ता डिजिटल माध्यमबाट संसारको कुनै कुनामा रहेको व्यक्तिसँगको सम्पर्क सहज र सरल भएको छ । नेपाली परम्परागत मिडियाले नयाँ पुस्ताको चाहना, आवश्यकता र रुचि बुझ्नैपर्छ । उनीहरु जुन माध्यमा छन् त्यसै माध्यममा पुराना सञ्चार माध्यमले आफूलाई ढाल्न सके मात्र उनीहरुको जीवन रक्षा सम्भव छ ।
तर, माध्यम आखिर सवारी साधन मात्र हो गन्तव्यसम्म पु¥याउने, पुग्ने वस्तु ठीक छैन भने, आफैमा रोग, शोक र अयोग्यता छ भने माध्यमले मात्र सफल बनाउन सक्तैन । परम्परागत नेपाली मिडियाका सञ्चालकहरु विज्ञापनदाता र शक्ति केन्द्रको ‘काखे मिडिया’ भैरहने हो भने उनीहरुलाई कुनै पनि माध्यमले बचाउन सक्तैन । शक्तिको काखबाट बाहिर स्वतन्त्र उभिएर आफै शक्तिशाली बन्ने तत्परता नदेखाएसम्म परम्परागत नेपाली मिडियाको भविष्य सुरक्षित देखिन्न । (संहिताबाट)
प्रतिक्रिया