नेता सांसद बन्दै शहर छिरे जनता भारत



जाजरकोट । 

जाजरकोटका ग्रामीण भेगका सर्वसाधारण भारत पलायन हुन थालेका छन् । प्रदेश तथा प्रतिनिधि सभाका सदस्यहरू विजय उत्सव मनाइरहेका बेला जनता काम खोज्दै भारत पलायन हुन थालेका हुन् ।

गाउँमा श्रम र रोजगारी नहुँदा नाना र खानाको जोहो गर्न सर्वसाधारण धमाधम भारत जाने गरेका छन् । उता दैनिक २० देखि ५० जना ज्यालामजदुरी गर्न घर छोडेर भारत जाँदै गर्दा नेताहरू भने विजय उत्सवमै व्यस्त छन् ।सरकारले रोजगारीका अवसर सिर्जना नगर्दा नाना र खाना जुटाउन भातर जानुपरेको बाध्यत पोख्दै भेरी नगरपालिका–१२ का भीमबहादुर रानाले भन्नुभयो– ‘हाम्रो मतले विजयी भएका सांसद शहर पसे हामी ज्यालामजदुरी गर्न भारत पस्नुप-यो ।’ गाउँमा श्रम रोजगारी नहुँदा चिसो मौसममा घर छोडेर परिवारसँग सम्पर्क विच्छेद गरी दुई पैसा कमाएर परिवारको मुहारमा खुसी ल्याउन भारत हिँड्न थालेको उहाँको भनाइ थियो ।

‘मङ्सिरदेखि फागुन महिनासम्म ज्यानको प्रवाह नगरी बालुवा, ढुंगा बोकेर पैसा कमाउँछांै शरीरलाई धरापमा राखी कमाएको पैसा घरमा पु-याउन झन् कठिन हुन्छ । ज्यालामजदुरीका काम पर्याप्त पाइने भए भारतको गरुवाल गएर बालुवा, ढुंगा बोक्न रहर थिएन । परिवार छोडेर भारत जानु हाम्रा लागि रहर होइन बाध्यता हो’ –भेरी नगरपालिका–१२ का बुदे राना बताउनुहुुन्छ । ‘चुनावमा मत माग्दा हामी रोजगारी ज्यालामजुदरी दिन्छाैं भन्दै गाउँ बस्तीमा हिँड्ने गरेका नेताकार्यकर्ता आगामी ५ वर्ष गाउँमा देखिँदैनन्, ज्यालामजुरीका काम पाइँदैन, ६० वर्ष पुग्न लागे पनि भारतले छोडेको छैन’ –रानाले दुखेको गर्नुभयो । घरपरिवारसँग बसेर खान मन हुँदाहुँदै पनि बाध्यताले घर छोडन् परेको उहाँ बताउनुहुन्छ ।

‘भारत नगए छोराछोरीलाई कापी कलम किन्ने पैसा दिन सकिँदैन । कृषि पेसाबाहेक अन्य पेसा छैन, श्रम र ज्यालामजदुरीका काम पाइँदैन, भारत नगई हुँदैन जसले जिते पनि कागलाई बेल पाक्यो हर्ष न विस्मातजस्तै छ हामीजस्ता अनपढले ज्यालामजदुरीका काम पाउँदैनौं बुढेसकाल लागे पनि सुख शान्तिसँग घर बस्न पाउँदैनौं दुई चार महिना परिवारसँग विच्छेद भएर ज्यानको बाजी राखेर श्रम गर्नुपर्छ’ –रानाले भन्नुभयो ।

निर्वाचनका बेला आश्वासन दिने नेताकार्यकर्ताले ज्यालामजदुरीका काम ल्याउन नसक्दा विदेशी भूमिमा पसिना बगाउनुपरेको उहाँ बताउनुहुन्छ । श्रम र रोजगारीकै लागि छोरालाई साथमा लिएर भारतको गरुवालमा ढुङ्गा बालुवा ढुवानी गर्न जानुपरेको भेरी नगरपालिका–१२ का नरबहादुर लुहारले बताउनुभयो । घरआँगनमै आएको सिंहदरबारले श्रम र रोजगारी सिर्जना नगर्दा गाउँ नै खाली हुने गरी अर्काको भूमिमा पसिना बगाउन हिँड्नुपरेको लुहारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्